भेडेटार पूर्वको नगरकोट

उहिले भेडी गोठाला यहाँ आएर दिनभरि जसो भेडा चराउने, खेल्ने, रमाउने र एकैठाउँमा भेडा जम्मा गरी खर्क बनाउने गर्थे अरे । त्यही भएर यस ठाउँको नाम भेडेटार रहन गयो । तर, हाल भने भेडाविहीन छ भेडेटार । पुराना भेडापालक कृषक आजकाल अन्य पेसा व्यवसायमा लागेका छन् ।

आरके अदीप्त गिरी

धरानबाट हिँडेको एक घन्टामा हामी भेेंडेटार पुग्याँै । नागबेली बाटो हुँदै उकालो लागेका हामीले धरानबाट भेडेटार पुग्दा १६ किमि दुरी नापिसकेका रहेछौँ । उकालो चढिरहँदा धरान बजारको दृश्यले हामीलाई पछ्याइरह्यो । पहाडी उचाइबाट हेर्दा धरान बजार कुनै फ्रेमबद्घ रंगीन क्यानभासजस्तो देखिन्थ्यो । केही वर्षअघि आफूले देखेको धरान र हालको धरान विकासको महकमा यसरी पोतिएको होला भन्ने मैले कल्पनै गरेको थिइन । धरानका यी विविध प्रसंग र तर्कनासँग तरंगिँदै यात्रामा धपेडिएको मनलाई मैले भेडेटारमा समाहित गरे ।

धनकुटा र सुनसरी जिल्लाको सिमामा केही उँचो भागमा अवस्थित भेडेटार हिजोआज पर्यटकीय स्थलका रूपमा परिचित छ । पहिलोपटक नगरकोट घुमेर त्यहाँ पुगेकाहरू यसलाई पूर्वको नगरकोट पनि भन्छन् । मलाई पनि त्यस्तै लाग्यो । समुन्द्र सतहबाट १,४२० मिटरको उचाइमा अवस्थित छ यो । हामी त्यहाँ पुग्दा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिमा चलायमान थियो । वरिपरि मनै लोभ्याउने हरियो पहाडी सौन्दर्यले घेरिएको छ भेडेटार । यसको विशेषता भनेको वर्षा होस् या हिउँद, दुवै याममा कुहिरोको घुम्टो ओढ्नु हो । चिसो सिरेटोको स्पर्शले त्यहाँ पुग्ने हरकोहीलाई सम्मोहित गर्छ । घरिघरि मात्र लाग्ने घामको किरणमा भेडेटार अद्भूत देखिन्छ ।

धरान बजार, राजारानी, डाँडाबजार, नाम्जे होमस्टे, साँगुरी भञ्ज्याङ एवम् सुलीकोट आदिले भेडेटारलाई वरिपरिबाट आर्कषक पहरा दिइरहेका छन् । धरानबाट यसको भू–आकृति नियाल्दा भेडेटार महाभारत पर्वत शृंखलाको एक टाकुरामा थपक्क बसेजस्तो लाग्छ । भूइँ कुहिरोले ढाकेको बेला होस् या मौसम खुलेका बेला, यहाँ पुग्ने हरेकलाई यसको मनोहर सौन्दर्यले लठ्याइहाल्छ । यसपाला मसँगै पुगेका धराने कवि हेमन यात्री भेडेटारको सौन्दर्यका अनेकन किस्सा सुनाउँदै थिए । भन्दै थिए, ‘यहाँको पहाडी जीवन, प्राकृतिक सौन्दर्य बेग्लै र विशेष लाग्छ । यो ठाउँ पूर्वकै प्रमुख पर्यटकीय हब हो । यहाँबाट साँझको धरान बजारको रंगीन रूप हेर्नुको आनन्द बेग्लै हुन्छ । बेलाबेला रिफ्रेस हुन पनि यहाँ आइरहन्छु ।’

भेडेटार सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि पनि प्रख्यात छ । छिनछिनमा लुकामारी खेल्ने यहाँको मौसमकै विशेषताका कारण प्रायः यात्रीहरू घुमफिर र थकाइ बिसाउन आउँदा रहेछन् । उखरमाउलो गर्मी छल्न पूर्वी पहाडका झापा, सुनसरी, मोरङदेखि सप्तरी र उदयपुरलगायत जिल्लाबाट पर्यटक आउँछन् । भारतका विभिन्न स्थानबाट समेत यहाँ पुग्नेको संख्या उल्लेख्य रहेछ । यहाँबाट मकालु, मनास्लु, बरुण, ल्होत्से, कुम्भकर्ण लगायतका हिमालको प्रत्यक्ष अवलोकनसमेत गर्न सकिन्छ । यसैगरी सेती र सर्दु खोलालाई दायाँ–बायाँ पारेर फैलिएको धरान बजारको मोहिनी रूप यहाँबाट हेर्दा विशेष आनन्दको लाग्छ । यस्तै, धरान आसपासका उर्वर उपत्यकाले पनि मनलाई बारम्बार जिस्क्याइरहन्छन् । यहाँको ‘चाल्र्स टावर’ भेडेटार वरपरका पहाडी दृश्य नियाल्न उपयुक्त मानिन्छ । भेडेटारको नाम रहनुको पनि आफ्नै रोचक कथा रहेछ । उहिले भेडी गोठालाहरू यहाँ आएर दिनभरि जसो भेडा चराउने, खेल्ने, रमाउने र एकैठाउँमा भेडा जम्मा गरी खर्क बनाउने गर्थे रे ! त्यही भएर यस ठाउँको नाम भेडेटार रहन गएको स्थानीय गोविन्द कार्कीले बताए । तर हाल भने भेडाविहीन छ भेडेटार । पुराना भेडापालक कृषकहरू आजकाल अन्य पेसा व्यवसायमा लागेका छन् ।

धरान–धनकुटा मोटरबाटो सुरु भएपछि यहाँ टाढाटाढादेखि फरकफरक भूगोल र वर्णका मान्छेहरू आउन थालेको स्थानीयहरू बताउँछन् । धनकुटा जिल्लाबाट तराई झर्ने मुख्य नाका पनि भेडेटार नै हो । यो अहिले क्षेत्रीय बजार नै बनिसकेको छ । हाल यहाँ पर्यटकहरूका लागि ५० भन्दा बढी सुविधा सम्पन्न होटलहरू संचालनमा छन् । मदिरा पारखीहरूका लागि तोङ्वा र सुकुटीको फरक स्वाद लिने थलो पनि बनेको छ भेडेटार ।

पर्यटन फस्टाउँदै गएकाले अहिले यस आसपासका बासिन्दालाई पनि व्यावसायिक फाइदा पुगेको छ । होटलमा मासुको माग बढ्न थालेपछि स्थानीयहरूले खसी–बोका, कुखुरा, सुँगुर, बंगुरहरू व्यावसायिक रूपमा पाल्न थालेका छन् । कृषिकर्म गर्नेहरूलाई आफ्ना उत्पादन (तरकारी होस् या दुग्धजन्य तथा मासुजन्य) यहाँ खपत हुन थालेपछि फाइदैफाइदा पुगेको छ । स्थानीयहरू काम गर्न थप उत्साहित छन् । युवाहरू गाउँबाट विदेश पलायन हुने क्रम घटेको छ । उनीहरू यतै कृषिकर्म, होटेल तथा रेस्टुराँ व्यवसायमा लागेका छन् । यस वरपर उत्पादनका लागि उर्वर भूमि भएकाले पनि मौसमी फलफूल तथा तरकारीका लागि पनि भेडेटार पकेट एरिया बनेको छ ।

कोसी राजमार्गको बीचमा पर्ने भएकाले पनि होला भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभातिर जाने यात्रीहरू हिजोआज आफ्नो यात्रालाई केही समयका लागि भएपनि यहीँ बिसाउन थालेका छन् । बिदाको समयमा होस् या विद्यालयको शैक्षिक भ्रमणको तालिका बनाउँदा, पूर्वी पहाडका प्रायःजसो विद्यालयको भ्रमणको प्रमुख रोजाई भेडेटार नै हुने गरेको छ । त्यस्तै, यस स्थल अहिले प्रख्यात पिकनिक स्पटका रूपमा पनि विकास भएको छ । यस वरपरका दर्जनभन्दा बढी पिकनिक स्पटहरू व्यावसायिक रूपमा बुकिङ हुन थालेका छन् ।

‘कुनै बिदा या शनिबारका दिन यहाँ उपस्थित हुने पर्यटकको चहलपहल देख्दा लाग्छ – यहाँ कुनै भव्य मेला आयोजना त भएको होइन ?’ भेडेटार पुगिरहने इटहरीका पत्रकार विराट अनुपमले अनुभव सुनाए । ‘त्यसबेला यहाँ खाना खाने र बस्ने ठाउँ पाउनै मुस्किल हुन्छ । म पनि प्राकृतिक सुन्दरताको आनन्द लुट्न यहाँ आइरहन्छु,’ उनी भन्दै थिए, ‘यस वरपरका हरिया पहाडसँग जिस्कनु, भ्यू टावर चढ्नु, चाल्र्स प्वाइन्टमा चियाकफी पिउनु यहाँको सदाबहार आनन्द हो ।’

यहाँको पहाडी भूगोल, शीतल मौसम, खुला पाखा भएकैले होला वि.सं २०४० सालमा यहाँ बेलायती राजकुमार चाल्र्स पनि पुगेका थिए । भेडेटारमा पहिलोचोटि विदेशी विशिष्ट पाहुना पुगेकैले यस थुम्कोलाई ‘चाल्र्स प्वाइन्ट’ नामकरण गरिएको रहेछ । हाल त्यही स्थानमा भ्यू टावर निर्माण गरिएको छ, जहाँबाट ठूलो आयातनमा वरिपरिको भू–आकृति आँखामा समेट्न सकिन्छ ।

पछिल्लो समय भेडेटारसँगै यस वरपरका नाम्जे, ध्वजेडाँडा, आत्माघर, डाँडाबजार, राजारानी, वसन्तपुर, तिनजुरे–मिल्के, गुफापोखरी आदि ठाउँ पनि वरदान सावित भएका छन् । यही बाटो हँुदै तेह्रथुमको प्रसिद्ध वसन्तपुर क्षेत्र पुगिन्छ । नजिकको नाम्जे गाउँ होमस्टेका रूपमा प्रख्यात छ । विश्वको ठूलो समाचार संस्था सिएनएनको विश्वका दश ग्रामीण पर्यटनको सूचिमा पर्नुले पनि नाम्जेमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । सफा, सुन्दर र चिटिक्क आफ्नो गाउँमा हिजोआज पर्यटकलाई स्वागत गर्न पाउँदा स्थानीय दंग छन् । यो पनि भेडेटारनजिक हुनुको उपलब्धि हो ।

तोङ्वा, लोकल कुखुराको मासुजस्ता स्थानीयस्तरमा उत्पादित खाद्य वस्तुहरू खान पाइनु नाम्जे होमस्टेमा पुग्ने पर्यटकलाई स्थानीय परम्परागत ‘हुर्र्रा नाच’ले स्वागत गर्छन् । नाम्जेनजिकै रहेको ‘आत्मा घर’ पनि भेडेटार पुग्दा छुटाउनै नहुने स्थान हो । जहाँ आफ्ना पितृको सम्झना ताजा बनाइराख्न स्थानीयले प्रतीकात्मक रूपमा आत्मघर निर्माण गरेका छन् । डाँडाबजार र ध्वजेडाँडाको सौन्दर्य पनि विशेष सम्मोहनकारी लाग्छ ।

प्रकृतिसँग रमाउन चाहनेका लागि अर्को पुग्नैपर्ने ठाउँ हो– तेह्रथुमको वसन्तपुर डाँडा । वरिपरिबाट आँखैमा टाँसिन आउने कञ्चन हिमाली दृश्य, हरित पहाडी वनसम्पदा र मुस्कुराइरहने गुराँसे जंगलघारीले यात्रालाई उस्तै ताजगी बनाइदिन्छन् वसन्तपुर पुग्दा । त्यस्तै धरान आसपासका दर्जन बढी मठमन्दिर र शक्तिपीठ– बुढासुब्बा, वराह क्षेत्र, विष्णु पादुका, पीण्डेश्वर महादेव, दन्तकाली धार्मिक रूपमा आस्था राख्नेका लागि विशेष गन्तव्य बन्न सक्छन् ।

वरपरका लाहुरे बस्ती र लाहुरेको वास्तविक जनजीवन नजिकबाट नियाल्न पाउनु पनि भेडेटार यात्राको अर्को फाइदा हो । चिटिक्क परेका लाहुरे बस्ती यात्रामा प्रत्यक्ष साक्षात्कार हुन्छन् । भेडेटारबाट तल झर्दा विविध जाति, भाषा र संस्कृतिको मेटाफोरमा बाँचिरहेको धरान बजार एउटा साझा फूलबारीजस्तै लाग्छ । न जाडो न गर्मी, सदाबहार वातावरणीय सन्तुलनमा धरान बजार हिँड्दा डुल्दा मनै फुरुंग हुन्छ । बजार आसपासका बाटो, चोक र गल्लीले हरकोहीलाई मोहित बनाउँछन् । त्यस्तै कला, साहित्य, शिक्षा, स्वास्थ्य एवम् ऐतिहासिक दृष्टिले पनि धरान प्रख्यात छ । धार्मिक महŒवका दर्जनौँ चर्च, मस्जिद, गुम्बा, विहार आदि यहाँका सम्पत्तिजस्ता लाग्छन् । कला, संस्कृति र परम्परालाई जोगाउन र जातीय एकता कायम राख्न धरानवासीको महŒवपूर्ण देन रहेको त्यहाँ हिँड्दा–डुल्दा प्रष्टै थाहा हुन्छ । घुम्न चाहनेका लागि धरानको विजयपुर डाँडा उस्तै प्रख्यात छ । यहाँका ब्रिटिस गोर्खा पार्क, घन्टाघर, भानुचोक, भूकम्प स्मृति पार्क, श्रीजङ्गा सालिक आदि भेडेटार यात्रामा छुटाउनै नहुने ठाउँ हुन् ।

भेडेटार घुम्नलाई कुनै खास सिजन पर्खनुपर्दैन, जुनै सिजन पनि उपयुक्त छ । हरेक महिना एकनासको पर्यटकीय चहलपहल हुन्छ भेडेटारमा । हिजोआज यसलाई ‘लभर स्टेसन’का रूपमा पनि चिन्न थालिएको रहेछ । कारण, भेडेटार पुग्नेमध्ये अधिकांश युगल पे्रमी जोडी नै देखिने स्थानीय बताउँछन् । पछिल्ला दिनमा यो फिल्मदेखि म्युजिक भिडियोसम्म छायांकनका लागि पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।

भेडेटार पुग्न धरानबाट १६ किमी यात्रा गरे पुग्छ । कालोपत्रे सडक छ, आफ्ना निजी तथा भाडाका सवारी साधन प्रयोग गर्न सकिन्छ । काठमाडौंबाट विराटनगरसम्म हवाई या स्थलमार्गबाट पुगी विराटनगर–धरान हँुदै भेडेटार पुग्न करिब ५६ किमी यात्रा तय गर्नुपर्छ । भेडेटारबाट फर्कंदा त्यहाँको चिनोस्वरूप कोसेली ल्याउन चाहनेका लागि स्थानीय खाद्यवस्तुदेखि लोकल पेयपदार्थ, मौसमी फलफूल, ढाकाको कपडा, भँगारुको लट्ठी, डोको, नाम्लो, कुचोलगायत हस्तकलाका सामग्री प्रसिद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *