शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

मेट्रो संवाददाता

२६ पुष २०७८ १४:०८

चितवन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो ।

मन्त्रालयले पूर्व सम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा आठ बिघा, १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी आज आवश्यक कागजपत्र मन्त्रालयमा पेस गरिँदै छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो । सहमति पत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमति प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको छ ।

सहमति पत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित पेस गरिने दाहालले जानकारी दिनुभयो । देशकै केन्द्र भागमा रहेकाले चितवन उपयुक्त हुने सरोकारवालाको भनाई छ । महानगर प्रमुख दाहालले भन्नुभयो, “शिक्षामन्त्री ज्यूले राजधानी पछिको मेडिकल सिटी र देशको मध्यभागमा पर्ने भएकाले भरतपुर उपयुक्त हुन्छ भन्नेमा हुनुहुन्छ ।” स्वयम् मन्त्री र सरोकारवालाले पनि भरतपुरलाई उपयुक्त ठानेका छन् ।

महानगरपालिकामा शिक्षक अस्पताल बनेपछि यो शिक्षण अस्पताल हुने उहाँको भनाइ छ । यसले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । महानगरले प्रस्ताव गरेको क्षेत्र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । स्वयम् प्रचण्डसमेत भरतपुरमा शिक्षक अस्पताल बनाउने कुरामा सकारात्मक भएर लाग्नुभएको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।

भरतपुरमा क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्वती शाह ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।” शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरू राम्रो छ ।” समितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गर्दै छ । केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको उहाँले जानकारी दिनुभयो । समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौँमा समेत जग्गा हेरेको थियो ।

समितिले जग्गा हेर्नु पूर्व पेसागत सङ्घसङ्गठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिनुभयो । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाइएको जनाइएको छ । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै जग्गा एकै ठाउँमा मिलेको भरतपुर उपलब्ध गराउन सहमत भएको जानकारी दिनुभयो । सबै हिसाबले भरतपुर उपयुक्त हुने उहाँ बताउनुहुन्छ । शिक्षा मन्त्रालयले सुरुमा ३०० शय्या र क्रमशः शय्या थप गर्दै लैजाने योजना बनाएको छ । अस्पतालसँगै व्यवस्थित कुरुवा घर बनाइँदै छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता