गुर्जा

गुर्जा

मेट्रो संवाददाता

१४ माघ २०७६ १४:०९

‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’

शब्द/तस्बिर : घनश्याम खड्का

म्याग्दी नदीका असंख्य खोंच र गल्छीका विकटतासँगै धौलागिरि हिमशृंखलाको दन्तलहरीमा पर्ने चुरेन र गुर्जा हिमालको जरोमा अवस्थित एउटा जीवित मानव संग्रहालय अर्थात गुर्जा गाउँ ।

‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित गुर्जा छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती हो । छिमेकी बस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखीझ्याल पनि हो ।

समुद्र सतहबाट ३,२२० मिटर उचाइमा अवस्थित गुर्जा गाउँको वार्षिक औसत तापक्रम ८ डिग्री सेल्सियस मात्र रहन्छ । वर्षभरिमा करिब पाँच महिना बाक्लो हिउँको सिरकले छोपिने यस गाउँमा जब हिमपातको समय हुन्छ, तब पूरै गाउँ संसारको मानवसम्बन्धबाट विच्छेद हुन्छ । जम्माजम्मी १४२ घरपरिवारले बसोबास गर्छन् यहाँ ।

गुर्जा पुग्न सदरमुकाम बेनीदेखि तीन दिन र सबैभन्दा नजिकको बस्तीबाट पूरै एक दिन हिँड्नुपर्छ । गुर्जावासी गाई, भैंसी, भेडापालन गरी मकै, आलु र जौ उत्पादनबाट ६ महिना जीविकोपार्जन गर्छन् । बाँकी समय बेसाहाको भरमा जीवन गुजारा गर्छन् । एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युतको उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भने गुर्जा उक्लेको छ ।

गुजमुज्ज परेका परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती । गुर्जागाउँको जीवन जति रोचक छ, त्यति नै कहालिलाग्दो पनि छ । गुर्जागाउँ पुग्न म्याग्दी जिल्लाकै लुँला, मुदी गाउँ र बाग्लुङको ढोरपाटन क्षेत्र गरी तीनवटा बाटोबाट झन्डै ३,५०० देखि ४,००० मिटर उचाइका घनाजंगल भएको पहाड छिचोल्नुपर्छ । यो गुर्जावासीको अनिवार्य बाध्यता हो ।

एउटा सिँगै गाविस भएको गुर्जागाउँमा वस्तीबाहेक भू–भागमा वडा विभाजन नै गरिएको छैन् । धौलागिरि पदयात्रा मार्गमा पर्ने यस गाउँलाई ‘पर्यटन गाउँ’ को रूपमा विकास गर्नुपर्ने देखिन्छ ।

विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संगोलले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । जहाँ जे बाली पाक्छ, त्यहीं नै बसोवास सार्ने परम्परा गुर्जा गाउँमा अझै छ । नापी कार्यालयले जग्गा व्यक्तिको नाममा दर्ता नगरिदिएकाले गुर्जावासी भूमिहीन छन् ।

‘दुर्गम भएकाले सरकारको ध्यान पुगेन, हामीलाई कानुनी ज्ञान भएन । खेतीपाती र जंगलमा आश्रित पेसामा भएकाले जग्गाजमिनको कागजी प्रक्रिया आवश्यक परेन,’ ७२ वर्षे समाजसेवी रिद्धबहादुर छन्तेलले सुनाए । ‘व्यवहारमा जग्गाको किनबेच र अंशबन्डा भए पनि कसैले जालसाजी नगर्ने हुँदा समस्या देखिएन तर हिजोआज जमाना फेरियो, कानुनी र कागजी समस्या पर्न थालेको छ ।’

जिल्ला मालपोत कार्यालयका अनुसार परम्परादेखि नै व्यवहारमा गुर्जावासीले जग्गा–जमिनको भोगचलन गर्दै आए पनि लालपूर्जा नहुँदा पछिल्लो समय समस्या देखिन थालेको छ ।

‘व्यवहारमा जग्गाजमिनको अंशबन्डा र खरिदबिक्री भई भोगचलन गरिरहे पनि कानुनी रूपमा भने मालपोतमा गुर्जावासीको स्रेस्ता र लालपूर्जा छैन,’ मालपोत अधिकृत भरत पौडेलले बताए । ‘त्यसैले पुस्तौंदेखिको जग्गाको नामसारी, अंशबन्डाका समस्या बल्झन थालेका छन् । व्यक्तिको जग्गा दर्ता नहुँदा लालपूर्जा समस्या बनेको छ ।’

त्यतिमात्र होइन, गुर्जागाउँमा बस्तीबाहेक भूभागमा वडा विभाजन नै गरिएको छैन । नापी कार्यालयको तथ्यांकअनुसार भौगोलिकरूपमा जिल्लाको दोस्रो ठूलो २८५ वर्गकिमी क्षेत्रफलमा फैलिएको गुर्जा गाविसको बस्ती भने जम्मा २१ रोपनी क्षेत्रफलमा सीमित छ ।

२०३३ सालमा कृष्ण ज्यापुले तयार पारेको र हालसम्म प्रचलनमा रहेको नापी नक्सामा गुर्जा गाविसको ६ नं वडामा तीन, ८ वडामा एक र ९ नं. वडामा ५ कित्ता जग्गा मात्र व्यक्तिको नाममा दर्ता छ । ‘गुर्जामा नापी र मालपोतको गम्भीर समस्या छ, लालपूर्जा भएकाको पनि व्यवस्थित भएको छैन,’ नापी कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए । ‘यसका लागि छिटो सरकारले वैज्ञानिक प्रणालीबाट जग्गा–जमिन नापनक्सा तयार पारी लालपूर्जा उपलब्ध गराउन जरुरी छ ।’

कामकाजमा सजिलोका लागि समुदायले गुर्जागाउँलाई वंश र घरको आधारमा ९ वडामा विभाजन गरेका छन् । सामाजिक जीवनलाई सञ्चालन गर्न समुदायले वंश हस्तान्तरणको आधारमा वडा कायम रहने व्यवस्था मिलाएका छन् । ‘मेरा बाबुका तीन भाइ भौगोलिक रूपमा एकै ठाउँमा बस्दैनौं । जेठा दाइ गाउँको सिरानमा, माइलो दाइ पुछारमा र म बाबुआमासँग पुरानै थाँतथलोमा बस्छौं तर हामी तीन भाइको घर एकै वडामा गनिन्छ,’ स्थानीय दीप छन्त्यालले बताए । ‘त्यसैगरी ९ नम्बर वडाको व्यक्तिले भोगचलन गरेको जग्गा १ नम्बरको व्यक्तिले किनबेच गरेपछि उक्त जग्गाको वडा पनि परिवर्तन हुन्छ ।’

टुप्पीमाथि लुकेको बस्ती गुर्जालाई पर्यापदमार्गको उपयुक्त गन्तव्य बनाउन पहल सुरु भएको छ । गुर्जाको पर्यटन प्रवद्र्धनमा १८ वर्षदेखि मानवीय तथा विकास क्षेत्रमा सक्रिय अमेरिकी दम्पत्ती जोय र डुयन पोपी ‘गरिबीका लागि पर्यटन अभियान’ सहित जुटेका छन् । उनीहरूले ‘अफ द बिटन ट्रेक्स’ मार्फत् गुर्जा सेन्चुरी पर्यटन अभियान चलाएका हुन् ।

‘धौलागिरि र ढोरपाटन पदमार्गको बीचमा लुकेको बस्ती गुर्जा प्राकृतिक सुन्दरता, भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त गन्तव्य हो,’ गुर्जाको पर्यटन सम्भावना र अनुभव सुनाउँदै अभियन्ता डुयन पोपीले भने, ‘लुकेको बस्ती गुर्जा एकपटक पुग्नैपर्ने ठाउँ हो । गुर्जा पदमार्गबारे वेबसाइट, म्याप बुक र गाइड बुक उपलब्ध छ ।’

‘व्यक्तिगत रूपमा आउने एडभेन्चर र कल्चरल पर्यटकलाई गुर्जा सेन्चुरी पदमार्ग उपयुक्त छ तर व्यक्तिगत रूपमा आउने शौखिन पर्यटकका लागि होटल–रेस्टुरेन्टलगायत आधारभूत पूर्वाधार आवश्यक छ,’ पोपीले थपे, ‘ठूलो कुरा केही छैन ।’

हाकाहाकी

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता