वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण

वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण

मेट्रो संवाददाता

२२ जेठ २०७८ २१:११

विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो । साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नायिका दीपाश्री निरौला, नायक पूर्णविक्रम शाहलगायत ४० अभियानकर्मीको सक्रियता थियो ।

विश्व वातावरण दिवसका अवसरमा आज मेची महाकाली सफाइ अभियानको आह्वानमा ६० स्थानमा वृक्षरोपणसमेत गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोजी गरी उद्यान बनाउने अभियान चलाइएको जानकारी दिनुभयो ।

वनसचिव कँडेलले आगामी वर्ष देशभर वृक्षारोपणका लागि बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले काठमाडौँ उपत्यकाका नदी किनारमा वन मन्त्रालयसँग सहकार्य गरेर वृक्षरोपण गरिने जानकारी दिनुभयो ।

पूर्व मुख्यसचिव पौडेलले आठ वर्षअघि देखि नै वृक्षरोपणलाई नियमित रुपमा गरिँदै आएको सुनाउनुभयो । विष्णुमती सफाइको ३५४औँ हप्तामा नदी किनारस्थित टोखा नगरपालिका–९ शिवमन्दिर क्षेत्रमा सफाइसहित वृक्षरोपण गरिएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर कपुर, बैँस, जामुन जातका ३० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । वृक्षरोपण कार्यक्रममा विभिन्न टोल सुधार समितिका प्रतिनिधिको सक्रियता थियो ।

यसैगरी माथिल्लो क्षेत्रको विष्णुमती सफाइ अभियानले पनि नदी किनारस्थित धनेश्वर क्षेत्रमा वृक्षरोपण गरेको अभियानकर्मी रामकुमार श्रेष्ठले सुनाउनुभयो । मनोहरा किनारमा १०० बिरुवा गुर्जो रोपण यसैगरी मनोहरा सफाइका क्रममा नदी किनारमा गुर्जोका १०० बिरुवा रोपण गरिएको छ ।

निःशुल्क रुपमा गुर्जोका बिरुवा र यसबाट बनेका सामग्री वितरण गर्र्दै आउनुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराउनुभएको हो । राजलवटले गत वर्ष पनि देशभर निःशुल्क गुर्जोका बिरुवा र सामग्री वितरण गर्नुभएको थियो । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि अभियानकर्मी राजलवटले गुर्जाेबाट बनेको औषधि निःशुल्क वितरण गर्दै आउनुभएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने भएकाले कोरोना महामारीमा गुर्जोको माग बढेको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन्, तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा गुर्जो नेपालीका लागि रोग प्रतिरोधीलगायत विभिन्न रोगमा औषधिको काम गर्ने जनाइएको छ ।

विसं २०७० जेठ ५ गतदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा यसका सहायक नदीसहित चक्रपथका विभिन्न स्थान गरी २० ठाउँमा स्वतःस्फूर्त रुपमा सफाइ अभियान शुरु भएको छ । सातामा दुई देशका लागि स्वयंसेवा भन्ने नारासहित प्रत्येक हप्ता शनिबार बिहान ७ः०० देखि ९ः०० बजेसम्म सफाइ हुँदै आएको छ । महाअभियान शुरु भएपछि जाडो, गर्मी, चाडपर्व, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि प्रत्येक हप्ता सफाइ भइरहेको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यकाबाहिर समेत गरी १०७ स्थानमा सफाइ अभियान जारी रहेको जनाइएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता