मेट्रो संवाददाता
१४ माघ २०७६ १३:०७
नेपालको इतिहासमा श्री ३ जंगबहादुर राणा जस्तो बाघमारा र हात्तीखेदा अरू कोही भेटिँदैन । त्यसका साथै सुगौली सन्धिपछि नेपालको भूगोलमा एक गज जमिन थप्नसक्ने अरू बहादुर पनि भेटिएको छैन ।
डा. तीर्थबहादुर श्रेष्ठ
हिमालय पर्वतराजको निर्माणक्रममा उत्तरी भाग चुलिएर विश्वकै सर्वोच्च पर्वतमाला बन्न पुग्यो । त्यस प्रक्रियामा हिमालको काखमा महाभारत र महाभारतको काखमा चुरिया अर्थात सिवालिक समानान्तर श्रेणीका रूपमा सिर्जना भए । सबभन्दा होचो कद भएको चुरे (१०००–२००० मिटर) को काँधमा हिमाल र महाभारततिरबाट बाढी, पहिरो, नदी र वर्षाले बगाउँदै, लडाउँदै, गुडाउँदै ल्याएका चट्टान,पत्थर,गोग्रान,बालुवा र माटो थेग्रिएर जमोठ बन्यो । चुरेबाट पनि लड्दै गुड्दै नदीनाला र वर्षासँगै दक्षिण लागेका पाषाणी पदार्थमध्ये ठूल्ठुला पत्थर चट्टान धेरै टाढा गुढन सकेनन् र फेदीमै थेग्रिए । कम ओजनका साना ढुंगा पत्थर अलिक पर पुगेर थाके । मसिना बालुवा र माटो भने तलसम्म पुगेर तराईको समथर भूमि निर्माण गर्न सफल भए । चुरेको फेदीबाट दक्षिणतिर लगभग चारकोशको भूभागमा ठूला पत्थर, गोग्रान जमेर त्यहाँ पनि नजम्ने भावर क्षेत्र निर्माण भयो । भावर क्षेत्रमा घना वन, घाँसे मैदानलगायत झाडी बुट्यानको विभिन्न उद्भिद स्थापित भए । त्यस क्षेत्रलाई चारकोशे झाडी भनियो । भावर र तराईमा घना वन र वनस्पतिका साथमा विभिन्न वन्यजन्तु, पशुपन्छी र अन्य प्राणीहरू पनि स्वाभाविक रूपले स्थापित भएर जैविक विविधताको भण्डार कायम रह्यो । धरातल, पानी र वर्षाको मनसुनी वरदान, उष्ण प्रदेशीय सौर्य शक्ति आदि कारणबाट तराई भावर र चुरे ठूला कदका वन्यजन्तु (बाघ, हात्ती, गैंडा आदि), ठूलै कदका वृक्षहरू (साल, सिमल, टाँटरी आदि) र उच्च कदका घाँसेमैदान (ढड्डी, नर्कट आदि) का लागि उपयुक्त हुन पुग्यो ।
चुरेको उत्तरतिर पनि ठाउँ–ठाउँमा समथर उपत्यकाहरू निर्माण भएका छन् । जस्तै दाङ–देउखुरी र चितवन । त्यस क्षेत्रमा पनि भावर र तराईकै जैविक विविधता स्थापित छन् । जैविक विविधताको दृष्टिले चुरे, मधेस, भावर र तराई (चुमभात) लाई एक संयुक्त इकाइका रूपमा हेर्न सकिन्छ । तर, यस इकाइको मेरुदण्ड भन्नु चुरे नै हो भन्ने कुरा भने भुल्न हुँदैन ।
चुमभात क्षेत्रको जैविक विविधताको द्योतक प्राणी पाटेबाघ हो । जुन जंगलमा बाघ छ, त्यहाँ बाघभन्दा धेरै हरिण, चित्तल, बाह्रसिंगा, लगुना आदि तृणाहारी पशु धेरै हुन्छन् । तिनै तृणाहारीको सापेक्षमा घाँस र घाँसे मैदान पनि यथेष्ट हुन्छन् । घाँसे मैदानमा अघाएपछि सबै वन्यजन्तुलाई रक्षा, सुरक्षा, आराम र अरू दिन चरियाका लागि वन, बुट्यान, सिमसार, धोल र नदीनाला आवश्यकता पर्दछ ।वनजंगल कायम हुन विभिन्न पशुपन्छी, कीटपतंग, कमिला,धमिरा,जुनकीरी, भँवरा, माहुरी, बारुला आदिका समेत भूमिका आवश्यक रहन्छ । त्यस्तै सर्प, बिच्छी, अंजिगर, गोही र गोमन पनि वन्य प्राणालीसँगै आबद्ध हुन्छन् । तसर्थ बाघ एक तर विविधा अनेक हुने कुरालाई मध्यनजर गरेर हेर्नु वान्छनीय हुन्छ । बाघको बखानबाट ‘चुमभात’ को वैभव उजागर हुन्छ । तराई भूपरिधि जस्ता संरक्षण कार्यक्रमले पनि वस्तुतः बाघको वासस्थान विस्तार गर्ने गराउने दिशातर्फ ध्यान केन्द्रित गर्ने गरेको छ ।
चुमभातको वैभव कति विशाल थियो भन्ने अनुमान लगाउन बाघ सिकारका वर्णन पर्याप्त हुन्छन् । नेपालको इतिहासमा श्री ३ जंगबहादुर राणा जस्तो बाघमारा र हात्तीखेदा अरू कोही भेटिँदैन । त्यसका साथै सुगौली सन्धिपछि नेपालको भूगोलमा एक गज जमिन थप्नसक्ने अरू बहादुर पनि भेटिएको छैन । जंग बहादुरले नै जोडेको नयाँ मुलुक हालको बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका जैविक वैभव उनकै बाघ सिकारका वर्णनबाट उजागर हुन्छ । उदाहरणका लागि बेलायतका प्रिन्स–अफ–वेल्स ‘अल्वर्ट एड्वाडर््स’ को सिकार उल्लेख गर्न सकिन्छ । डा. हर्क गुरुङको सन १९६६ को यात्रा वृतान्त (सन् १९८०) मा सन १८७६ को त्यो सिकारबारे उल्लेख छ । त्यहाँ भनिएको छ– प्रिन्सले स्वयं १४ वटा बाघको सिकार गरेको थियो । हाल कन्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १४ वटा बाघ छैन । सन २००१ मा त्यहाँमात्र ८ वटा बाघ गणना भएको थियो । वन मासियो बाघ बिलायो ।
अंग्रेजी पाहुना लर्ड लिन्लिथगोले १ सय २० बाघ, ३८ गैंडा, १५ भालु, २७ चितुवालगायत थुप्रै अरू प्राणीलाई निशाना बनाए
श्री ३ जंगबहादुरको बन्दोबस्तीमा सम्पन्न प्रिन्स–अफ–वेल्सको सिकारबारे पुरुषोत्तम समशेर जबराद्वारा लिखित श्री ३ हरूको तथ्य वृत्तान्त नामक पुस्तकको दोस्रो संस्करण २०५९ मा यस्तो लेखिएको छ, ‘पे्रmबुअरी २१ ता. देखि नै प्रिन्सको सिकार सुरु भयो । सोही दिन सबेरै प्रिन्सले एक बाघ मारे । सो बाघ ९ फिट ७ इन्च लामो थियो । सोही दिन बेलुकीपख शारदा नदीको टापुको वनमा ६÷७ वटा बाघलाई ८ सयवटा हात्तीले घेराभित्र पारिराखेको सूचना जंगले पाएबाट प्रिन्सलाई साथ लिई जंग त्यस ठाउँमा पुगे । करिब २ घन्टाको बीचमा ५ वटा बाघ मारे । ८ सयवटा हात्तीले शारदा नदी तरेको दृश्यको अवलोकन करिब आधा घन्टासम्म गरी प्रिन्स मुग्ध भए ।’

हात्तीको यत्रो ठूलो जमात पनि नेपालकै तराई भावरको उपज हुनुपर्छ । कोलोनेल कर्क पास्ट्रिक (Colonel kirkpatrick) ले सन् १७९३ को आफ्नो नेपाल यात्रा विवरणमा चितवनको चुरे पहाड सोमेश्वरदेखि पूर्वमा कोसीसम्मको तराई–भावर क्षेत्रबाट प्रत्येक वर्ष २००–३०० जंगली हात्ती पक्रेर राज्यले आम्दानी बढाउने गरेको कुरा उल्लेख छ । ऊबेला झन् नेपालको वनमा कत्रो धन थियो होला अनुमान लगाउन सकिन्छ । श्री ३ जंगबहादुरले वि.सं. १९१८ तदनुसार सन् १८६१ ई. सिकारमा २१ वटा हात्ती पक्राउमा पारे भने ३१ बाघ, २७ जरायो, १ गैंडा, १ अंजिगर, ११ अर्ना, १० बँदेल, ११ गोही, २२ चित्तल, ४ भालु, ३ चितुवा आदि मारेको विवरण श्री ३ हरूको तथ्य वृत्तान्तमा पढ्न पाइन्छ । सोही वृत्तान्तमा अर्का बाघमाराको रूपमा श्री ३ जुद्धलाई औंलाउन सकिन्छ । उनले सन् १९३२ तदनुसार वि.सं. १९८९ मा नवलपुरको सिकारमा ४१ बाघ, १३ गैंडा र अरू थुप्रै जनावर मारेको पनि पढ्न पाउँछौं । एकै सिकारमा सबैभन्दा धेरै बाघ मार्ने कीर्तिमान अर्का अंग्रेजी पाहुना लर्ड लिन्लिथगो (Lord Linlithgow ) ले स्थापित गरे । उनले १ सय २० बाघ, ३८ गैंडा, १५ भालु, २७ चितुवालगायत थुप्रै अरू प्राणीलाई निशाना बनाए । मात्र ७५ वर्ष पहिलेको त्यो कुरा आजभोलि दन्त्य कथाजस्तो लाग्न थालेको छ । औलो उन्मूलनपछि अर्थात सन् १९६० को दशकबाट तराई मधेसमा मानिसको ओइरो लाग्न थाल्यो । झोराकाण्डहरू, बर्मेली नेपालीको बसोबास, पुनर्बास कम्पनीको बिगबिगी, जनमत संग्रहको विध्वंशकारी क्रियाकलाप, भुटानी शरणार्थीका निम्ति क्याम्प, माओवादीका लडाकु क्याम्प, मुक्तकमैया र सुकुम्बासीको चाप आदि कारणबाट तराई–भावर र मधेसको जैविक विविधता र वन विनाशको कथा मौलाउँदै गयो । जैविक विविधताका थोरबहुत नमुना जोगाइराख्नु पर्ने राष्ट्रिय एव अन्तर्राष्ट्रिय राय, सुझाव, सल्लाह र दबाबलगायत अर्थिक एवं प्राविधिक सहयोगसमेतबाट केही संरक्षित क्षेत्रको व्यवस्था हुन गयो । शुक्लाफाँटा, बर्दिया, बाँके, चितवन, पर्सा र कोसीटप्पुमा संरक्षण कार्य सम्पन्न हुन थाल्यो । अन्तर्राष्ट्रिय महŒवका सिमसार पनि ‘चुमभात’ क्षेत्रमा मौजुद भएकाले घोडाघोडी ताल, जगदीशपुर रिजर्भवायर, बीसहजारी ताल र कोसीटप्पुका जलाशय पनि संरक्षणका दायराभित्र परे । यी संरक्षित क्षेत्रभित्र र त्यसभन्दा बाहिरका सामुदायिक एवं राष्ट्रिय वन अझै पनि जैविक विविधताले भरिपूर्ण छ । तिनको संरक्षण गरिनुपर्छ ।
चुरे–मधेस–तराई र भावरका वनको विविधतालाई केलायौं भने प्रष्ट रूपमा १० विभिन्न प्रकारका वन भेटिन्छ । तीमध्ये सालको वन, खयरसिसौको वन, हर्रो–बर्राेको वन, सिमलको वन, चाँप–टुनी–दवदवेको वन आदि उल्लेखनीय छन । ठाउँ विशेषअनुसार सालसँग मिश्रित सतिसाल, विजयसाल, साज, पानी साज, कुसुम, कुम्भी, पलाँस, जामुन, बेल, सल्ला, चिलौने, कटुस आदि सबैलाई मिलाएर वृक्ष प्रजातिको संख्या १ सय २५ पुग्न आउँछ । घाँसेमैदान पनि अनेकथरीका भेटिन्छन् । कहीं दुबो र सिरुजस्ता होचा घाँसका मैदान छन् भने कहीं हात्ती डुब्ने ढड्डी र नरकट घारी छन् । यसप्रकार १० विभिन्न प्रकारका घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस तराई भावरमा पाइन्छ । कहीं कुशको प्रचुरता छ भने कहीं खसखसको त कही मोथेको । जडीबुटीको हिसाबले पनि ‘चुमभात’ धनी छ । सर्पगन्धा, सतावरी, पिपला, भ्याकुर, वनतुलसी लगायत सयौं औषधियुक्त वनस्पति यस क्षेत्रमा पाइन्छ । तर ती अब दुर्लभ भइसकेको अवस्था छ ।
पुनश्च, जैविक विविधताको गौरवगाथा श्री ३ जंग बहादुरदेखि श्री ३ जुद्ध शमशेरको सिकार विवरणमा पाउँछौं । र, त्यो एकादेशको दन्त्यकथाजस्तो लाग्न थालेको छ किनभने वातावरण विनाश हुन धेरै अवधि लाग्दैन । सन् १९६० को दशकमा औलो उन्मूलन भएपछि २००७ सालले ल्याएको परिवर्तनबाट राजनीतिक, आर्थिक, सामाजिक चलखेलमा जमिन, जंगल र जललाई दाउमा राखेर जनसंख्याको अप्रत्यासित वृद्धितिर राष्ट्र अग्रसर भयो । अवैध सिकार, काठ तस्करी, वन अतिक्रमण तथा अवैध बसोबासले गर्दा तराई, भावर र मधेसको वातावरण विकराल बन्न थाल्यो । त्यसमा थप विकराल चुरे र भावरको ढुंगा, गिट्टी, रोडा र बालुवा ओसार्ने क्रमबाट सिर्जन थालेको छ । यही क्रम कायम रह्यो भने वातावरणीय प्रकोप धेरै टाढा छैन भन्ने बुझे हुन्छ । समय कतै खेर नफालेर सरकारलाई साथ दिन सकेन भने चुरे विनाशको खेल रोकिँदैन । त्यसबाट जैविक विविधता र वातावरणमात्र हैन, हाम्रै अस्तित्व पनि खतरामा पर्न जान्छ । यो भविष्यवाणी हैन, भोलिको वास्तविकता हो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


