
नेवारले मात्रै पढ्ने र बोल्ने हो र नेपालभाषा ?
साउनको महिना। हरिया चुरापोते किन्न मानिसहरुको भिड लाग्छ काठमाडौंको इन्द्रचोकमा। आकाश भैरव अघि रहेको 'इन्द्रचोक कश्मिरी बजार' बिहानैदेखि व्यस्त रहन्छ यो बेला सिजनमा।
अरु महिनापनि ग्राहकको कमी हुँदैन। सँगै रहेको वटु क्षेत्रमा हुर्किए त्यहाँ व्यापार गर्दै आएका मुसलमान समुदाय। अहिले शहरीकरणसँगै नेवारहरुसँगै त्यहाँका मुसलमान उनीहरु पनि यत्रतत्र छरिए। घर नभएपनि त्यहाँ हुर्केका मुसलमानहरुले इतिहासको जग छाडेनन्। उनीहरुलाई इन्द्रचोकसँग जोडिरह्यो भाषाले। नेपालभाषाले।
'इन्द्रचोक कश्मिरी बजार' मा ख्वाजा असद शाहको चुरापोतेको बजार छ। काठमाडौंमा नै जन्मेका ख्वाजा मामाघर वटुमा हुर्के। रैथाने नेवार समुदायको घना बस्तीमा हुर्केका उनी नेवारी कला संस्कृतिसँग घुलमिल छन्। नेवारहरुकै बीच उठबस। त्यसैले पनि नेपाल भाषामा उनको राम्रै पकड छ। उनी जस्तै त्यहाँ पुस्तैनी पसल भएकाहरु अधिकांश वृद्धवृद्धाहरु नेपालभाष...