गुंला पर्व शुरू

गुंला पर्व शुरू

मेट्रो संवाददाता

२५ साउन २०७८ ६:३१

स्वयम्भू महाचैत्य । तस्बिर : मनाेजरत्न शाही

गुंलार्पव नेवार समुदायमा मनाइने एउटा प्राचीन पर्व हो । श्रावण शुक्ल प्रतिपदाबाट शुरु हुने नेपाल संवत्‌काे ‘गुंला’ महिना पर्दछ ।

गुंला महिना वर्षको १० औँ महिना हो । नेपालभाषामा ‘गु’को अर्थ नौ हुने भएकोले प्रायः मानिसहरु गुंला नवौं महिना हो भनेर झुक्किने गर्दछन्।

चन्द्रमास परिवर्तनको आधारमा गणना हुने नेपाल संवत कछला पारु (कार्तिक शुक्ल प्रतिपदा)को दिन नयाँ वर्षको प्रारम्भ हुन्छ । प्रत्येक शुक्लपक्षलाई ‘थ्व’ र कृष्णपक्षलाई ‘गा’ भनिन्छ । त्यस्तै महिनालाई नेपालभाषामा ‘ला’ भनिन्छ । नेपालसंवत्‌मा थ्व अथवा शुक्लपक्षको प्रतिपदाबाट नयाँ महिना सुरु हुन्छ ।

नेपालसंवत्‌काे १० औं महिना मनाइने पर्वलाई नै गुंलापर्व भनिन्छ । गुणले भरिएको महिना भएकोले यसलाई गुणिला पनि भनिन्छ । गुणिलाबाट अपभ्रंस भइ गुंला भएको मान्यता छ ।

विक्रम सम्वतअनुसार हेर्ने हो भने यो पर्व श्रावण शुक्ल प्रतिपदाको दिनबाट सुरु भइ भाद्र शुक्ल प्रतिपदाको दिन समापन हुने गर्दछ। नेपाल सम्वतको १० औं महिना गुँलाको गुँलाथ्व पारु देखि ११ औं महिना यँलाको यँलाथ्व पारु सम्म चल्ने यस पर्वलाई नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्व दिएको पाइन्छ।

यो एकमहिनाभर बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरिु गुंलापर्व मनाइन्छ । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।

पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचारअर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नगर्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् । यस पर्वमा विशेष गरी सधैं पालना गर्नुपर्ने पञ्चशीललाइ आत्मसाथ गरेकाे पाइन्छ ।

पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिन्छ ।

स्वयम्भू पुराणका अनुसार प्राचीनकालमा उपत्यका एउटा ठूलो पोखरीका रूपमा थियाे। त्यसबेला विपस्वी नामका बुद्धले रोपेको कमलको फूल फुलमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भू उत्पत्ति भएको हो । स्वयम्भू ज्योति उत्पत्ति भएको दर्शन गर्न महाचिनबाट महामञ्जुश्री आएका हुन भनिन्छ । त्यसपछि महामञ्जुश्रीले चोरभाको पहाड न्हासिकापमा प्रहार गरेर पोखरीमा जम्मा भइरहेको सबै पानी बाहिर पठाई मञ्जुपतन नामक बस्ती बसाएका हुन् ।

धर्मधातुरूपी स्वयम्भूको ज्योतिलाई छोपेर महायान धर्म गुरु शान्ति कराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेका हुन् । त्यही समयदेखि चैत्यको पूजा गर्ने परम्पराका साथै चैत्य परिक्रमा गर्दै गुँला पर्व मान्ने गरिएको हो भनिन्छ ।

यही समयमा सिद्धार्थ गौतमले बोधिसत्व ज्ञानका साथै बुद्धत्व प्राप्त गरेका हुन् । यसरी विभिन्न विशेषताले भरिएको गुँला पर्वको महत्व र विशेषताले गर्दा पनि नेवारी धर्म, संस्कृति र परम्पराको धरोहर अत्यन्तै उच्च रहेको छ भन्न सकिन्छ ।

यस महिनाभरी नेवार समुदायको मौलिक बाजा धाः बाजा सहित मुहाली, न्यकु (सिङ्गबाट बजाइने एक किसिमको बाजा), धिमे र दाफा बजाउने गर्दछन्। गुंला अवधिभर विशेष गरि स्वयम्भू महाचैत्यमा १ महिना मेला लाग्ने गर्दछ। काठमाडौका विभिन्न टोलबाट विभिन्न बाजागाजा सहित हरेक दिन स्वयम्भू महाचैत्यको दर्शन गर्न आउने प्रचलन रहेको छ।

विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्वीले श्रृंगभेरी अर्थात् सिंगको बाजा फुक्न लगाएर स्वयम्भू महाचैत्य प्रदक्षिणा गराइन्छ । दिवंगत भइसकेकाहरूको आत्माको शान्ति होस्, सुखावती भुवनमा बास होस् भन्ने कामना गर्दै आफ्ना जहान परिवारले सिंग बाजा बजाउन लगाएर स्वयम्भूलाई परिक्रमा गराइन्छ । गुंलापर्वभर बौद्ध स्तोत्र, धारणी, नाम संगीति र सद्धर्म ग्रन्थ पाठ गरिन्छ ।

गुंला पर्वको अवधिमा परम्परागत बाजा बजाउँदै बौद्ध चैत्य परिक्रमा गर्ने चलन शुरु भएको श्रृङ्गभेरी अवदानको किंवदन्तीमा उल्लेख छ ।

श्रृङ्गभेरी अवदानमा शशीपट्टन नगरका राजा सिंहकेतुका प्रजा एकजना ब्याधाको पापमोचनार्थ चैत्य बनाएर परम्परागत बाजा, नेकू बजाउँदै एक्काइस दिन प्रार्थना गरिएका उल्लेख छ ।

सोही समय देखि मानव अस्तु राखेर चैत्य बनाउने र परम्परागत बाजा बजाउने चलन शुरु भएको जनश्रुती नेवार समाजमा छ । मरेको आत्माको चीर शान्तिका लागि गुंला पर्वमा पराम्परागत बाजा बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।

यस गुंला महिनामा गरिने पूजापाठलाई गुंलाधर्म पनि भनिन्छ । बौद्ध धर्माबलम्बी तथा महायानी धर्माबलम्बीहरुले यो एक महिनाभर विहार तथा घरघरमा नव्याकर्ण सूत्र पाठ गर्दछ । नव्याकर्णमा १) प्रज्ञापारमिता, २) गण्डब्यूह, ३) दशभूमिश्वर, ४) समाधिराज, ५) लंकाबतार, ६) सद्धर्मपुण्डरीक, ७) सुवर्णप्रभात, ८) ललितविस्तर, ९) तथागत गुह्य (गुह्यसमाज तन्त्र) गरी नौवटा ग्रन्थ पाठ गरिन्छ ।

भाषा वंशावलीमा विक्रमादेव राजाले नेपालका बौद्ध धर्म अनुयाइहरुलाई साउन शुक्ल प्रतिपदा देखि एक महिना सम्म गुंलाधर्म मनाउन आदेश दिएको उल्लेख छ ।

चैत्य प्रदक्षिणा गरेर, परम्परागत बाजा बजाउँदै नामसंगीति पाठ गरेमा पुण्य सत्धर्म प्राप्त हुने र नरक भोग गरेको आत्माको समेत उद्धार हुने सर्वज्ञमित्रावदानमा उल्लेख छ ।

परम्परागत बाजा बजाउँदै चैत्यसेवा गर्ने प्रसङ्ग वृष जन्मावदानमा समेत उल्लेख छ । एक्काइस दिन सम्म चोखो बालुवा प्रयोग गरेर बनाइएको चैत्यलाई दैनिक पूजा गरेर त्रिरत्न शरण र नामसंगीति पाठ गर्दा फल प्राप्ति हुने भनिएको छ ।

नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको वास्तविक पहिचान हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता