नेवार संस्कारमा आइसोलेसन र क्वारेन्टिन

प्रज्ञा शाक्य

नेवारहरूको विभिन्न संस्कारमा भाइरसबाट बच्न पहिलादेखि नै आइसोलेन र क्वाराइनटाइनमा रहने किसिमको चलन रहेको छ । हिजोआज कोभिड १८ विश्वमा अति नै डरलाग्दो किसिममा देखा परिरहेको छ । थाहा नै नपाउने गरिकन एकबाट अर्केमा सर्ने सरेर ज्यान नै लिने काम पनि भाइरसले गरिरहेको छ । भाइरस यसरी सर्न सक्दछ भनी नेवारहरूले धेरै व्यवहारिक संस्कृति पनि अपनाइ रहेको छ।

यो भाइरसबाट संक्रमित नहोस भनी हामीले पालन गर्ने नियममा नै आफूहरू सचेत रही सफासित हात धोएर, घरबाट ननिस्केर लकडाउन, क्वारेन्टाइन, आइसोलेसनमा रहेर, रोगको रोकथाम नभएसम्म दिन विताउनु हो।

क्वारेन्टाइन भनेको आफूले खाना खाएको भाँडाकुडा समेत अरूलाई छुन नदिइ आफैले धोइपखाली सचेत रही, नियममा रहनु हो । यसरी नै हाम्रो मृत्यु संस्कारमा पनि यस किसिमका नियममा रहनु पर्ने चलन छ।

हाम्रो संस्कारमा कसैको मृत्यु भएमा सो घरलाई अशुद्ध मानेर शुद्धी गर्ने कार्य गरिन्छ । मलामी लैजाँदा घरको पाखा मुनी ‘पाखाकु’ भनी गोबरको गुइथा राखी माटोको हाँडीमा पराल बालेर धुवाँ सहित मसानमा नपुगेसम्म धुवाँसहितको हाँडी बोकेर लाने गरिन्छ । यो पनि एक तरिकामा भाइरस नाश पार्ने विधि नै हो। मृतकको शरिरमा रहने भाइरस बाटोभरि कसैलाई नसरोस् भनी सावधानीपूर्वक मृत्यु संस्कार गरिन्छ।

मृत्यु हुनेको घरमा जानेहरू, मलामी जानेहरू, मृत्यु संस्कार गर्ने सबै परिवारका मानिसहरू हात पखालेर, आँखामा पानी सिन्चन गरेरमात्र आफ्नो घर प्रवेश गरिन्छ। यो चलन अहिले पनि रहेको छ। मृतकको शरिरमा रहेको भाइरस घर परिवारका मानिसहरूबाट सर्न सक्ने संभावना रहेकोले बाहिरबाट आएकाहरूलाई तिनीहरूले छोएको खाना ख्वाउन हुन्दैन भनी सचेत रहेको हुन्छ । मृतकका छोरीहरूले बाहिरबाट आएका मानिसहरूलाई सत्कार गरिरहेको हुन्छ । क्रियामा रहेका सबैलाई अलग्ग नै राखी खानपिन गराइ राखेको हुन्छ।

मृतकलाई दागबत्ति दिनेले नजिक रहेर दागिबत्ति दिंदा भाइरस सर्ने संभवना प्रवल रहेको हुन्छ । त्यसकारण दागबत्ति दिने व्यक्ति हाल क्वारेन्टाइनमा रहे झै आफै सचेत रही, अलग्ग रही खानपिन गर्ने भाँडाकुडा आफैले सफा गरेर कसैलाइ नछुई अलग्ग नै बसेको हुन्छ । कतिले त क्रियामा बस्ने भनी घर बाहिर नै खाना पकाउनेहरू पनि छन् । सातदिनसम्म नियम पालना गरेर नदीमा गएर कपाल खौरेर, नुहाई, नङ्ग काटेर, लुगा फेरेर शुद्धि गरीमात्र घर प्रवेश गरिन्छ।

घर परिवार शोकमा रहँदा सबै नदीमा गई नुहाइ धुवाइ गरेर घर प्रवेश गर्दछ । मृतक राखेको स्थानमा होम गरेर ‘क्वय्ल पनेगु’ भनी मृतकको कर्मकाण्ड गर्ने दागवत्ति राख्ने अनेक मृत्यु संस्कार गर्नेहरू होम संस्कारमा उपस्थित भई आगोमा हात सेक्नु पर्दछ । होम गर्दा विभिन्न किसिमको अन्नबाट निस्किने धुवाँले गर्दा सबै किसिमको भाइरस नास हुन्छ भन्ने विश्वास नै हाम्रो संस्कार हो। मृत्यु संस्कार हामीले तीन महिना, ६ महिना, वार्षिकी, द्वैवार्षिकी सम्मपनि पूण्य तिथिका दिन मृतकको घरमा होम गरेर मृत्यु संस्कारमा संलग्न व्यक्तिहरूलाई होममा हात सेक्न लगाइन्छ । जतिपनि हाम्रो हत्केलामा रहेका भाइरस यसरी नाश हुन्छ भन्ने विश्वास नेपाली संस्कारमा रहेको पाइन्छ।

हाम्रो संस्कारबाट थाहा पाउन सकिन्छ कि दुईवर्ष पछिमात्र मृतकका घरबाट भाइरस अन्त भएको विश्वास गरिन्छ। कुनै व्यक्तिको मृत्यु हुँदा हाम्रो संस्कार हामी सबैले सशक्त रूपमा सचेत भई पालन गर्नु पर्दछ भन्ने महसूस गर्नु पर्दछ । भाइरस कति खतरनाक हुन्छ भन्ने कुरा कोरोना भाइरसले देखाइसकेको छ।

हामीले व्यस्त जीवनमा संस्कारलाई बेवास्ता गर्नु हुन्दैन। बिरालो बाँधेर सराद्ध गर्ने भनी संस्कारलाई हेप्नु हुन्दैन । कुनैपनि संस्कारले हाम्रो जीवन यापनमा यथोचित सहयोग गरिरहेको हन्छ। संस्कार विना जीवन नरकजस्तै भोग गरिरहन पर्ने हुन्छ। संस्कारको महत्व बुझेर सचेत रही जीवन निवार्ह गर्न पर्दछ।

पहिला कोहीपनि विदेशबाट फर्किन्दा, तिनीहरूले नुहाई धुवाई गरी सुद्धि भएपछि मात्र पुजाकोठा र भान्छा कोठामा प्रवेश गराइन्छ । अनि ‘खालु बुटि’ वनस्पति औषधी पानीमा भिजाएर ख्वाउने चलन हामी नेवारहरूको रहेको छ। ये पनि बाहिर गई आउनेहरूमा भाइरस रहन्छ र त्यस भाइरसको नाश गर्नु पर्दछ भनी गरिएको हो। कोहि कोहित विदेशबाट फकिनहरू त्यस किसिमको भाइरसबाट संक्रमित भई जोर आएपछि मृतयु समेत हुने गर्दछ । यो पनि भाइरस संक्रमणबाट सुरक्षित रहन नेवार संस्कारको सचेतना हो।

कति कोरोना भाइरसबाट त्रसित भएर शिक्षा दिएर, वाध्य गरेर, तर्साएर नियममा रहन सचेत हुनुपर्ने ज्ञान दिए, मानिसहरूले पनि बुझे पालन पनि गरे। तर, हाम्रो संस्कारले दिएको ज्ञानलाई ज्ञान नै होइन भनी लापरवायी नै गरिरहन्छ । यस्लाई हामीले सशक्त रूपमा पालन गर्नु पर्दछ।

भाइरस कति खतरनाक हुन्छ भन्ने कुरा कोरोना भाइरस अगाडि आएर नै मानिसहरूको मनमा त्रास सहित कहिल्यै बिर्सिन नसक्नेगरि सामु आइदिएको छ । यसले को नेवार, को विदेश भनी भेदभाव गरिरहेको छैन । कसैलाई छोड्दैन त्यसकारण हामी हाम्रो मृत्यु संस्कारले भाइरस नास गर्नको निमित्त सचेत हुनु पर्दछ भन्ने पाठ सिकाइरहेको कुरामा महसूस गर्नु पर्दछ।

लाय्‌कू पाक्षिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *