नेपाल भाषाका महाकवि सिद्धिदास महाजुले भनेका थिए – ‘भाषा म्वा:सा जाति म्वाइ’ अर्थात् भाषा बाँचेमात्रै जाति पनि बाँच्छ। भाषा बाँच्न त्यो भाषा बोल्न, लेख्न र बुझ्न जान्ने मानिसको आवश्यक्ता पर्छ। त्यसको अभावमा त्यो भाषासँगै जातिको अस्तित्व पनि लोप हुने सम्भावना उत्तिकै हुन्छ।
एउटा भाषा तब लोप हुन्छ, जब त्यो भाषा बोलिने स्थानमाथि दोस्रो भाषा हावी हुन्छ। रैथाने भाषा बोल्न गाह्रो भएर वा सिक्न नचाहेर अन्य भाषा बोल्नेहरुले विस्तारै सो समुदायको भाषिक शब्दकोश नै परिवर्तन गरिदिन्छ।
उदाहरणका लागि काठमाडौंको माइतीघर।
हाल हामीले माइतीघर भनेर बोलाउने स्थानमा माइतीघर फिल्मको बोर्ड थियो रे। अनि कसैले कहाँ आउने भनेर सोध्दा माइतीघरको बोर्ड भएको स्थानमा भन्दै गर्दा सो स्थानको नाम माइतीघर रहन गयो भन्ने कथन पनि छ। तर, माइतीघर फिल्म बन्नु अघि सो स्थानको नाम नै थिएन होला त?
वास्तवमा सो स्थानको नाम हो – फिब्य ख्य:।
सो क्षेत्रमा रहेको तुकुचासँगै फिब्य ख्य: अजिमाको मन्दिर अहिले पनि छ। सोही अजिमाको नामले नै सो स्थानको नाम फिब्य ख्य: रहेको बताइन्छ। तर, सायद बोल्न गाह्रो भएर होला वा अन्य केही कारणले मानिसले फिब्य ख्य: लाई बिर्सिँदै गए। नेपाल भाषाबाट रहेको ठाउँको नामलाई नेपालीकरण गरियो, बिस्तारै सो ठाउँ माइतीघरले चिनियो। केशव स्थापितले त्यहाँ मण्डल बनाए। हामी नेपालीले फेरि त्यो स्थानको नामलाई भारतीयकरण गर्यौं, माइतीघर मण्डललाई माइतीघर मण्डला बनाएर।
यसरी कुनै अर्को भाषाले त्यहाँको रैथाने भाषा र शब्द परिवर्तन हुनुको मुख्य कारण हो ‘कम्फर्ट अफ टंग’ अर्थात जिब्रोको सजिलो लागि।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई ‘राइनो’ भनेकोमा आपत्ती जनाउँदै विदेशीहरुले आफ्नो ‘कम्फर्ट अफ टंग’ का लागि गैंडालाई ‘राइनो’ बनाएको आरोप लगाएका थिए। भलै एक सिंगे गैंडा नेपालमा मात्रै पाइँदैन। प्रधानमन्त्रीले बोलेका शब्दले काठमाडौं उपत्यकाको इतिहासमाथि गरिएको फेरबदल दर्साउँछ।
सायदै, त्यही जिब्रोको सजिलोको लागि कालान्तरमा ‘येँ’ काठमाडौं भयो। ठ:बही- ठमेल भयो। लुँ हिटी- सुन्धारा भयो। थ्यामरु – बांगेमुढा भयो। वंघ – इन्द्रचोक भयो। बिस्का: – बिस्केट भयो, करुणामय बुंगद्य:को रंग रातो देखेकोले – मछिन्द्रनाथको अगाडि रातो शब्द थपियो। जनबाद्य:लाई सेतो मछिन्द्रनाथ भनियो। यो लिस्ट यही सकिँदैन।
उपत्यकामा सार्वजनिक बिदा दिएर मनाइँदै गरिएको यँया: पुन्हि पनि इन्द्रजात्राको नामले प्रचलित भयो। यँया: मा ठड्याइने य:सिं- लिंगो भयो। अनि इन्द्रजात्रामा इन्द्र नै हरायो!
कसरी हरायो इन्द्र ?
नाम इन्द्रजात्रा। तर मान्छेले इन्द्रको जात्रामा इन्द्र नै देख्दैनन्। सरकारले इन्द्रजात्रा भनेर उपत्यकामा सार्वजनिक बिदा दिन्छ। राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति गद्दी बैठक पुग्छन्। हजारौं मानिस वसन्तपुर दरबार पुग्छन्। कुमारी, गणेश र भैरवको रथ यात्रा हेर्छन्, लाखे, पुलुकिसी नाचेको हेर्छन। तर वास्तवमा यँया भनेको के हो ? बुझ्दैनन्। या भनौं बुझ्ने प्रयास गर्दैनन्। मरु, नरदेवी, हनुमानढोका दरबार लगायतका चोकचोकमा इन्द्रलाई डोरीले बाँधेर बन्धनमा राख्दै प्रदर्शन गर्ने बारे धेरैलाई थाहा नहुनसक्छ।
अनि इन्द्रजात्रामा रथयात्रामात्रै हेरर फर्किएपछि इन्द्र हराएनन् त !
काठमाडौंमा मनाइने यँया:को किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो। तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र यहाँका मानिसहरुको स्वीकृति बिना उनीहरूको जग्गामा फूल टिपे। आफूहरूको जग्गामा फूल चोरेको भन्दै इन्द्रलाई समाइ बाँधेर नगर परिक्रमा गराए। इन्द्रलाई बाँधेर नगरका विभिन्न क्षेत्रमा धुमाइएको प्रतीक स्वरूप इन्द्रजात्रा भर ‘यमबा:द्य’ राखिने प्रचलन रहेको छ। इन्द्रलाई बन्धनमा राखेपछि उसकी आमा दागिं इन्द्रको खोजीमा पृथ्वी आउँछिन्। इन्द्रलाई छोडदिए येँलाई उबर बनाउने वाचा गर्छिन्। त्यसका साथै वर्षभरी मृत्यु भएकाहरुलाई स्वर्ग लग्ने बताउँछिन्।
हालसम्म पनि यँया: पुन्हिको दिन राति इन्द्रकी आमाको रुपमा दागिं निकालिने गरिन्छ। दागिंको पछाडि वर्षभरी मृत्यु भएका व्यक्तिका आफन्त दिवंगतहरुलाई इन्द्रलोकमा बास होस् भन्दै नगर परिक्रमा गर्ने गर्छन्। उनीहरु सबै इन्द्रदह गएर फर्कने गर्छन्। यँया:सँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष हो बौ मत। दागिंपछि सोही मार्ग हुँदै बौ मत निकालिने गरिन्छ। दागिंले आफ्नो छोरालाई छोडिए स्वर्ग लग्ने भन्दै इन्द्रदह लगेकाहरुलाई बीच बाटोमै छोडी भागेकाले उनीहरुलाई खोज्न बत्ती बाल्दै निकालिने यात्रालाई बौ मत भनिने प्राध्यापक त्रिरत्न मानन्धर बताउँछन्।
तर, इन्द्रसँग जोडिएका यस्ता कयौं पक्षहरु इन्द्रजात्रामा गौण बनेका छन्।
कुमारकीको रथयात्रा र इन्द्रजात्रा नितान्त फरक दृष्टिकोण बोकेको संस्कृति हो। हुनत: गुणकामदेवको पालामा नै काठमाडौंमा कुमारी पूजा गर्ने चलन थियो। तर, इन्द्रजात्राको मुख्य आकर्षणको रुपमा रहेको जीवित देवी कुमारीको रथ यात्रा भने मल्लकालमा मात्रै सुरु भएको हो। त्यसैले पूर्व प्राध्यापक मानन्धर भने यँया:लाई मिश्रित किसिमको जात्राका रुपमा व्याख्या गर्छन्।
‘यँया: र कुमारी जात्राको कथा नै फरक छ। कुमारीको पूजा पहिले नै हुने भएता पनि रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लका पालमा सुरु भएको हो,’ उनले भने, ‘आफ्नै राज्यका भारदारहरुबाट षड्यन्त्र हुने थाहा पाएपछि जय प्रकाश गुहेश्वरीमा लुक्न पुगे। पछि फेरि उनले कान्तिपुर जिते। त्यसपछि उनले कुमारीका नाममा सिक्का निकाल्नुका साथै कुमारीको रथ यात्रा चलाए।’
यँया:मा जीवित देवी कुमारीसँगै जीवित देव गणेश र भैरवको रथ यात्रा समेत हुने गर्छ। जीवित देवीमात्र हैन, काठमाडौँमा दुई जीवित देवता पनि छन् जसबारे धेरैलाई थाहै छैन।
नेवार समुदायले यमबाद्य: का रुपमा पूज्ने देवलाई नेपालभाषामा इन्द्र भनिन्छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग ‘यँ’ भनेको ‘इन्द्र’ र या:’ भनेको ‘जात्रा’ मिलेर यँया बनेको र आकाशको देवता इन्द्रको जात्रा चलाउने भएकाले नै यसलाई यँया: भनिएको बताउँछन्। पछि अपभ्रंस हुँदै यँया: पनि येँया: भयो। इन्द्रको जात्रा भएकोले यसलाई यँया: भनियो। कुमारी लगायत अन्य जात्राहरु मध्यकालमा थपिए।
धेरैले येँ (काठमाडौं) र या: (जात्रा) भएकाले येँयालाई काठमाडौंको जात्रा भने। तर, ग्वंग भने यो काठमाडौंको मात्रै जात्रा नरहेको बताउँछन्। यँया: काठमाडौंमा मात्रै नभइ उपत्यकाभर मनाइने भएकाले त्यसलाई काठमाडौंको मात्रै जात्रा भन्नु उपयुक्त नहुने उनको तर्क छ। यसबारेमा थप अध्ययनको आवश्यक छ।
यसबाहेक लाखे, पुलुकिसी, दी प्याखं, सवभक्कु नाच लगायत विभिन्न नाच र करिब ३० भन्दा गुठीहरुको संयुक्त सहभागितामा यँया: मनाइन्छ।
तर, ८ दिनसम्म मनाइने यति बृहत पर्वलाई ‘इन्द्रजात्रा’का रुपमा एकदिन सीमित गरिएको छ। यसो गरिँदा त्यससँग जोडिएका कयौं अमूर्त सम्पदाहरु ओझेलमा पर्दै गएका छन्। कति गुठी र नाचहरु लोप भइसेका छन् भने मानिसहरुलाई यँया:को वास्तविक अर्थ बुझाउनै गाह्रो भइसकेको छ।
नेवार समुदायमा पनि यँया: को व्याख्यालाई लिएर विवाद छ। यसलाई पनि सल्लाह गर्दै एउटा ठोस नतिजामा पुर्याउन सफल भए यँया: को सही विश्लेषण हुने सक्थ्यो।
हाललाई केही मिडियाले इन्द्रजात्रासँगै येँया:\यँया: र लिंगोलाई विस्थापित गर्दै य:सिं लेख्न थालेका छन्। त्यो राम्रो सुरुवात हो। एकले अर्काको भाषा र संस्कृतिको सम्मान गर्दै अगाडी बढे पक्कै पनि नेपाललाई खुशी र समृद्ध बनाउन सकिन्छ। तर ‘कम्फर्ट अफ टंग’ कै लागि कुनै भाषामाथि अनुदार भए त्यसले नेपाललाई त समृद्ध र खुशी बनाउला तर त्यो भाषिक पहिचान बोकेको जाति पक्कै खुशी हुनेछैन।
अहिलेलाई सबैजनालाई यँया: पुन्हीया भिन्तुना! (इन्द्रजात्राको शुभकामना)
(नेवाः जः नेपालभाषा पत्रिकामा प्रकाशित)
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


