साउने सोमबार व्रत समापन

साउने सोमबार व्रत समापन

मेट्रो संवाददाता

३२ साउन २०७८ १४:४२


काठमाडौँ, ३२ साउन । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित शुरु गरेको व्रत आज विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरिँदै छ ।

साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउनुहुन्छ । चन्द्रमासअनुसार साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरूपमा शिवजीको आराधना गर्नुपर्ने शास्त्रीयविधि रहेको उहाँ सुनाउनुहुन्छ । यसवर्ष साउनमा ४, ११, १८, २५ र ३२ गते गरी पाँच वटा सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गर्न लागिएको हो ।

नयाँ व्रत शुरु गर्नेले पाँचवटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भनिए पनि यो कुरा शास्त्रसम्मत नभएको पूर्वअध्यक्ष गौतमको भनाइ छ । शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।यो व्रत लिनेले यस लोकमा सुख शान्ति पाउनका साथै परलोकमा सद्गति मिल्ने शिवपुराणलगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र लिनुपर्र्छ भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः महिलाले परिवारमा सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।

धेरैले शिवजीको महिना भनी साउनमा मांस र मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको भीड लाग्ने गर्छ तर यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका कारण बोल बम यात्रा भने विगत वर्षजस्तो हुन सकेन । भक्तजनले जल ल्याई पशुपतिमा चढाउन नपाए पनि फाट्टफुट्टरूपमा खुला रहेका शिवालयमा भने चढाएका छन् ।

वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाकै कारण सम्भब भएन । भोलेनाथ काँवरिया तथा बोल बम काँवरिया सङ्घलगायत संस्थाले यसवर्ष बोल बम काँवर यात्रा स्थगित गरेका थिए । धेरैजसोले घरमा प्रत्येक वर्ष साउनको कुनै एक दिन वैदिक रुद्राभिषेकसमेत गर्ने गर्छन् ।

साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला शिवालय यसवर्ष कोरोनाको त्रासका कारण बन्द गरिएकाले भक्तजनले बन्द रहेको पशुपति मन्दिर परिसरबाटै दर्शन गर्दै आएका छन् । आज अन्तिम सोमबार पशुपति परिसरमा बिहानैदेखि उल्लेखनीय रुपमा भक्तजनको भीड लागे पनि मूल मन्दिरभित्र स्वास्थ्य सुरक्षाकै कारण प्रवेश गर्न नदिइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

गोकर्णेश्वर र नागेश्वरमा भीड

राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड देखिन्छ । मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर दिउँसो एक बजेसम्म दर्शन गर्न व्यवस्था मिलाइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित नागेश्वर महादेव मन्दिर परिसरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझी बताउनुहुन्छ । यसैगरी उपत्यकाकालगायत देशभरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता