डहरेलाई दर्शन

डहरे देउराली क्षेत्र भोट र तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो । पूर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि । घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि महत्त्वपूर्ण नाका थियो ।

शब्द/तबिर : आरके अदीप्त गिरी

समुद्री सतहबाट २,२०० मिटर उचाइमा बसेको डहरे देउरालीमा चैत–वैशाखतिर पुग्दा लालीगुँरास फुलेर डाँडै रातो हुन्छ । मानौं प्रकृतिले सारा रूख, बुट्यानमा रातो रंग पोतेको छ । अझ बिहान उदाएको सूर्य रूखका हाँगामा पर्दा टल्किएको शीत देख्दा यस वन कुनै लोककथामा वर्णित ‘मोहिनी वन’ जस्तो प्रतीत हुन्छ । एनिड ब्लाइटनको बाल–उपन्यास ‘इन्द्रजाली रूख’ पढ्दा दिमागमा आएको कल्पनाको झिल्का यो लालीगुराँस–वनमा पुग्दा यथार्थ बन्छ । मानौं म ब्लाइटनले कल्पना गरेको वनमा साना नानीहरूसँग रमाएर खेलिरहेछु ।

वरिपरिको घनाजंगलले त्यहाँ पुग्ने हरेकलाई विशेष किसिमको सम्मोहनमा लठ्याउँछ । लामो यात्रापछि लालीगुराँसको रूखबाट खसेका गुराँसका रंगीबिरंगी थुंगाले घेरिएर रूखकै फेदमा सुस्ताउनु, गुराँसका पत्रैपत्र कुल्चँदै हिँड्नु वास्तवमै अलौकिक आनन्दमा रम्नुजस्तै हो । यस्तो आनन्द पर्वत जिल्लाको डहरे देउरालीमा पुग्ने यात्रुले संगाल्ने आनन्द हो ।

गुराँसको यस लेकबाट उत्तरतिर फर्केर हेर्दा अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, निलगिरिजस्ता सुन्दर हिमालय पर्वत आँखैअगाडि उभिइरहेका देखिन्छन् । सिताराझैँ टल्किरहेका हिमशिखरका यी दृश्य हेर्दा लाग्छ जीवनको सर्वाधिक रोमाञ्चकारी क्षण यही हो । त्यस्तै पूर्वबाट हेर्दा पोखरा, स्याङ्जातिरका

गाउँका घरहरू तल–तल देखिन्छन् । पश्चिम फर्केर हेर्दा उस्तै बागलुङ र गुल्मी जिल्लाका सुन्दर हरिया पहाडी शृंखला अनेक आयाम देख्न सकिन्छ । जिल्लाकै उचाइमा रहेको डहरेबाट यी वरिपरिका गाउँ तलतिर हेर्दा आफू संसारकै सबैभन्दा उचाइमा भएजस्तै लाग्छ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनीहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘निलकण्ठ पर्वत’को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा गाविस तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाविसको सीमावर्ती क्षेत्रमा पर्छ ।

भानुभक्तको वाल्मीकि रामायणमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगले व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ ।

यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक छ, योगी नरहरिनाथ सुनाउँछन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’ यस्ता किंवदन्ती अनेक तरहले बनेका हुन्छन् । यसको सत्यता कति छ, त्यो कुनै खोजको पाटो हुनसक्ला । जे होस्, डहरे देउरालीलाई धार्मिक पुस्तकले अति महत्त्वका साथ लेखेका छन् । यस पर्वतमा करिीब २,००० मिटर लामो डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुनसक्ने पनि मानिसहरूको अड्कल छ । यही पहाडमा आवाल ब्रह्मचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । उनले यही पर्वतमा देहत्याग गरे र उनको समाधि डहरे पर्वतमा खडा गरियो । पछि उनको समाधिमा शिवजीको मन्दिर बनाई त्यसको नाम डाडमुखेश्वर राखिएको हो ।

डहरे देउरालीको सबैभन्दा माथि मोठ र तलतिर परिसरमा मन्दिर, गुफा, गौशाला, आश्रम, होम, कुण्ड, वाचनालय बनाइएका छन् । मठ र आश्रमबीच दुईवटा मोष (छिद्र) छन्, जसमध्ये मठको जरामा भएकोे एउटा मोष २,००० मिटर लामो छिद्रद्वारा वालासिद्धसम्म पुगेको छ । अर्को मोषचाहिँ १,८०० मिटर टाढा स्याङ्जा जिल्लाको तालपोखरी गाविसमा रहेको तालपोखरी बराह मन्दिरमा निस्किएको छ । ती मोषहरूबाट कुनै चिज वा पैसा खसाल्यो भने मोषको अन्तिमसम्म आइपुग्छ । आश्रमदेखि ३०० मिटर तल कालिकास्थानको मठमा पशुपन्क्षीको बलि चढाउने प्रचलन छ । तर, उक्त स्थान गुफा वा आश्रमदेखि तल पर्ने भएकाले चर्चा बाहिर छ । मठनजिकै सिद्धबराहको मन्दिर छ । त्यस क्षेत्रमा एउटा अग्निकुण्ड र शिवालय छ । अहिले उक्त आश्रममा ९६ वर्षीय पशुपत्यानन्द सरस्वती तप ध्यान गरी बस्छन् ।

पौराणिक मान्यताअुनसार निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर वर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । यहाँ भाकल गर्नैका लागि निकै टाढाबाट समेत दर्शनार्थी आउँछन् । यस स्थानमा मानिसहरू विवाह, ब्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतः बाला चतुर्दशी, चैते दशैँ, महाशिवरात्री, गुरूपूर्णिमा, बडादशैंजस्ता विशेष पर्वमा यहाँ धुमधामको पूजाअर्चना गरिन्छ । थुप्रैको संख्यामा पण्डित बोलाइ शिव पुराण, देवी भागवत्, रामायण, उपनिषद् पाठका साथै बढी वेदान्तमाथि सघन छलफल पनि गरिन्छ । अन्य दिनमा चाहिँ दैनिक रूपमा रुद्री, गीता पाठ, हवन, चण्डी पाठ जस्ता नियमित कर्म गरिन्छ । माथि उल्लेख गरिएका चाडपर्वमध्ये बालाचतुर्दशीमा यहाँ विशेषतः ठूलो मेला लाग्ने गर्छ । देउराली माईको दर्शन गर्न, भाकल बिसाउन साथै सतबिज छर्न यहाँ भक्तजनको ठूलो संख्यामा भिड लाग्ने गर्दछ ।

अहिलेसम्म डहरे देउराली क्षेत्र संरक्षणका लागि जिल्लाका कार्कीनेटा, थापाठाना, भंगारा र स्याङ्जाको पञ्चमूल गाविसले केही पहल गरिरहेका छन् । ती गाविसको पहलमा ०४३ साल मंसिरमा यहाँ धनधान्याञ्चल लक्ष्यहवन पर्व सञ्चालन गरी पत्थरज्वाला, जलज्वाला, सूर्यज्वाला, मथनअग्नि, सुरक्षाअग्नि नामका पञ्चअग्नि माथन गरिएको छ । ती अग्निज्वाला हालसम्म पनि अखण्डरूपमा प्रज्वलित छन् । । त्यस हवनबाट आएको आम्दानीबाट उक्त आश्रमका लागि तीन विघा जमिन खरदि गरी खेती पनि गरिएको मन्दिरका पुजारी पशुपत्यानन्द सरस्वती बताउँछन् । यस स्थल संरक्षणका लागि विधिवत रूपमा समिति नै गठन गरिए पनि त्यसबाट कुनै फलदायी काम नभएको उनी बताउँछन् ।

डहरे पुग्न जंगल छिचोल्दै हिँड्नुपर्छ । करीब ६० किमी लम्बाइ र १५ किमी चौडाइ क्षेत्रफल रहेको लेकलाई पतझर प्रकारको घनाजंगलले घेरेको छ । सदियौं पुरानाजस्ता लाग्ने लहरा र झ्याउले जेलिएका रुख बुट्यानका आकृतियुक्त वनक्षेत्र देख्दा कुनै विशेष जिलायु सौन्दर्यको आभाष मिल्छ । मानिसको पातलो आउजाउ र उपस्थिति रहने जंगलको गोरेटो बाटो प्रायः रुख बुट्यान र झाडीले छोपेको देखिन्छ । सुरुमा बाटो छिचोल्न नसक्दा मानिस जंगलमा हराउने सम्भावना पनि हुन्छ ।

डहरेको चुचुरोमा रहेको मठलाई ०४३ सालमा सिद्धि शान्ति क्षेत्र घोषणा गरी बलि निषेध गरिएको थियो । तर, लुकिछिपी बलि चढाउने काम निरन्तर हुने गरेकै छ । यहाँ भाकल गर्ने भक्तजनले प्रायःजसो परेवा उडाउने गर्छन् । देउराली देवीको थान करिब ६० मि. लम्बाइ र २० मि. चौडाइमा ठूलो चट्टाने ढुंगामाथि विराजमान छ । यहाँ प्रायः साधुसन्त ध्यान, योग बसिरहेका भेटिन्छन् । लेकको चुचुराबाट वरिपरिको प्रकृति नियाल्दा मन चकित बन्छ । कल्पना गरेको परिवेशभन्दा नितान्त फरक महसुस गर्न सकिन्छ डहरे चुली टेक्दा । मन एकाएक आकासको फेरो मार्न पुग्छ प्रकृतिको बुई चढी । खुला आकाशमुनि निर्मित देवीको मन्दिरमा छानो भने छैन । यहाँ छानो हाल्न नहुने जनविश्वास परार्पूवकालदेखि नै चलिआएको आश्रमका पशुपति ब्रह्मचारी बताउँछन् ।

यो वनक्षेत्र जैविक विविधतायुक्त छ । यहाँ रक्तचन्दन, खस्रु, कटुस, काफल, मौवा, चिलाउने र अन्य जातका वनस्पति पनि प्रशस्तै पाइन्छन् । यस वनमा सतुवा, जेठीमधु, कान्छीमधु, पखानीवेद, जटामसी, खजुरीवेद, बोझोजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छन् । त्यस्तै जंगलक्षेत्र दुर्लभ वन्यजन्तुको सुरक्षित वासस्थान पनि मानिन्छ । यहाँ बाघ, भालु, चितुवा, कस्तुरी, मृग, खरायो आदि जस्ता जनावर पाइन्छन् । तर, यहाँ शिकार खेल्न निषेध गरिएको छ । हिउँद याममा यस क्षेत्र हिउँले सेताम्मे देखिन्छ तर यहाँ पिउने पानीचाहिँ अभाव छ । विभिन्न चाडपर्व, पूजाआजाका लागि दैनिक करिब दुई किमी टाढा तलदेखि पानी बोकेर यहाँसम्म ल्याउनुपर्ने दुःख यहाँ आइपुग्ने भक्तजनलाई छ ।

डहरे देउरालीका विविध पक्षबारे यहाँ चर्चा गरियो । यस क्षेत्र भोट र तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो । पूर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि । घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि यस ठाउँ महत्त्वपूर्ण नाका थियो । त्यो बेला घोडा, खच्चडलाई भारी बोकाएर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसम्म ढुवानी गर्ने गरिन्थ्यो । हाल सडक पहुँचले गर्दा पुरानो त्यो समस्या भने टरेको छ । अहिले यो स्थान पर्यटकीय गन्तव्य बन्दै छ । नजिकै पन्चासे, सिरुबारी र गोल्र्याङ लेक छन् । यी स्थलमा पनि पछिल्ला वर्ष पर्यटकको बाक्लो चहलपहल देखिन थालेको छ । त्यहाँ पुग्न यही बाटोको प्रयोग गर्नुपर्छ । यो ठाउँ अहिले एउटा खुला विश्वविद्यालयझैं लाग्दछ । धार्मिक आस्थाका कारण यहाँ पुग्ने त छँदै छ, घुम्ने टोलीदेखि प्रकृति र पर्यावरणको सिंगोस्वरूप अध्ययन गर्नकै लागि देशका विभिन्न ठाउँबाट स्कुल, कलेजका विद्यार्थीसमेत यहाँ ओइरिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *