सबैसँग छलफल गरेर सुझाव दिन्छौं : श्रेष्ठ

२०७६ सालमा राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयकको ब्यापक जनविरोध भएपछि सरकारले सो विधेयक फिर्ता लिएको थियो । अहिले गुठी विधेयकलाई पुनः कार्यान्वयनमा ल्याउनका लागि गुठी विधेयक सुझाव समिति गठन गरिएको छ । जसको संयोजकमा मा. जीवनराम श्रेष्ठ चयन गरिनु भएको छ । गुठी विधेयकको वर्तमान अवस्था र समितिले गर्ने कार्यको बारेमा संयोजक मा. श्रेष्ठसँग मेरो साप्ताहिकका सम्पादक रत्नकाजी महर्जनले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले गतवर्ष गुठी विधेयक राष्ट्रिय सभामा हुँदा यसको विरोध किन गुर्नभएको थियो ?

गुठी विधेयक राष्ट्रिय सभामा दर्ता भइसकेपछि गुठीयारहरुबाट यसमा सरोकार राख्ने काम भयो हामीसित बसेर पनि छलफल भयो । छलफलको क्रममा त्यो विधेयकमा जुन खालको व्यवस्था थियो गुठीहरुलाई कसरी व्यवस्थापन गर्ने प्रावधान थियो । त्यस प्रावधानमा गुठी संचालन गर्नमा नै समस्या आउने अवस्थाहरु देखा पर्यो । हालसम्म संचालनमा आएका गुठीहरुमा निजी गुठीमा आफ्नै परम्परा रहिआएको छ जसमा गुठीयाहरुका पनि निश्चित गुठियारहरुले मात्र पुजा गर्न मिल्ने नित्यपुजाको विधिहरु अरुलाई भन्न नमिल्ने खालको हुन्छ त्यसैले यसलाई सरकारले नियन्त्रित गर्नु भन्दा पनि गुठिलाई कसरी व्यवस्थापन गर्ने, संचालन गर्ने संरक्षण गर्ने भन्ने कुरामा विधेयक बन्नु पर्छ भन्ने हाम्रो माग थियो । त्यहि भएर गुठीहरुसित मिलेर हामीले पनि आवाज उठाएका थियौ । सरकारलाई पनि घचघचाउने काम गर्यो सवन्धित मन्त्रिलाई पनि सुझाव दिने काम भयो । सरकारी तहबाट पनि जनताको आवाजलाई सम्मान दिने काम गर्यो । त्यो विधेयक फिर्ता लिने काम भयो । फिर्ता भइसकेपछि अर्को दर्ता भएको हामीलाई जानकारी छैन । गुठीयारहरुको जुन माग छ, उहाँहरुको भावना छ जुन हामीले पनि अभिव्यक्त गरेका छौं । त्यो सबै कुरालाई समेटेर उपत्यका भरिका गुठियारहरुसित र जनप्रतिनिधिहरुसित बसि सल्लाह सुझाव पेश गर्ने भनेर यो समिति चैत्रको ५ गते बनेको हो ।

विश्वव्यापी कोरानाका कारण देशमा लकडाउन भएको कारणले हामीले काम गर्न सकेका छैनौ । तर अहिले समिति बनाउनुको मुख्य उद्देश्य भनेको सरकारले जनता र गुठीयारहरुले उठाएका भावनाहरुलाई समेटेर के गर्न सकिन्छ भन्ने बुझ्न हो । सरकारको पनि भावना के हो भने यो हाम्रो गुठी गहनाहरु मासिनु हुँदैन, यसलाई निरन्तरता दिनुपर्छ भन्ने भावना भएकै कारण जनमानसको आवाजलाई समेत्न यो समिति गठन गरिएको हो ।

गुठी विधेयकमा भिन्ना भिन्नै धारणाहरु आइरहेको छ यस विषयमा तपाई के भन्नु हुन्छ ?

ठाउँ अनुसार गुठीको प्रकृतिहरु फरक फरक छन् । हाम्रो उपत्यकामा संचालन भइरहेको नीजि गुठीगहनाहरु र उपत्यका बाहिर सञ्चालन भइरहेका गुठी गहनाहरुको स्वरुप फरक छ । गुठी विधेयक ल्याउदा देशै भरिका गुठी गहनाको लागि एउटै कसिमा ल्याउने काम भयो । गुठी व्यवस्था केही ठाउँमा हेर्ने हो भने सामान्तीवादी व्यवस्थाको रुपमा रहेको छ भने केही ठाउँमा समाजवादी व्यवस्थाको रुपमा रहेको छ । आफैले सवै जिम्मेवारी संचालन गरीरहेको अवस्था छ । यसै सन्दर्भमा संसदमा पनि कुरा उठेको थियो जसमा सभासदहरुले विधेयक ठिक पनि भन्नु भएको छ । किनकी बाहिरी जिल्लाको हकमा त्यहाँ गुठी सामन्तबादको रुपमा रहेको छ । जग्गा आफ्नो नियन्त्रणमा राख्नको लागि पनि गुठीमा देखाएर मोहीहरुलाई हकबाट बञ्चित गरिरहेको अवस्था छ । तर उपत्यकाको हकमा त्यो पृथक खालको छ ।

गुठीलाई केन्द्रिय रुपमा नगरिकन प्रदेश एकाई वा स्थानिय एकाईबाट गर्न सकिँदैन ?

सरकारले राम्रो भावनाले नै गुठीयारहरुको गुठी सम्बन्धी स्पष्ट धारणा बाहिर आओस्, विधेयकमा व्यवस्था गरी लान सकोस् । यो गुठीले निरन्तरता पाओस र संस्कृतिको संरक्षण होस् भन्ने हिसावले चाहेको हो । अहिले राज्य संघात्मक व्यवस्थामा गइसकेका छौ तीन वटा तहको विकासमा काम गर्न गइरहेको छौं । गुठीलाई हस्तक्षेप भन्दा पनि स्वायत्तता दिने तर्फ नीति हुनुपर्छ । यसलाई मास्न नमिल्ने गरी संरक्षण हुनपर्छ । र यसले निरन्तरता पाउने स्थिति हुनुपर्छ । यो कुरालाई हामीले स्पष्टरुपमा व्यवस्था गर्नुपर्छ । गुठीको प्रकृति हेरेर कतिपयलाई संघीय सरकारले हेर्ने, कतिलाई प्रदेशले हेर्ने कतिलाई स्थानिय सरकारले हेर्ने के कस्तो कुरा चाल्नु पर्छ भनी हामीले छलफल गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । पहिला सवै केन्द्रिकृत शासन भएकोले सबै कुरा केन्द्रबाट मात्र हुन्थ्यो, हुने गर्दथ्यो । अहिले संविधानले नै तीन तहको व्यवस्था गरेको अवस्थामा अब चाहिँ कुनै संघले कुनै प्रदेशले कुनै स्थानिय तहले गर्ने भएपछि गुठीलाई संवृद्ध गर्ने, निरन्तर गर्ने र संरक्षण गर्ने कार्यमा हामी सफल हुन्छौ ।

‘पहिला सवै केन्द्रिकृत शासन भएकोले सबै कुरा केन्द्रबाट मात्र हुन्थ्यो, हुने गर्दथ्यो । अहिले संविधानले नै तीन तहको व्यवस्था गरेको अवस्थामा अब चाहिँ कुनै संघले कुनै प्रदेशले कुनै स्थानिय तहले गर्ने भएपछि गुठीलाई संवृद्ध गर्ने, निरन्तर गर्ने र संरक्षण गर्ने कार्यमा हामी सफल हुन्छौ ।’

अहिलेको समयमा तपाईहरु गुठीयारहरुसित कसरी छलफल गर्नुहुन्छ ?

यस समितिले हामीलाई जिम्मेवारी दिएको भनेको गुठीयारहरुसित छलफल गर्ने, जनप्रतिनिधिहरुसित छलफल गर्ने र सरोकारवाला समूहसित छलफल गर्ने हो । हामीलाई जिम्मेवारी दिएको समय लगत्तै लकडाउन भएका कारण सरकारकै निर्देशन अनुसार लकडाउन पालना गरेर बस्यौं । अहिले आंशिक रुपमा लकडाउन खुलेको छ । लुजडाउनतर्फ हामी गइरहेका छौं । तर अलिहेको अवस्था हेर्ने हो भने हिजो लकडाउनमा भएको समयमा भन्दा अहिले जोखिम बढी छ । यो जोखिमबाट बचेर काम गर्नु पर्ने आवश्यकता छ । गुठीयारहरुसँग बस्दा साना गुठीहरुसँग बस्दा दूरी कायम गरेर बस्न सकिने भयो । तर ठूलो संख्यामा भएका गुठीहरुसँग यसरी बैठक गर्न सकिने अवस्था छैन । तर पनि यो लूजडाउनको अवस्थामा केही काम सुरु गर्न लागिरहेका छौं । गुठी विधेयकविरुद्ध जुन संघर्ष समिति बनाएको छ, त्यस समितिसँग पनि छलफल गर्ने छौं । त्यसपछि हामीले एउटा कार्यविधि बनाएर सरकार र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड भित्र बसेर कसरी छलफल गर्न सकिन्छ भनेर तयारी गरिरहेका छौं । प्रतिकूल समयका कारण छलफल गर्न सकेनौं, गुठीयारहरुले हामीलाई भेट्न सकेन भने आवश्यक सुझाव नआउन सक्छ ।

हामी छिटो छिटो हतारमा काम सकाउने तर्फ लागेका छैनौं । किनकि सबैको भावना आओस् । सबैसँग छलफल गर्छौं । गुठीयारहरु, जनप्रतिनिधिहरु र सरोकारवाला सबैलाई एकिकृत गरेर उहाँहरुको सुझाव सुनेर समितिलाई बुझाउने काम गर्छौं ।

म के स्पष्ट गर्न चाहन्छु भने, हामीले काम अगाडि बढाई सकेपछि पनि यो प्रतिकुलमा पनि हामीले छलफल नगरेको हो कि भन्ने शंका गर्नु पदैन । हामी विभिन्न माध्यमबाट छलफलको आधार बनाउछौ । छलफल गरेर नै सुझाव पेश गर्छौै ।

अन्तमा तपाईको केहि सन्देश सुझाव भए राखिदिनु हुन अनुरोध गर्दछु ?

गुठी विधेयक तयार पार्ने महत्वपूर्ण कुरा हो । गुठीहरुको कुरा गर्ने हो भने पनि गुठीयारहरुको कारणले पनि नष्ट भएर गइरहेको छ । गुठीयारहरु मिलेर जग्गा जमिन बेचेर बाँडिचुँडि खाएर पनि गुठी मासेको अवस्था छ । अहिले हाम्रो अभियान भनेको हाम्रा गुठी परम्परा संरक्षण हुनुपर्छ । यसलाई निरन्तर रुपमा अगाडि बढाउनु पर्छ । हाम्रो चिनारी र सभ्यतासित जोडिएको विषय हो । के के विषयहरु विधेयकमा व्यवस्था गर्न सक्छौं, गुठीयारहरुले मात्र नभई यस विषयमा चासो राख्नुहुने सम्पूर्ण महानुभावहरुले आफूलाई लागेको सुझाव दिनु हुन अनुरोध गर्दछु ।

-मेराे साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *