रातो मच्छिन्द्रनाथ मन्दिरमा २० फिट गारो लगाउने काम सम्पन्न

रातो मच्छिन्द्रनाथ मन्दिरमा २० फिट गारो लगाउने काम सम्पन्न

मेट्रो संवाददाता

७ साउन २०७८ १८:४६

काठमाडाैं, ७ साउन । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा २० फिट गारो लगाउने काम सम्पन्न भएको छ । मन्दिरमा प्रयोग गरिने काठ तथा इँटा समयमै पाउन नसक्दा र मुलुकमा कोरोना महामारी पनि बढ्दा पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ ।

मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्छ । सो मन्दिरमाथि छ फिटको गजुरसमेत हाल्दा भगवान् राखिने स्थानबाट ७० फिट चार इन्चसम्मको काम गर्नुपर्ने मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताए ।

‘मन्दिर पुनःनिर्माणमा २६ फिट अग्लो काठ ठड्याउने कामसमेत सम्पन्न हुँदा गरिनुपर्ने खतरा खालका कामको हिसाबमा भने लगभग ७० देखि ८० प्रतिशत सक्यौँ, जसमा १६ बाइ १६ का २० ढुङ्गाको खम्बा र १४ बाइ १४ को ३४ फिट चार इन्चका चार निदाल पनि हालियो,’ उनले भने । सो २० फिटमाथि लगाउने गारोमा ११ थरिका इँटा आएपछि मन्दिर पुनःनिर्माणको काम निरन्तर अघि बढाउन पाइने उनको भनाइ छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पमा क्षति भएको सो मन्दिरको बाँकी भाग मानिस यात्रा गर्ने क्रममा ढलेर लाग्ने डरका कारण पछि निर्माण गर्नुपर्छ भन्ने सामान्य सोचविचारबिना भत्काउँदा समस्या हुने बताइन्छ । हाल पुनःनिर्माणमा प्रयोग हुने १३ प्रकारका इँटा अभावले ११ थरिका नयाँ निर्माण गर्न दिइरहेका दुई प्रकारका अझै बनाउन दिनुपर्ने भएको शाक्यले जानकारी गराए ।

सो मन्दिर पुनःनिर्माणमा लागेका समितिले जनसहभागिताअन्तर्गत हाल्नुपर्ने १० प्रतिशत रकम कहाँबाट कसरी जुटाउने भन्ने चिन्ता भइरहेको शाक्यले गुनासो गरे । ६ वर्षअघिको भूकम्पमा मन्दिर पर्दा श्रीलङ्का सरकारले पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण गर्ने भनिएको थियो । मन्दिर पुनःनिर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष असार २० गते क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच तीन करोड २१ लाखमा सम्झौता भई काम अघि बढेको छ ।

लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम २०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता हुँदा सोमा प्रयोग गरिने सामग्री अभावका साथै मुलुकमा फैलिरहेको कोभिड महामारीले अझै कति समय मन्दिर निर्माणमा खर्च हुने हो भन्ने त्यसको कुनै टुङ्गो लागेको छैन ।

मन्दिर पुनःनिर्माणमा १३ देखि १४ सय वर्ष पुराना मेथ, कार्नेेशलगायतका वस्तु प्रयोग भइरहेको समितिले जनाएको छ । पाटनको ठूलो उत्सवका रुपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ ।

लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको स्थानीय मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।

मुलुकमा रातो मच्छिन्द्रनाथले सबै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वरको रथजात्रा गर्ने परम्परा रहिआएको छ । हाल मन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतीको एक पाटीमा राखिएर दैनिक पूजाआजा अनि रेखदेख गरिरहेको पुजारी हेम बज्राचार्यले बताए ।

रातो मच्छिन्द्रनाथलाई लोकथान वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बँगद्यः, आर्याबलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको मच्छिन्द्रनाथ गुठीका मुल पुजारी कमलराज बज्राचार्यले बताए ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता