अस्तव्यस्त काठमाडौं : वर्गविहीन समाजको यात्रा यँया: ‘उच्चपदस्त’ सहभागी जात्रामा परिणत हुँदाको परिणाम

अस्तव्यस्त काठमाडौं : वर्गविहीन समाजको यात्रा यँया: ‘उच्चपदस्त’ सहभागी जात्रामा परिणत हुँदाको परिणाम

अर्बिन्द्र मान सिँह

३१ भदौ २०८१ १८:५७

जब यो यात्रा सुरु भयो तब वर्गीय तथा जातीय विभेद थिएन । यसबेला सबै वर्गका मानिसहरु सबै जातका मानिससँग सामुहिक रुपमा सबै स्थानमा परिक्रमा गर्छन् । यस्को निरन्तरता भने अझै रहिआएको छ। तर, वर्गीय विभेदले गर्दा सर्वसाधारणले भने दुःख पाउन थालेका छन् ।

औपचारिक रुपमा हनुमानढोका दरबार क्षेत्रमा य:सिं ठड्याइएसँगै आइतबारबाट यँयाः (इन्द्रजात्रा)को सुरुवात भयो । यद्यपि, यो पर्वको तयारी र व्यवस्थापनको कार्य भने निकै अघिदेखि हुने गरिन्छ। गुथि, क्लब, स्थानीय सरकार, प्रहरी, ट्राफिक प्रहरी जात्राको व्यवस्थापनका लागि अहोरात्र कार्यरत रहन्छन्, छलफलमा। गुथिले आफ्नो कर्तव्य निभाउँदै आइतबार बिहान य:सिं ठड्यायो। बेलुकी भने पितृमोक्षको कामना गर्दै उपाकु यात्रा गरियो। यही उपाकुमा आउनेहरुको सहजताका लागि भनेर काठमाडौंको भित्री सहरमा सवारीसाधन प्रवेशमा रोक लगाइयो। उपाकु जाने रुटको नक्सा सार्वजनिक गर्दै आवागमन सहज बनाउने प्रयास गरिएको थियो । तर, आइतबार ट्राफिक व्यवस्थापन फितलो भयो । जसकारण धेरैले जात्राका कारण आफ्नो यात्रामा कठिनाइ पुगेको बताइरहे ।

आइतबारदेखि सुरु भएको यँयाः एकसाता चल्ने पितृ तर्पण यात्रा हो, नकि यो कुनै उल्लासमय जात्रा । पछिल्लो समय यँयाः (इन्द्रजात्रा)लाई जसरी सामन्ती (उच्च अहोदाको दर्जा/ राजा वा प्रमुख शासकको आड लिएर सर्वसाधारणलाई शोषण गर्ने व्यक्ति) का उल्लासमय जात्रा भनेर प्रस्तुत गरिएको छ त्यो भने विल्कुल गलत हो ।

•••
वर्तमान काठमाडौं शहरको नाम मध्यकालमा कान्तिपुर थियो । जुन आकाश भैरव अगाडि रहेको कान्तिईश्वर महादेवको नामबाट रहेको हो । त्यो भन्दा अघि यो शहरको नाम ‘यँ’ रहेको थियो । ‘यँ’ शहरलाई उत्तर र दक्षिण गरी दुई क्षेत्रमा विभाजन गरिएको थियो । उत्तरी भागलाई ‘यँबु’ भनिन्थ्यो भने दक्षिणी भागलाई ‘यँगल’ भनिन्थ्यो । लिच्छविकालमा भने ‘यँबु’ क्षेत्रलाई उत्तर कोलिग्राम र ‘यँगल’ क्षेत्रलाई दक्षिण कोलिग्राम भन्ने गरिन्थ्यो ।
इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार लिच्छविकालको प्रारम्भतिर दक्षिण कोलिग्राम क्षेत्रमा ‘इन्द्र-गृह’ नामक एउटा भव्य राजदरवार रहेको थियो । यो मानदेव प्रथमले बनाएको दरवार भन्ने मान्यता छ । त्यही दरवारको छेउछाउमै इन्द्रध्वजोत्सव मनाइने गरिन्थ्यो । इन्द्रलाई नेपालभाषामा ‘यम्बाद्यः-यम्माद्यः-यमा द्यः’ पनि भनिन्छ । यही ‘यमाःद्यः’ बाट यो नगरको नाम ‘यँ’ रहन गएको भन्ने विश्वास गरिन्छ । तर यस विषयमा थप अनुसन्धान गर्न बाँकी नै छ ।

कुरा यहि यम्बाद्यः/यँयाःद्यः/यमाःद्यःको हो । यो देव भनेको आदिवासि नेवाःहरूले आकास देवताको रूपमा पुजिने देवता हो । जसलाइ पानी पार्ने देवको रूपमा लिइन्छ । लिच्छविकालिन समयमा यसको अनुवाद हुँदा पानी पार्ने देवता इन्द्र भनियो । यसरी, यमाद्यः/ यम्बाद्यः/यँयाःद्यः लिच्छविकालिन संस्कृतिमा पानी पार्ने देवता ‘इन्द्र देव’ भयो । कालान्तरमा यम्बाद्यः/यँयाःद्य/यमाःद्यः को यात्रा ‘इन्द्र जात्रा’ हुन गयो । नेपालभाषामा ‘यँया:’ भनिने पर्वलाई खस भाषामा उल्था गर्दा ‘इन्द्रजात्रा’ भनेर चिनिन गयो । तर, त्यो शब्द अपुरो र अधुरो छ ।
•••

आकाशका देवता यमबाद्यःको नाममा राखिएको नेपाल संवत्को एक महिना यँला (यँ=यमाद्यः, ला = महिना) हो । नेपाल संवत् अनुसार हरेक महिनामा आउने पुन्हि तथा पर्वलाई धेरै जसो त्यहि महिनाको नामबाट राखिएको हुन्छ । गुंला महिनाको गुंला पुन्हि, यँला महिनाको यँला पुन्हि, सिला महिनाको चतुर्दशी सिलाचःह्रे(शिवरात्री) यसको उदाहरण हो। अरु महिनामा पुन्हि एक दिनको विशेष पर्व हुन्छ। तर, यँला महिनामा भने धेरैदिन नै यो पर्व चल्छ । पितृ तर्पन र अन्न फलाउन चाहिने पानी दिएकोमा ‘यम्बाद्यः/आकाशदेव’ लाइ पानीको निम्ति धन्यवाद ज्ञापन गर्न शहरको यात्रा गरिन्छ । जुन यम्बाद्यःको यात्रा वा यँ महिनाको यात्रालाइ अर्को एकथरीले येँ भनेको काठमाडौं अनि काठमाडौंमा गरिने यात्रा भनेर स्थान विशेष महत्व दिएर पछि येँयाः भन्न थालियो। तर यो काठमाडौंमा मात्रै गरिने जात्रा होइन। यो तीनै शहर र नेपाः गाः (काठमाडौं उपत्यका) भर मनाइन्छ।
•••

यात्रा किन गरिन्छ त ?

नेपालमण्डलमा कृषि कर्म गर्ने किसानको कर्मले फल पाउने महिना हो यँला (भदौ-असोज)। यो बेला अधिकांश कृषकहरुका खेतमा रोपाइँ सकिएको हुन्छ, नेपाः गाः (काठमाडौं उपत्यका) मा खेतमा धानका बाला झुलिरहेका हुन्छन् । र, विशेष गरेर येँ (काठमाण्डौं)मा यसलाई ठूलै पर्वका रुपमा मनाइन्छ । यसबेला धानलाई आफ्नो प्रमुख आर्थिक स्रोत बनाएका किसानले पितृहरुलाई सम्झने फुर्सद मिल्छ । र कृषि कर्म सकेपछि पितृहरुलाई धन्यवाद ज्ञापन स्वरुप यँला महिनामा उपाकु, दागीँ, थ्वं (जाँड) र अय्ला (मदिरा) को तर्पण, र पानीको देवताको पुजाको लागि यमाद्यः/ यम्बाद्यः/यँयाःद्यः को पुजा गरिन्छ ।

काठमाडौंको भित्री शहरका गल्ली गल्लीहरुमा यँला महिना भरि यति धेरै यात्रा गर्नु पर्ने हुन्छन् त्यो पनि सामुहिक रुपमा । गुथिका गुथियारहरु, पितृ तर्पण गर्नुपर्ने सर्वसाधारण, देवदेवीका नाच देखाउने प्रतिनिधिहरु देखि यो अवलोकन गर्नेहरुसम्म धेरै नै यात्रा गर्नु पर्ने हुन्छन् । त्यही कारण यँयाः (यँ = आकासको देव/महिनाको नाम, याः= यात्रा) भनेको यँला महिनामा गरिने आकासदेवको यात्रा हो ।

यो यात्रामा विशेष गरेर आफ्नो क्षेत्र वा भनौ उबेलाको देशको सिमाना परिक्रमा गर्ने परम्परा रहि आएको देखिन्छ । जब कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले कुमारी, भैरव र गणेशलाई रथमा राखेर परिक्रमा गर्ने परम्परा सुरु भयो, त्यसपछि मात्रै यो यात्रा जात्रामा परिणत भएको हो । अनि तत्कालीन सामन्ती (उच्च अहोदामा आसिन) हरु पनि जात्रामा सहभागी हुन थाले, त्यसपछि यो यात्रा विस्तारै सामन्ती सहभागी हुने उल्लासमय जात्रा कहलिन थाल्यो ।

सैद्धान्तिक विवेचना

पितृहरुको तर्पणमा मनाइने वा गरिने यात्रा समस्तिरुपमा कार्ल मार्क्सको सिद्धान्तको जननि पनि यस्तै समाज हो।

सामाजिक राजनीतिक दर्शनमा, मार्क्सवाद उत्पादनका माध्यमहरूमा सामाजिक स्वामित्वबाट वर्ग विहीन समाज स्थापना गर्न संकल्प गर्ने कम्युनिष्ट विचारधारा हो। मौलिक मार्क्सवाद भनेको आर्थिक राजनीतिक र आर्थिक सिद्धान्तहरूको समूह हो जसलाई कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, भ्लादिमीर लेनिन र चिन्तकहरूले उन्नाइसौँ-बीसौं शताब्दीमा समाजवादको वैज्ञानिक आधार पुष्टि गर्न प्रस्तुत गरेका थिए ।

मार्क्सवादले मानव सभ्यता र समाजलाई दुई वर्गमा विभाजित भएको मान्छ – शोषक र शोषित । यो विश्वास गरिन्छ कि स्रोत र संसाधन सम्पन्न वर्गले जहिले पनि उत्पादनको स्रोतमाथि आफ्नो अधिकार राख्न प्रयास गर्छ र अर्को वर्गलाई निरन्तर बुर्जुवा विचारधाराको आडमा वञ्चित राखिन्छ । शोषित वर्गलाई यस षड्यन्त्रको जानकारी भइसकेपछि वर्ग संघर्षको भूमि तयार हुन्छ । वर्गविहीन समाज (साम्यवाद) स्थापना गर्न वर्ग संघर्ष एक अपरिहार्य र रोकथाम प्रक्रिया हो ।

यस्तै वर्गविहिन समाजमा जब वर्गीय राजनीति सुरु हुन्छन् तब त्यहाँ द्वन्दको सिर्जना हुन्छ । सामन्ती (शोषक)ले सर्वसाधारणलाई (शोषित) लाई स्रोतसाधनमा मात्र सीमित नभइकन त्यहाँ मनाउने पर्वहरुमा पनि उच्च वर्ग (सामन्ती/शोषक) ले कब्जा गर्छन् । र, उनीहरुको मात्र प्रचारप्रसार हुन जान्छ।

यँया: सँग यो सिद्धान्तको व्याख्या किन त ?
आइतबार उपाकुको दिन काठमाडौंमा घटेको घटनासँग यसलाई दाँजेर हेरौं । भित्री सहरमा यातायातका साधन निषेध गरिँदा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । घर पुग्न उनीलाई गाडी भेट्याउन हम्मेहम्मे पर्‍यो । कतिले त हिँडेर यात्रा गर्नुपर्‍यो । कतिले घण्टौं सडकमै बिताए। त्यसमाथि मुसलधारे वर्षाको कहर उस्तै।

उच्च पदमा आसिन सहभागी भएर उल्लासमयको रुपमा मनाउने दिन (यँया:को तेस्रो दिन) काठमाडौं उपत्यकामा बिदा दिइन्छ। त्यसदिन क्व:नेयाः (तल्लो टोल)मा रथ यात्रा हुन्छ। तर, अन्य दुई दिन रथयात्रा हुँदा त्यसमा कुनै बिदा हुँदैन।

वास्तवमा, यो पर्व काठमाडौंका रैथाने नेवाः समुदायको आधार पर्व हो । त्यसैले यसलाई स्थानीय विदामा सामेल गरेर दशैंमा जस्तो लामो विदाको व्यवस्था मिलाउनु पर्छ । ‘यँयाः’को यात्रामा जानुपर्नेहरुले यति बेला विदा लिन्छन् ।

वर्गविहिन समाजको आधारबाट निर्माण भएको यँयाः (यँ महिनाको यात्रा) अहिले वर्ग विशेषमा परिणत भएको देखिन्छ। जब यो यात्रा सुरु भयो तब वर्गीय तथा जातीय विभेद थिएन । यसबेला सबै वर्गका मानिसहरु सबै जातका मानिससँग सामुहिक रुपमा सबै स्थानमा परिक्रमा गर्छन् । यस्को निरन्तरता भने अझै रहिआएको छ। तर, वर्गीय विभेदले गर्दा सर्वसाधारणले भने दुःख पाउन थालेका छन् ।

उच्चपदस्तहरु उपस्थित नहुने उपाकु यात्रा भएकोले त्यसदिन बिदा दिइँदैन । तर, यो चाड मनाउनेहरुले भनसुन गरेर बिदा लिनुपर्ने हुन्छ। र, पर्वबारे जानकारी राज्यपक्षले सर्वसाधारणलाई पनि दिँदैन। अरुबेला मोबाइलमा थरि थरिको सूचना प्रवाह हुन्छन्, मेसेज पठाइन्छ, पीआरबिटीमा सूचना राखिन्छ। आइतबार पनि यस्तै, सूचना प्रवाह भइदिएको भए सायद सर्वसाधारणले सास्ती खेप्नु पर्दैन थियो होला। प्रशासकहरु आउने बेला ट्राफिक व्यवस्थापन चुस्त बनाइन्छ। तर, आइतबार ट्राफिक व्यवस्थापन फितलो भयो। जसकारण धेरैले जात्राका कारण आफ्नो यात्रामा कठिनाइ पुगेको बताइरहे। तर, वास्तवमा यो हरेक वर्ष हुने पर्व हो। त्यसका लागि ट्राफिक व्यवस्थापन मिलाउन सरकार पहिला देखि नै तयार हुनुपर्ने हो।

यसै त सरकार प्रति नकारात्मक धारणा बढ्दो छ। त्यसमाथि जनताले सास्ती खेप्नुपर्दा उनीहरुको क्रोद्ध पनि बुझ्नै पर्छ। यद्यपि, यस्तो जात्राले हाम्रो समाजलाइ वर्गबिहिन समाज सम्झना दिलाउँछ र दिइपनि रहन्छ । एकदिन फेरि यस्तै समाजको निर्माण होस् भन्ने कामना छ।

भवतु सब्ब मंगलं।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता