डहरेलाई दर्शन

डहरेलाई दर्शन

मेट्रो संवाददाता

१४ माघ २०७६ १४:३१

डहरे देउराली क्षेत्र भोट र तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो । पूर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि । घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि महत्त्वपूर्ण नाका थियो ।

शब्द/तबिर : आरके अदीप्त गिरी

समुद्री सतहबाट २,२०० मिटर उचाइमा बसेको डहरे देउरालीमा चैत–वैशाखतिर पुग्दा लालीगुँरास फुलेर डाँडै रातो हुन्छ । मानौं प्रकृतिले सारा रूख, बुट्यानमा रातो रंग पोतेको छ । अझ बिहान उदाएको सूर्य रूखका हाँगामा पर्दा टल्किएको शीत देख्दा यस वन कुनै लोककथामा वर्णित ‘मोहिनी वन’ जस्तो प्रतीत हुन्छ । एनिड ब्लाइटनको बाल–उपन्यास ‘इन्द्रजाली रूख’ पढ्दा दिमागमा आएको कल्पनाको झिल्का यो लालीगुराँस–वनमा पुग्दा यथार्थ बन्छ । मानौं म ब्लाइटनले कल्पना गरेको वनमा साना नानीहरूसँग रमाएर खेलिरहेछु ।

वरिपरिको घनाजंगलले त्यहाँ पुग्ने हरेकलाई विशेष किसिमको सम्मोहनमा लठ्याउँछ । लामो यात्रापछि लालीगुराँसको रूखबाट खसेका गुराँसका रंगीबिरंगी थुंगाले घेरिएर रूखकै फेदमा सुस्ताउनु, गुराँसका पत्रैपत्र कुल्चँदै हिँड्नु वास्तवमै अलौकिक आनन्दमा रम्नुजस्तै हो । यस्तो आनन्द पर्वत जिल्लाको डहरे देउरालीमा पुग्ने यात्रुले संगाल्ने आनन्द हो ।

गुराँसको यस लेकबाट उत्तरतिर फर्केर हेर्दा अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, निलगिरिजस्ता सुन्दर हिमालय पर्वत आँखैअगाडि उभिइरहेका देखिन्छन् । सिताराझैँ टल्किरहेका हिमशिखरका यी दृश्य हेर्दा लाग्छ जीवनको सर्वाधिक रोमाञ्चकारी क्षण यही हो । त्यस्तै पूर्वबाट हेर्दा पोखरा, स्याङ्जातिरका

गाउँका घरहरू तल–तल देखिन्छन् । पश्चिम फर्केर हेर्दा उस्तै बागलुङ र गुल्मी जिल्लाका सुन्दर हरिया पहाडी शृंखला अनेक आयाम देख्न सकिन्छ । जिल्लाकै उचाइमा रहेको डहरेबाट यी वरिपरिका गाउँ तलतिर हेर्दा आफू संसारकै सबैभन्दा उचाइमा भएजस्तै लाग्छ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनीहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘निलकण्ठ पर्वत’को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा गाविस तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाविसको सीमावर्ती क्षेत्रमा पर्छ ।

भानुभक्तको वाल्मीकि रामायणमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगले व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ ।

यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक छ, योगी नरहरिनाथ सुनाउँछन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’ यस्ता किंवदन्ती अनेक तरहले बनेका हुन्छन् । यसको सत्यता कति छ, त्यो कुनै खोजको पाटो हुनसक्ला । जे होस्, डहरे देउरालीलाई धार्मिक पुस्तकले अति महत्त्वका साथ लेखेका छन् । यस पर्वतमा करिीब २,००० मिटर लामो डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुनसक्ने पनि मानिसहरूको अड्कल छ । यही पहाडमा आवाल ब्रह्मचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । उनले यही पर्वतमा देहत्याग गरे र उनको समाधि डहरे पर्वतमा खडा गरियो । पछि उनको समाधिमा शिवजीको मन्दिर बनाई त्यसको नाम डाडमुखेश्वर राखिएको हो ।

डहरे देउरालीको सबैभन्दा माथि मोठ र तलतिर परिसरमा मन्दिर, गुफा, गौशाला, आश्रम, होम, कुण्ड, वाचनालय बनाइएका छन् । मठ र आश्रमबीच दुईवटा मोष (छिद्र) छन्, जसमध्ये मठको जरामा भएकोे एउटा मोष २,००० मिटर लामो छिद्रद्वारा वालासिद्धसम्म पुगेको छ । अर्को मोषचाहिँ १,८०० मिटर टाढा स्याङ्जा जिल्लाको तालपोखरी गाविसमा रहेको तालपोखरी बराह मन्दिरमा निस्किएको छ । ती मोषहरूबाट कुनै चिज वा पैसा खसाल्यो भने मोषको अन्तिमसम्म आइपुग्छ । आश्रमदेखि ३०० मिटर तल कालिकास्थानको मठमा पशुपन्क्षीको बलि चढाउने प्रचलन छ । तर, उक्त स्थान गुफा वा आश्रमदेखि तल पर्ने भएकाले चर्चा बाहिर छ । मठनजिकै सिद्धबराहको मन्दिर छ । त्यस क्षेत्रमा एउटा अग्निकुण्ड र शिवालय छ । अहिले उक्त आश्रममा ९६ वर्षीय पशुपत्यानन्द सरस्वती तप ध्यान गरी बस्छन् ।

पौराणिक मान्यताअुनसार निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर वर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । यहाँ भाकल गर्नैका लागि निकै टाढाबाट समेत दर्शनार्थी आउँछन् । यस स्थानमा मानिसहरू विवाह, ब्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतः बाला चतुर्दशी, चैते दशैँ, महाशिवरात्री, गुरूपूर्णिमा, बडादशैंजस्ता विशेष पर्वमा यहाँ धुमधामको पूजाअर्चना गरिन्छ । थुप्रैको संख्यामा पण्डित बोलाइ शिव पुराण, देवी भागवत्, रामायण, उपनिषद् पाठका साथै बढी वेदान्तमाथि सघन छलफल पनि गरिन्छ । अन्य दिनमा चाहिँ दैनिक रूपमा रुद्री, गीता पाठ, हवन, चण्डी पाठ जस्ता नियमित कर्म गरिन्छ । माथि उल्लेख गरिएका चाडपर्वमध्ये बालाचतुर्दशीमा यहाँ विशेषतः ठूलो मेला लाग्ने गर्छ । देउराली माईको दर्शन गर्न, भाकल बिसाउन साथै सतबिज छर्न यहाँ भक्तजनको ठूलो संख्यामा भिड लाग्ने गर्दछ ।

अहिलेसम्म डहरे देउराली क्षेत्र संरक्षणका लागि जिल्लाका कार्कीनेटा, थापाठाना, भंगारा र स्याङ्जाको पञ्चमूल गाविसले केही पहल गरिरहेका छन् । ती गाविसको पहलमा ०४३ साल मंसिरमा यहाँ धनधान्याञ्चल लक्ष्यहवन पर्व सञ्चालन गरी पत्थरज्वाला, जलज्वाला, सूर्यज्वाला, मथनअग्नि, सुरक्षाअग्नि नामका पञ्चअग्नि माथन गरिएको छ । ती अग्निज्वाला हालसम्म पनि अखण्डरूपमा प्रज्वलित छन् । । त्यस हवनबाट आएको आम्दानीबाट उक्त आश्रमका लागि तीन विघा जमिन खरदि गरी खेती पनि गरिएको मन्दिरका पुजारी पशुपत्यानन्द सरस्वती बताउँछन् । यस स्थल संरक्षणका लागि विधिवत रूपमा समिति नै गठन गरिए पनि त्यसबाट कुनै फलदायी काम नभएको उनी बताउँछन् ।

डहरे पुग्न जंगल छिचोल्दै हिँड्नुपर्छ । करीब ६० किमी लम्बाइ र १५ किमी चौडाइ क्षेत्रफल रहेको लेकलाई पतझर प्रकारको घनाजंगलले घेरेको छ । सदियौं पुरानाजस्ता लाग्ने लहरा र झ्याउले जेलिएका रुख बुट्यानका आकृतियुक्त वनक्षेत्र देख्दा कुनै विशेष जिलायु सौन्दर्यको आभाष मिल्छ । मानिसको पातलो आउजाउ र उपस्थिति रहने जंगलको गोरेटो बाटो प्रायः रुख बुट्यान र झाडीले छोपेको देखिन्छ । सुरुमा बाटो छिचोल्न नसक्दा मानिस जंगलमा हराउने सम्भावना पनि हुन्छ ।

डहरेको चुचुरोमा रहेको मठलाई ०४३ सालमा सिद्धि शान्ति क्षेत्र घोषणा गरी बलि निषेध गरिएको थियो । तर, लुकिछिपी बलि चढाउने काम निरन्तर हुने गरेकै छ । यहाँ भाकल गर्ने भक्तजनले प्रायःजसो परेवा उडाउने गर्छन् । देउराली देवीको थान करिब ६० मि. लम्बाइ र २० मि. चौडाइमा ठूलो चट्टाने ढुंगामाथि विराजमान छ । यहाँ प्रायः साधुसन्त ध्यान, योग बसिरहेका भेटिन्छन् । लेकको चुचुराबाट वरिपरिको प्रकृति नियाल्दा मन चकित बन्छ । कल्पना गरेको परिवेशभन्दा नितान्त फरक महसुस गर्न सकिन्छ डहरे चुली टेक्दा । मन एकाएक आकासको फेरो मार्न पुग्छ प्रकृतिको बुई चढी । खुला आकाशमुनि निर्मित देवीको मन्दिरमा छानो भने छैन । यहाँ छानो हाल्न नहुने जनविश्वास परार्पूवकालदेखि नै चलिआएको आश्रमका पशुपति ब्रह्मचारी बताउँछन् ।

यो वनक्षेत्र जैविक विविधतायुक्त छ । यहाँ रक्तचन्दन, खस्रु, कटुस, काफल, मौवा, चिलाउने र अन्य जातका वनस्पति पनि प्रशस्तै पाइन्छन् । यस वनमा सतुवा, जेठीमधु, कान्छीमधु, पखानीवेद, जटामसी, खजुरीवेद, बोझोजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छन् । त्यस्तै जंगलक्षेत्र दुर्लभ वन्यजन्तुको सुरक्षित वासस्थान पनि मानिन्छ । यहाँ बाघ, भालु, चितुवा, कस्तुरी, मृग, खरायो आदि जस्ता जनावर पाइन्छन् । तर, यहाँ शिकार खेल्न निषेध गरिएको छ । हिउँद याममा यस क्षेत्र हिउँले सेताम्मे देखिन्छ तर यहाँ पिउने पानीचाहिँ अभाव छ । विभिन्न चाडपर्व, पूजाआजाका लागि दैनिक करिब दुई किमी टाढा तलदेखि पानी बोकेर यहाँसम्म ल्याउनुपर्ने दुःख यहाँ आइपुग्ने भक्तजनलाई छ ।

डहरे देउरालीका विविध पक्षबारे यहाँ चर्चा गरियो । यस क्षेत्र भोट र तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो । पूर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि । घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि यस ठाउँ महत्त्वपूर्ण नाका थियो । त्यो बेला घोडा, खच्चडलाई भारी बोकाएर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसम्म ढुवानी गर्ने गरिन्थ्यो । हाल सडक पहुँचले गर्दा पुरानो त्यो समस्या भने टरेको छ । अहिले यो स्थान पर्यटकीय गन्तव्य बन्दै छ । नजिकै पन्चासे, सिरुबारी र गोल्र्याङ लेक छन् । यी स्थलमा पनि पछिल्ला वर्ष पर्यटकको बाक्लो चहलपहल देखिन थालेको छ । त्यहाँ पुग्न यही बाटोको प्रयोग गर्नुपर्छ । यो ठाउँ अहिले एउटा खुला विश्वविद्यालयझैं लाग्दछ । धार्मिक आस्थाका कारण यहाँ पुग्ने त छँदै छ, घुम्ने टोलीदेखि प्रकृति र पर्यावरणको सिंगोस्वरूप अध्ययन गर्नकै लागि देशका विभिन्न ठाउँबाट स्कुल, कलेजका विद्यार्थीसमेत यहाँ ओइरिन्छन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता