मेट्रो संवाददाता
२६ माघ २०७६ १९:१६
राजेन मानन्धर
धेरैले बिर्सिसके होला — ६६ वर्ष भयो ढाकामा केही युवाहरुले आफ्नो मातृभाषाको सम्मान बिधान सभाबाट लिन खोजेको । अठार वर्ष भयो हामीले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सिकेको । मनाइरहेको पनि । यो त्यही दिन थियो जुन दिन आफ्नो मातृभाषालाई राज्यमा स्थापित गराउन बंगलादेशका युवाहरुले ज्यान दिए । यहाँ हामी यही दिनमा सरकारका पाउमा आफ्ना भाषामा कोरिएका एकएक गोटा कविता सुनाएर फर्कदै छौं ।
नेपालका भाषाहरु
हामीलाई नेपाली भएकोमा गर्व छ । यही गर्व देखाउन हामी बेलामौकामा सगरमाथाको वा बुद्ध जन्मेको देश भन्छौं । तर नेपालको जातीय विविधताको कुरा पनि निकाल्नु पर्यो भने हाम्रो निधार खुम्चिन्छ । सबै नेपाली भनेर भन्छौं, तर सबैको नेपाल भन्न हिच्काउँछौं । त्यसमा पनि सबै जातजातिको आफ्नो भाषा धर्म संस्कृति छ भन्नुपर्यो भने एक समुदायलाई आफ्नो पुख्र्यौली वा अपुताली नै हरेर लैजान्छ कि जस्तो त्रास हुन्छ, बौद्धिक भनिएका मानिसहरुमा समेत । त्यसैले त जेजस्तो परेपनि नेपालमा सयौं भाषाहरु बोलिन्छ भनेर विदेशमा नेपाली चिनाउन जानेहरुले कहिल्यै बोल्दैनन् । बोलेपछि ती भाषाहरु कहाँ छन् भनेर विदेशीहरुलो टोकिहाल्छन् र नेपालमा एउटा मात्र नेपाली भाषा छ भनेर विदेशीलाई घुमाउनेहरु अप्ठेरामा पर्छ ।
नेपालमा वा विदेशमा नेपालका भाषाहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्ने, भाषा विज्ञान पढाउने र पढ्ने बाहेक थोरैलाई थाहा भएको एउटा तथ्य — जुन कसैले मेटाउन चाहेर पनि सक्दैन — यो हो कि नेपालमा १२३वटा भाषाहरु बोलिन्छन् अनि त्यसका अनगिन्ती भाषिकाहरु पनि ।

सरकारको दृष्टिमा नेपालका भाषाहरु
पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका लगायतका सबै ससाना स्वतन्त्र राज्यहरु आफ्नो बनाउनु अगाडि यहाँका सबै राज्यहरुमा आफ्ै आफ्नै भाषाको स्वतन्त्र हैसियत थियो । कसैले कसैको भाषाको दास बन्नु परेको थिएन । जब एक बाहिरी समुदायका मानिसको हातमा राज्य सत्ता गयो, यहाँको भाषिक सन्तुलन बिग्रियो — यो स्थिति संसारका यस्ता कथित एकीकरणको मारमा परेका जुनसुकै देशमा पनि भएकै कुरा हो । केही वर्ष वा पुस्तासम्म त शाहहरुले पनि याहाँको स्थापित नेपालभाषालाई बिगार्न होच्याउन सकेन, तर साम्राज्यवादीहरुले काठमाडौं जस्तो राम्रो ठाउँ पाएपछि यसलाई निमित्यान्न पार्न यहाँको भाषामाथि हमला गर्न थाले, विशेष गरेर राणाहरुले देशको बागडोर सम्हालेपछि । यही हाल उपत्यकाका तामाङ, गुरुङ, मगर, थारु, लिम्बू र राई भाषाहरुको पनि भएको हुनुपर्दछ ।
विभिन्न नेपाली भाषाहरुमध्ये कम्तिमा पनि दशौं शताब्दी देखि लिखित रुपमा आएको यहाँको मौलिक लिपि भएको नेपालभाषा यहाँका शासकका आँखामा धुलो बनेर पसे, १९६३ सालदेखि यहाँको प्रमुख भाषा, जसको अध्ययन विना नेपालको इतिहास देखिँदैन, त्यही भाषालाई गैरकानूनी घोषणा गरे । व्यवस्था बदलियो, शासकहरु बदलिए तर राज्यको नेपालका भाषाहरुलाई शत्रुसमानको व्यवहार गर्ने नीतिमा परिवर्तन भएन । ४७ सालको संविधानले नेपालमा एउटामात्र प्रयोग गर्न लायकको छ भनेर देखायो । जसको फलस्वरुप काठमाडौं, धनुषा र राजविराजका हजारौं वर्षदेखि प्रचलनमा आएका भाषालाई सर्वोच्च अदालत स्वयम्ले आफ्नो अस्तीत्व जताएर अपराध गरेको भनी स्थापित गरिदियो ।
भन्नलाई कसैले बाँकी राखेनन् । कमसेकम ४६साल पछि जति चुनाव भए सबै चुनाव अगाडि बाँडिने घोषणा पत्रमा सबैले भाषाका कुरा गरेका छन् । सबै पार्टीका चुनावी पर्चामा नेपालको बहुभाषिकतालाई सम्मान गरेको पाइन्छ । तर अब कुनै त्यस्तो पार्टीको सक्कली अनुहार हेर्न बाँकी छैन जसले स्थानीय नेपाली भाषाहरु लाई गलहत्याएको नहोस् । बहुभाषिकतालाई कसैले खोपीमा राख्ने भनेका छन् कसैले यहाँ यहाँ प्रयोग गर्न पाइने भनेका छन् । तर उनै पार्टीहरु पछि कालान्तरमा एउटा नेपालीभाषाका विरुद्ध मुद्दा हाल्ने दहाल यज्ञनिधिका ऐजनहरु भएर उभिए । आधासय नेपालीहरुको लासमा टेकेर नयाँ संविधान आयो, देश संघीयतामा गयो तर स्थानीय भाषाहरुले सरकारका कागजपत्रमा आजसम्म टेक्न सकेको छैन । यो तथ्य जगजाहेर छ ।
पढेको थिएँ राष्ट्रिय भाषानीति सुझाव आयोग २०५०ले शिक्षामा राष्ट्रिय भाषालाई प्रयोग गर्न द्वैभाषिक शिक्षापद्धति लाग गर्नुपर्ने, औपचारिक र अनौपचारिक दुबै खालका शिक्षामा राष्ट्रिय भाषाहरुलाय प्रयोग गर्नुपर्ने, औपचारिक शिक्षामा माध्यम र विषयका रुपमा राष्ट्रिय भाषाहरुको प्रयोग गर्नुपर्ने र खासगरी प्राथमिक शिक्षा मातृभाषामा दिनुपर्ने सुझावहरु दिएको थियो । खै कहाँ गयो त्यो कागजको खोस्टा ?
नेपालमा भाषाहरुको प्रयोजन
नेपालका भाषाहरुका बारेमा पढेर, लेखेर, अध्ययन अनुसन्धान गरेर सयौं देशी विदेशीहरुले आफुलाई विदन साबित गराएका छन् । तर तिनीहरु कोही पनि सडकमा आएर भन्दैनन् नेपालका भाषाहरु मध्ये एउटा बाहेक अरु भाषाहरु घरभित्र कानेखुसी गर्न बाहेक बाहिर कतै काम लाग्दैन, आधिकारिक रुपमा अस्तीत्वमा छैनन् भनेर । नेपालका भाषाहरु कसैलाई डाक्टर प्रोफेसर बनाउने भाँडोबाहेक केही गर्न काम लाग्दैन ।

तपाइँ बिरामी हुनुभयो भने आफ्नो मातृभाषाबाट सरकारी अस्पतालको डाक्टरकहाँ मलाई यहाँ दुखेको छ भनेर भन्न पाउनुहुन्न, न्यायालयमा गएर न्याय पाउँ भनेर माग्न सक्नुहुन्न, प्रहरी प्रशासनमा ल्याएएका अभियुक्तले आफु निर्दोष भएको सुनाउन सक्नुहुन्न, आफ्नो भाषामा मात्र लेखेर तपाइँहरु संगठित भएको निस्सा समेत सरकारले दिँदैन, हजारौं वर्षदेखिको तपाइँको चालचलन, जात्रा पर्व, धर्म संस्कृति समेत अन्यहरुको भाषामा अुनवाद गरेर सुनाउँदै हिँड्न बाध्य छन् नेपालाका जनताहरु ।
जब आफ्नो छोराछोरीले पुर्खाको भाषा बोलेर दई पैसा कमाउने हुती राख्दैन, जब आफ्नो भाषाले चिच्याएको आफुले सरकारमा पठाएका कथित प्रतिनिधिले सुन्दैन, जब आफ्नो भाषामा मान्छे शिक्षित भएको दर्जा पाउँदैन, तब मानिसहरु चाहेर वा नचाहेर आफ्नो भाषिक पहिचानलाई सरकारी खोलामा बगाउन बाध्य हुन्छन् ।
संविधान संविधान भनेर अरबौं रुपैंया उडाइयो तर यही संविधान पनि एउटा भाषा बोल्नेका लागि भन्दा अन्यको लागि आफ्नो आमालाई आमा सरह माया गरौं भन्नेका लागि रद्दी कागज बाहेक केही भएन । कमसेकम भाषिक समानता र बहुभाषिकतालाई स्वीकोर्नहरुका दृष्टिकोणबाट यो संविधानले कानुनतः ११२ वटा भाषाको कत्लेआम गरेको छ । यसले मेरो आमालाई आमा भनेर राज्यमा उभिन दिएको छैन भने यसलाई मैले किन आफ्नो भनिहिँड्ने? देशका आधा भन्दा बढी जनसंख्याको भाषा कहाँ प्रयोग गर्ने भनेर कुनै कथित भाषा आयोगका लोकसेवा पास गरेका वा पार्टीका प्रतिनिधिलाई सोध्नुपर्ने?
नेपालमा मातृभाषा आन्दोलनहरु
मातृभाषा भनेको कसैका लागि केही होला नहोला तर उक्त भाषाभाषीका लागि प्राण समान हुन्छ । आमाले जसलाई काखमा राखेर जुन भाषा सिकाइएको हुन्छ त्यसलाई उसले आमा सरह माया गर्छ । यो संसारको नियमै हो । कसैलाई बोल्न नसक्ने बनाउन उसको जिब्रोबाट भाषा निकालिदिए पुग्छ । जनताले धेरै बोल्नथाल्यो भने शासक र सामन्तहरुले गर्ने पनि यही हो । शासकहरुलाई जनताले बोलेको मनपर्दैन, अनि उनीहरुको बोलीमाथि लगाम लगाउन उनीहरुका भाषामाथि असरकारीको छाप लगाइदिन्छ ।
राणा सरकारले १९६३मा यहाँको नेवाः भाषालाई गैरकानूनी घोषणा गरेपछि बल्ल नेवाःहरुले आफ्नो अस्तीत्वमाथि सरकारले कसरी धावा बोल्दैछ भन्ने बुझे र उनीहरुले एक किसिमको पुर्नजागरण नै गरे साहित्यमार्फत आफ्नो भाषाको अस्तीत्व बोध गराउने । सरकारले यो पचाउने कुरै भएन । १९९७सालतिर जुनबेला राणाशासनका विरुद्ध बोल्नेहरुलाई झ्ण्ड्याइको थियो, यसैबेलामा नेवाः भाषामा लेख्नेहरुले पनि राज्यको चरम यातना भोग्नुपर्यो । यसैबेला शुरु भएको नेवाः लेखकहरुमाथिको खानतलासी र धरपकडपछि फत्तेबहादुर सिंले जन्मकैद, सिद्धिचरण श्रेष्ठ र धर्मरत्न यमिले १८ वर्ष, चित्तधरले ६ वर्ष र धर्मादित्य धर्माचार्यले तीन महिनाको जेल सजाय भोग्नु पर्यो । नेपालमा यस नेपालको भाषामा पुस्तक, पत्रपत्रिका छाप्न मनाही गरेका कारण भारतको कलकत्ता र कालिम्पोङबाट छपाएर लुकाएर ल्याउनुपथ्र्यो, त्यही पनि बाटोमा समातेर जफत गरिदिन्थे ।

यो त भयो नेवाः भाषाको संघर्षको दिन । नेपालका अन्य भाषाभाषीले पनि आफ्ना भाषा जोगाउन संघर्ष गरे होलान्, जेलनेल सहे होलान् । यसको राम्रो जानकारी दिन नसकिएपनि यकिन गरेर भन्न सकिन्छ, नेपालका कुनै पनि भाषाले गएको कमसे कम डेढसय वर्ष बिच राम्रोसँग सास फेर्न पाएन । सरकारमाथि भाषाहत्याकोे बात त लागेन तर कतिवटा नेपाली भाषाहरु बिलाइसके भनेर लेखाजोखा पनि गर्न सकिएको छैन ।
अब मातृभाषादिवसको औचित्य
आफ्नो मातृभाषा सबैलाई प्यारो हुन्छ । हुनुपर्छ भन्नुपर्ने अवस्था छ । तर यहाँ हामी आफ्नो आफ्नो मातृभाषा भएका नेपालीहरुको कमजोरी भनुं कि आफ्नो भाषालाई मात्र नेपाली देख्नेहरुको दादागिरी भनुं, यहाँ आफ्नो मातृभाषालाई माया गर्नेहरुको कमी देखिन्छ, कम हुँदै गइरहेको पनि तथ्यांकले औंल्याउँछ । कुनै सर्भे नै पनि गर्नु पर्दैन, टोल छिमेक चहार्यो भने, डाँडावारि डाँडापारि मात्र सोधिहेरेपनि यही थाहा हुन्छ ।
कारण हजार हुन्छन् । कारणको लेखेजोखा गरेपनि नगरेपनि राज्यले तिमीहरु आफ्नो आफ्नो् भाषाको संरक्षण गर्न स्वतन्त्र छौं तर यो राजाको भाषाको संरक्षण गर्न भने तिमीहरुले कर तिरेको पैसा नै बगाउने हो भनेकोले सरकार र गैरसरकारी निकायहरुले कनिका छरेको प्राथमिक तहमा वा माध्यमिक तहमा, अझ उच्चशिक्षामै पनि मातृभाषाको शिक्षा दराजमा धुलो बटुलेर बसिरहेको देख्न सुन्न सकिन्छ ।
अहिले भरखरै देशकोे राजधानी भनिने काठमाडौं महानगरपालिकामा बर्षौंदेखि प्रचनलमा राखेको र अहिले श्रृंगारकै रुपमा भएपनि राखिएको नेपालको मौलिक रञ्जना लिपिलाई एकजना भरखर सरुवा भइआएका एकजना कर्मचारीले एक्कासी कसैलाई सुँइको समेत नदिइ हटाए । यो त कस्तो विरोध हुँदोरहेछ भनेर नसा छामेको मात्र हो । लोकसेवाले अहिले पनि दहाल यज्ञनिधिहरुलाई नै पास गरेर जनताका बिचमा शासन गर्न पठाइरहेको छ । यस्तो अवस्थामा पनि अन्य १२२ वटा भाषालाई नदुख्नु कम्ती दुखलाग्दो विषय होइन । हामी जहीँ तहीँ पहिचानका कुरा गर्छौं, हामी अधिकार खोज्छौं, जुन मनासिब मात्र होइन अत्यावश्यक नै छ । तर पहिचानको कुरा गर्दा गर्दै मातृभाषाको कुरा गर्नुपर्यो भने बोल्ने मान्छे धेरै हुँदैन । यो हाम्रो तीतो यथार्थ हो ।
हामीलाई आफ्नो आमाको माया लाग्छ भने पहिला हामीलाई हाम्रो मातृभाषा प्यारो छ भनेर आफुलाई विश्वास दिलाउनु पर्यो, अनि सरकारसँग लेनदेनको कुरा चल्छ । पार्टीका कोटाबाट जनजातिको आन्दोलन अब नहुने हो भने मातृभाषाको आन्दोलनले गति लिने सम्भावना छ । कहिले कति आन्दोलन भन्ने त तपसिलका कुरा भए ।
जब राज्य नै भाषिक सम्राज्यवादी भएर तेर्सिन्छ, जनता कि त भाषिक दास भएर आफ्ना बच्चाहरुको जिब्रो छिनालेर सरकारी भाषाको लिटो खुवाउनु पर्यो कि सडकमा तेर्सिएर आफ्नो मातृभाषाको अस्तीत्वका लागि बलिदन हुन तयार हुनुपर्यो । अहिलेको नेपालको संविधानले एउटा भाषालाई बाहेक अरुलाई सक्छौं भने मरेर देखाओ भनेर चुनौती दिएकै हो ।
बंगलादेशमा भएको भाषिक अधिकारको आन्दोलनलाई स्मरण गर्ने दिन आएको छ । याद गरौं २१ फेब्रुअरी १९५२का दिन ढाकामा बिधान सभालाई केही आफ्नो मातृभाषालाई आमा सरह मान्नेहरुले हामी उर्दु भाषाको थिचोमिचो सहन्नौं भन्ने ज्ञापनपत्र मात्र दिन खोजेका थिए । आफ्नो भाषालाई बाहेक अरुको भाषालाई भाषा नगर्ने उर्दुभाषीहरुका पुलिसले ती आन्दोनलकारीहरु माथि गोली चलाए, जसमा परेर कयांै मानिसहरु मारिए । आफ्नो भाषाका लागि ज्यान दिए तर अर्काको भाषाको थिचोमिचो सहेनन् बीर सपुतहरुले । रगतको मुल्य कायम भयो, उनीहरुले भाषा मात्र मागेका थिए, यसको फलस्वरुप सिंगो स्वतन्त्र बंगलादेश पाए उनीहरुले । अन्तर्राष्ट्रिय मातृभाषा दिवसले सिकाएको यही हो, आफ्नो भाषाको अस्तीत्वको लागि लड । लड्ने कि जोगमेहर भएर सत्ताले फालेको सरकारी भाषामा रमाउने, आफ्नो आफ्नो कुरा । तर यो अन्तर्राष्ट्रिय मातृभाषा दिवस भनेको सरकारी भाषामा सञ्चालन गरिने कार्यक्रममा फगत एउटा कविता, त्यो पनि आफ्नो भाषा बाहेक नजनाको भाषा नबुझ्ने सरकारी कारिन्दाहरुलाई सुनाउन आएको थिएन । पक्कै थिएन ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


