इन्द्रचोकको मायावी कथा

इन्द्रचोकको मायावी कथा

मेट्रो संवाददाता

२९ भदौ २०७८ १७:४४

नेपाली प्राचीन इतिहासका अनेक किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । काठमाडौंको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान थियो ।

त्यसो त यस सहरलाई ‘कान्तिपुर’ अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’ बाट आएको हो । र, ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक ।

इन्द्रचोकमा धेरैले देखेकै मन्दिर हो– श्री आकाश भैरव, जसलाई स्थानीय नेवाः समुदाय ‘आजुद्यः’ भन्छन् । त्यही आकाश भैरवको भव्य मन्दिरसामुन्ने बीच सडकमा एउटा सानो खाल्डो छ । सामान्यतया कसैको ध्यान नजाने खाल्डोलाई हाल सानो रेलिङको बारले घेरिएको छ । खाल्डोभित्रको एउटा ढुंगा नै कान्तीश्वर महादेव हो । हेर्दा केवल ढुंगा हो, तर ढुंगा यति शक्तिशाली छ कि त्यसैको नाम सापटी लिई यस ऐतिहासिक महानगरको नामाकरण गरिएको छ । र, विडम्बना यो सहरको नाम जुन स्रोतबाट निःसृत छ, आज त्यो सडकबीचको एक ढुंगामै सीमित छ ।

वंशावलीमा लेखिएको छ– विसं ७८१ मा राजा गुणकामदेवले कान्तिपुर नगर बसाएका हुन् । त्यसो त यो तथ्यमा समयकाल र राजाको नाम नमिलेको भन्ने पनि इतिहासकारहरूको कथन छ । तैपनि धेरैको सहमति छ– कान्तिपुर नगर बनाउँदा सहरको सुरक्षार्थ आठ दिशामा आठवटै मातृका (अष्टमातृका) खडा गरी तिनै मातृकाले बोक्ने खड्ग आकारमा यो नगर निर्माण गरिएको थियो । आठ कोणवाला त्यो खड्गाकार सहरबीचमा रहेको भूभागचाहिँ इन्द्रचोक रहेछ । त्यसैले इन्द्रचोकलाई मध्यकालीन कान्तिपुर सहरको ‘सेन्टर’ मान्न सकिन्छ ।

इन्द्रचोकलाई ‘इन्द्रचोक’ नामबाटै चिनिन्छ । तर, यहाँ इन्द्रदेवको अस्तित्व छैन । यहाँ न इन्द्रको मूर्ति छ, न छ मन्दिर । तैपनि यो चोकलाई ‘इन्द्रचोक’ भनिनु अनौठो विषय हो । इन्द्रजात्राका बेला बर्सेनि काठमाडौंका विभिन्न चार स्थानमा काठका लामा खम्बाहरू उठाएर आसन बनाई इन्द्रको मूर्ति प्रदर्शन गर्ने चलन छ । ती चार स्थानमध्ये एक इन्द्रचोक हो । तर, इन्द्र–मूर्ति प्रदर्शनकै आधारमा यसलाई इन्द्रचोक भनियो भन्नु तर्कसंगत छैन । किनभने इन्द्रको मूर्ति प्रदर्शन गरिने अन्य स्थानलाई इन्द्रचोक भनिँदैन । बरु एउटा कथा छ, भन्छु है त– इन्द्रचोकमा कुनै बेला एउटा पोखरी थियो– कालमोचन पोखरी । जसले गुँला पर्वमा (भदौ–असोज महिनातिर) उक्त पोखरीमा स्नान गरी सँगैको जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को दर्शन गर्छ, उसले मृत्युपछि यमलोक जानुपर्दैन, सीधै सुखावती भुवनमा बास पाउँछ भने विश्वास गरिन्थ्यो । किंवदन्ती भन्छ– एक दिन उक्त कालमोचन पोखरीमा स्वयम् देवराज इन्द्र आई स्नान गरे र यस स्थानको नामै ‘इन्द्रचोक’ राखियो । तर, यो किंवदन्तीको तर्कमाथि पनि सन्देह गर्न सकिन्छ । किनभने कान्तिपुरका लागि ‘इन्द्रचोक’ पूरै नयाँ र आयातित शब्द हो । यसले यहाँको स्थान–नामसम्बन्धी दर्शनलाई बोकेको देखिँदैन ।

बरु वंशावलीहरूमा इन्द्रचोकबारे एउटा महत्त्वपूर्ण कुरा लेखिएको छ । कुनै बेला काठमाडौंमा बहने वाग्मती र विष्णुमती खोला एकापसमा जोडिने दोभान नै इन्द्रचोक हो । वाग्मती र विष्णुमती काठमाडौंको सभ्यता विकाससँग जोडिएका दुई महत्त्वपूर्ण नदीहरू हुन् । यी दुई नदी इन्द्रचोकमा आएर जोडिने र त्यसपछि एउटै नदी भएर बग्ने कुरा विभिन्न वंशावलीमा लेखिएको छ । त्यसैले यसलाई ‘ह्वंगः’ भनिन्थ्यो । स्थानीय नेपालभाषामा ‘ह्वंगः’ को अर्थ दोभान हुन्छ । विश्वास गरिन्छ– ‘ह्वंगः’ शब्द अपभ्रंस हुँदै ‘वंगः’ बन्न गएको हो । इन्द्रचोकको स्थानीय नेवाः नाम अहिले पनि ‘वंगः’ नै हो । कालान्तरमा त्यो दोभान सर्दै गएर अहिलेको टेकुसम्म पुगेको मानिन्छ ।

घडालाई नेपालभाषामा ‘घः’ भनिन्छ । घडाहरूमा सधैंभरि लेउ लागिरहन्छ । लेउ लाग्नुलाई नेपालभाषामा ‘वथं गयेगु’ भनिन्छ । त्यसरी सधैं ‘वथं गयेगु’ भइरहने ‘घः’ भएकै कारण त्यसलाई ‘वंघः’ भनिएको र ‘वंघः’ नै कालान्तरमा ‘वंगः’ बन्न गएको कथन पनि छ ।

तर, वंशावलीले यसो भने पनि पुरातत्त्वले त्यो तथ्य मानेको छैन । किनभने इन्द्रचोकमा नदी हुनुको कुनै पनि अवशेष अहिलेसम्म भेटिएको छैन । बरु अहिले चुरा–पोते बेच्ने इन्द्रचोककै ‘राखी बजार’ मा ढुंगाका घडाहरू राखिएका छन् । घडालाई नेपालभाषामा ‘घः’ भनिन्छ । घडाहरूमा सधैंभरि लेउ लागिरहन्छ । लेउ लाग्नुलाई नेपालभाषामा ‘वथं गयेगु’ भनिन्छ । त्यसरी सधैं ‘वथं गयेगु’ भइरहने ‘घः’ भएकै कारण त्यसलाई ‘वंघः’ भनिएको र ‘वंघः’ नै कालान्तरमा ‘वंगः’ बन्न गएको कथन पनि छ । ढुंगाले बनाइएका घडाहरूकै आधारमा काठमाडौंका धेरै टोलको नाम रहन गएको छ । जस्तो : न्हूघः (जैशीदेवल क्षेत्र), नःघः (बांगेमुढा क्षेत्र), सीघः (त्यहीं सँगै), त्यंघः (नरदेवी क्षेत्र) आदि । वंघः तिनैमध्ये एउटा हो ।

इन्द्रचोकको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण सम्पदा त्यहाँ अवस्थित आकाश भैरव (आजुद्यः) को मन्दिर हो । मन्दिरभित्र आकाश भैरवको शिर मात्रै भएको मूर्ति छ । यो शिरलाई पहिलो किराती राजा यलम्बरको शिर पनि भनिन्छ । नेपालको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने किरातवंश हो । उनीहरूले करिब आठ सय वर्ष राज गरे । पहिलो किराती राजा यलम्बरको नामबाटै ‘येँ’ शब्द उत्पत्ति भएको कथन छ । काठमाडौंको सबैभन्दा पुरानो नाम ‘येँ’ हो । उपत्यकावासीहरू अहिले पनि काठमाडौंलाई ‘येँ देय्’ भन्ने गर्छन् । यसरी काठमाडौंको नामकरणमै इन्द्रचोकको महत्त्वपूर्ण भूमिका छ ।

माथि भनिएझैं इन्द्रचोकमा इन्द्रको अस्तित्व देखिँदैन, तर भौगोलिक रूपले यो काठमाडौंको पुरानोमध्येकै एउटा महत्त्वपूर्ण चोक हो । विभिन्न ठाउँ आउ–जाउ गर्ने ६ वटा बाटो एकै ठाउँमा आएर मिसिएको छ– इन्द्रचोकमा । इन्द्रचोकले मखन टोल, असन टोल, वटु टोल, किलागल टोल, न्युरोड र च्वखाछेँ गल्लीसमेत गरी ६ वटा बाटालाई जोडेको छ । तीमध्ये मखनटोलबाट असन जाने सीधा बाटो लिच्छविकालीन ‘ट्रेड रुट’ हो । यो बाटाले प्राचीनकालीन काठमाडौंको माथिल्लो क्षेत्र यम्बु (कोलिग्राम) र तल्लो क्षेत्र याग्ल (दक्षिण कोलिग्राम) लाई जोडेको छ ।

इन्द्रचोकबाट न्युरोड जाने फराकिलो बाटोचाहिँ विसं १९९० को भूकम्पपछि मात्रै खोलिएको हो । भूकम्पपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले नयाँसडक बनाउँदा न्युरोड–इन्द्रचोक जोड्ने नयाँ बाटो खोलेका हुन् । नब्बे सालअघि त्यहाँ बाटो थिएन, स्थानीय जनताको घर–बारी थियो । हनुमानढोका दरबारको एउटा भाग पनि त्यहींसम्मै फैलिएको थियो । नयाँ बाटो खोल्न जुद्धशमशेरले आकाश भैरव मन्दिरसामुन्नेको एउटा सांस्कृतिक दबू (डबली) पनि हटाएका थिए । त्यस डबलीमा हरेक इन्द्रजात्रा पर्वमा कुमारीको रथयात्रा गर्दा देवीनाच (दीप्याखं) देखाउने चलन थियो । अहिले डबली रहेको त्यहि ठाउँमा भुइँमै दीप्याखं देखाउने गरिन्छ । यो बाटो बनाउन हनुमानढोका दरबार क्षेत्रको एउटा ठूलो भूभागलाई पनि प्रयोग गरिएको थियो । अहिले यो बाटोको नाम शुक्रपथ हो ।

न्युरोड निर्माणका बेला इन्द्रचोकको कान्तीश्वर महादेव पनि झन्डै पुर्न लागिएको थियो । स्थानीयवासीको पहलमा महादेव पुरिएनन्, तर पिचको सतह बढ्दा महादेव बास बसेको खाल्डो भने भुइँबाट निकै तल पुग्यो ।

राजा गुणकामदेवलाई देवी लक्ष्मीले सपनामा आएर इन्द्रचोकलाई बीचमा पारी नयाँ देश बनाउन आदेश दिएको प्रसंग वंशावलीमा छ । वंशावली भन्छ– आफू सदैव बास बस्ने भएकाले इन्द्रचोकमा दैनिक धेरै धन–पैसाको कारोबार हुन्छ भनेकी थिइन् रे लक्ष्मीले गुणकामदेवलाई । तर, इन्द्रचोक असनजस्तो विशुद्ध बजार होइन । यहाँ असनमाझैं नुनदेखि सुनसम्म किन्न पाइने बजार संरचना पनि छैन ।

इन्द्रचोकबाट पश्चिमतिर बढ्दा केल टोल पुगिन्छ । ‘केल टोल’ लाई ‘कोलिग्राम’ को अपभ्रंस शब्द मानिन्छ । भारतबाट आएका कोलीयहरू बसोबास गरेको ठाउँ भएकाले उक्त स्थानलाई कोलिग्राम भनिएको थियो । कोलिग्राम नै अहिलेको ‘केल टोल’ हो । अतः यो लिच्छविकालीन क्षेत्र हो ।

केल टोलकै नजिक किलागल टोल छ । किलागल टोलमा अझै नेवाः समुदायका ‘सापू’ र ‘म्येय्पू’ जातिका मानिसको बसोबास छ । सापू गाई पाल्ने र म्येय्पू भैंसी पाल्ने समुदाय हो । नेपालमा किरात वंशभन्दा अघि गाईपालक ‘गोपालवंशी’ र भैंसीपालक ‘महिषपालवंशी’ को शासन थियो । नेपालको प्राचीन इतिहासमा महिषपाल–वंश हटाएर किरात–वंश सुरु भएको र किरात–वंश हटाएर लिच्छवि–वंशको शासन सुरु भएको वर्णन छ ।

नेपाली प्राचीन इतिहासको प्रारम्भकालीन गोपाल, महिषपाल, किरात र लिच्छविकालको सजीव किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । यो चोकमाथि कुनै पुरातात्त्विक खोज त गरिएको छैन । तर, काठमाडौं सहरको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता