‘बाघभैरव जात्रा’ स्थगित

‘बाघभैरव जात्रा’ स्थगित

मेट्रो संवाददाता

१ भदौ २०७८ १७:००

काठमाडाैं, १ भदाै । बाघभैरव जात्रा यसवर्ष  कोरोनाका कारण आज स्थगन गरिएको छ । धार्मिक एवम् सांस्कृतिक रुपले महत्वको कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयवासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन् । कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । उच्च भागमा अवस्थित रहेका कारण मन्दिर परिसरबाट काठमाडौँ उपत्यकाको एकसाथ दृश्यावलोन गर्न सकिने भएका कारण यस स्थानको गरिमा र महत्व अझै बढाएको छ ।

पूर्व र पश्चिम लाम्चो डुङ्गाका आकारमा देखिने प्राचीन बस्ती कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरलाई काठमाडौँका विभिन्न स्थानबाट पनि देख्न सकिन्छ ।

सदस्यशाक्यका अनुसार कीर्तिपुरवासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको भदौ १ गते सिंह सङ्क्रान्तिका दिन मनाउने प्रचलन छ । जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली साट्ने प्रचलन छ ।

बाघभैरव जात्राका दिन बाघभैरवको मन्दिर एक सय आठपटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास छ । कोरोना कहरका कारण यस पटक भने बाघभैरव जात्रा स्थगित गरिएको हो ।

बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि तर मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ ।

एक किंवदन्तीअनुसार परापूर्वकालमा दानासुर राक्षसले उपत्यकाका मानिसलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहा पाएछन् । उपत्यकाका मानिसले दुःख पाएको थाहा पाएर यस क्षेत्रमा आएर दानासुरको वध गरी त्यहाँका जनताको रक्षाका लागि बाघभैरवको स्थापना गरेको मत छ ।

त्यस्तै अर्को किंवदन्तीमा उत्तरतर्फको बस्तीका गोठाला यहाँस्थित जङ्गलमा पशु चराउन जाँदा एक दिन उनीहरूले माटाको खेलौनाका रुपमा  बाघ बनाएछन् । त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई त्यसले चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ । गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैँ आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र  मुखमा जिब्रो पनि राखेनछन् । त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ । अहिले पनि यहाँ रहेकोे बाघको मूर्तिमा जिब्रो छैन ।

सदस्य शाक्यका अनुसार यहाँको बाघभैरव मन्दिरको जीर्णोद्धार समयसमयमा गर्ने गरिएको छ । नेपाल संवत् ६३५ मा ललितपुरका राजा जगतपाल बर्माले मन्दिरको जीर्णोद्धार गरेको पाइएको जनाउँदै उहाँले विसं २०२४ मा राजा महेन्द्रले जीर्णोद्धार गर्न लगाएको जानकारी दिनुभयो ।

विसं २०२४ मा जीर्णोद्धार गर्दा मन्दिरको माथिल्लो छानामा तामाले छाइएको थियो । त्यस्तै यस वर्ष नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजन केसीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत रु ७० लाख विनियोजन गरी मन्दिरको दोस्रो छानो पनि झिँगटी हटाएर तामाले छाइएको थियो । 

यहाँका स्थानीयवासीको सक्रियतामा बाघभैरवको मूर्ति विभिन्न समयमा जीर्णोद्धार गरिँदै आएको छ । झण्डै एक दशकअघि यहाँको बाघभैरवको मूर्ति तान्त्रिक विधिद्वारा जीर्णोद्धार गरिएको थियो । बाघभैरव मन्दिरमा यहाँका स्थानीयवासीले निकै श्रद्धाभक्ति पूर्वक पूजाआजा गर्ने गरेको स्थानीय समाजसेवी एवम् बाघभैरव जात्रा गुठी व्यवस्थापन समितिका सदस्य हीरालाल महर्जनले बताउनुभयो । “बाघभैरव मन्दिरमा स्थानीयवासीसहित ७७ वटै जिल्लाका भक्तजनले श्रद्धाका साथ पूजा गर्न पाउँछन्,” उहाँले भन्नुभयो ।

प्रत्येक वर्ष भदौ १ गते लाग्ने बाघभैरव जात्रा धार्मिक एवम् सांस्कृतिक रुपमा विशिष्ट महत्वको मानिने बताउँदै उहाँले कोरोना महामारीका कारण यस वर्ष पनि जात्रा स्थगित गर्न बाध्य हुनु परेको बताउनुभयो । “जात्रा स्थगित गर्नुपर्दा हामीहरूलाई अत्यन्त दुःख लागेको छ, कोरोनाको बढ्दो सङ्क्रमणका कारण बाध्यात्मक रुपमा जात्रा स्थगित गरिएको हो,” उहाँले भन्नुभयो ।

जात्राका अवसरमा विगतका वर्षमा मन्दिरका पुजारीका साथै मन्दिरको पनि राम्रो आम्दानी हुने गरेको बताउँदै उहाँले कोरोनाका कारण अघिल्लो वर्ष पनि जात्रा स्थगित गर्नु परेको जानकारी दिनुभयो ।

कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यका अनुसार प्रत्येक वर्षको भदौ १ गते बाघभैरवको मूर्तिलाई स्नान गराएर विशेष पूजाआजा गर्ने प्रचलन प्राचीनकालदेखि हुँदै आए पनि खटजात्रा गर्ने प्रचलन भने २०१३ सालदेखि सुरुआत गरिएको हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता