मेट्रो संवाददाता
१४ माघ २०७६ १३:३७
सिथि नखः वर्षको अन्तिम पर्व भएकाले यसलाई ‘म्ह्याय्मचा नखः (छोरी पर्व)’ भन्ने गरिन्छ । गठेमंगलचाहिँ वर्षको पहिलो पर्व भएकाले त्यसलाई ‘कायमचा नखः (छोरा पर्व)’ भनिन्छ । पर्वहरूमा गरिएको यो लैंगिक विभाजनलाई आधुनिक दृष्टिकोणले लैंगिक विभेदको रूपमा पनि व्याख्या गर्ने गरिएको छ ।
सुरेश किरण
अबको करिब दुई महिना उपत्यका जात्रापर्वविहीन हुनेछ । उपत्यकामा मनाइने सम्पूर्ण चाड, पर्व, जात्रा, मेला अब दुई महिनाका लागि स्थगनमा पर्ने छन् । यसलाई उपत्यकाको सांस्कृतिक शून्य–कालभन्दा शायद फरक नपर्ला ।
उपत्यकामा हरेक वर्ष गठेमंगलका दिन पर्व सुरु हुन्छ, सिथि नखःका दिन समाप्त हुन्छ । गएको शुक्रबार उपत्यकावासी नेवारले सिथि नखः पर्व मनाए । यो पर्वपछि जात्रापर्वको एक वर्षे चक्र समाप्त हुन्छ । त्यसपछि गठेमंगलका दिन नयाँ चक्र सुरु हुन्छ । यसलाई जात्रा पर्वको ‘नयाँ वर्ष’ भन्दा फरक नहोला । यो वर्षको गठेमंगल (गथांमुगः) साउन १६ गते आइतबार परेको छ ।
नेपाल कृषिप्रधान मुलुक हो । उपत्यकावासीको सामाजिक जीवन पनि कृषिमा आधारित छ । त्यसैले यहाँका सांस्कृतिक पर्व पनि कृषिकार्यकै वरिपरि घुमिरहेका हुन्छन् । अहिले रोपाइँको मौसम सुरु भएको छ । कृषिको सबैभन्दा महŒवपूर्ण समय रोपाइँ नै हो । यो समय भनेको चाडपर्व मनाउने वा जात्रा चलाउने होइन । सबैजना रोपाइँमा व्यस्त हुनुपर्ने भएकाले जात्रापर्व मनाउने फुर्सद पनि कसैलाई हुँदैन । त्यसैले यो बेला सम्पूर्ण जात्रा पर्व स्थगन गरिन्छ । सिथिनखःलाई रोपाइँअघिको अन्तिम पर्व मानी त्यसपछि कुनै पनि पर्व मनाउने गरिँदैन ।
सिथि नखः यो वर्षको अन्तिम पर्व भएकाले यो वर्ष गर्न नभ्याएको सम्पूर्ण धार्मिक कार्य यही दिन सम्पन्न गरिन्छन् । खासगरी परिवारका सम्पूर्ण सदस्य एकै ठाउँ बसेर मनाइने दिगु पूजा (देपुजा) यही दिन सकाउने गरिन्छ । देपूजा मनाउने आ–आफ्नो दिन तोकिएको हुन्छ । केही गरी उक्त दिन देपूजा गर्न सकिएन वा देपूजाको तिथि बिर्सियो वा आफ्नो दिगुद्यः (कुलदेवता) कहाँ छ थाहा छैन वा देपूजा गर्ने पारिवारिक चलन हराइसकेको रहेछ भने सिथि नखःकै दिन देपूजा गरी त्यसको पूर्ति गरिन्छ । यसरी यो एक किसिमले आ–आफ्नो कुलपूजा (देपूजा) समायोजन गर्ने दिन पनि हो । र, सम्पूर्ण चाडपर्वको ‘क्लोजिङ’ पनि ।
रोपाइँ सुरु भएपछि सम्पूर्ण ध्यान र समय खेतमै केन्द्रित हुन पुग्छ । घरमा ध्यान दिन सकिँदैन । त्यसैले रोपाइँको बेला घरमा पानीको समस्या नहोस् भनी सिथि नखःकै दिन टोल–टोलमा इनार सफा गर्ने काम पनि सम्पन्न गरिन्छ । त्यतिबेला पानीको राम्रो स्रोत भनेको इनार नै थियो । साथै पानीका अन्य स्रोत ढुंगेधारा, मुहान, कुवा (बुंगाः) आदिलाई पनि पूजा गरिन्छ । पानीका यी स्रोतलाई नागपूजा जसरी नै पूजा गरिन्छ । रोपाइँका बेला शरीर स्वस्थ हुनु जरुरी छ । पानीका कारण बिरामी हुन नपरोस् भनेर पनि रोपाइँको ठिक्क सामुन्ने पानीका सम्पूर्ण स्रोत सफा गर्ने यो चलन गरिएको हुनपर्छ । अहिले पनि नेपालमा फोहर पानीका कारण विभिन्न रोगव्याधीले दुःख दिने गरिरहेकै छ । पानीजनित रोगबाट बच्नुपर्ने मानसिकता उपत्यकावासीमा त्यतिबेलै विकसित भइरहेको रहेछ । यसरी सिथि नखःका दिन इनारलगायत पानीका स्रोत सफा गर्ने भएकाले पछिल्लो समय यो दिनलाई ‘पानी दिवस’ को रूपमा मनाउने चलन पनि सुरु भएको छ ।
सिथि नखःका दिन उपत्यकामा एउटा जात्रा पनि गर्ने चलन थियो, जो अहिले करिब–करिब लोपोन्मुख भइसकेको छ ।
उपत्यकावासी नेवारहरू हरेक पर्वमा एक–एक अलग्गै परिकार बनाई खाने गर्छन् । यो पनि नेवार पर्वको एउटा छुट्टै विशेषता हो । सिथि नखः पर्वमा विभिन्न प्रकारका बारा (वः) खाने गरिन्छ । सिथि नखःपछि रोपाइँको तयारी सुरु हुने भएकाले यो दिन शरीरलाई तागत दिन परिकार बनाएर खाने गरिन्छ । त्यसैले यो दिन खासगरी मास, मुँग र अरू अन्नको बारा (वः) बनाई खाने÷खुवाउने गरिन्छ । मास र मुँग शरीरलाई अत्यधिक पौष्टिक तŒव प्रदान गर्ने खाद्यान्न हुन् । सिथि नखःको दिन यस्ता खानेकुरा खानुको अर्थ रोपाइँका लागि शरीरलाई स्वस्थ राख्नु हो । वा भनौं रोपाइँका लागि शक्ति सञ्चय गर्नु हो । यसरी शुद्ध पानी र पौष्टिक खाद्यान्नले शरीरलाई स्वस्थ र निरोगी बनाउन मद्दत गर्छ ।

शरीरलाई स्वस्थ बनाइराख्न केवल पानी र खाना मात्र स्वस्थ भएर पुग्दैन । मानसिक रूपले पनि तनावमुक्त र स्वच्छ हुनु जरुरी छ । यसका लागि रोपाइँकै बेला मात्र गाइने विभिन्न रोपाइँ गीत पनि सिर्जना गरिएका छन् । रोपाइँ कार्यलाई मनोरञ्जनपूर्ण बनाउन यतिबेला यस्ता रोपाइँ गीत गाउने चलन छ । त्यसो त रोपाइँ गीत देशैभरि विभिन्न जातजातिमा आ–आफ्नै किसिमले गाउने चलन रहेको पाइन्छ । उपत्यकाका नेवार समुदायमा पनि आफ्नै मौलिक रोपाइँ गीत रहेका छन् । सिथि नखःपछि रोपाइँ गीत गाउने चलन सुरु हुन्छ । यो भन्दा अघिसम्म घातुगीत गाइने गरिन्छ । नेवार जाति रोपाइँ गीतमा पनि अत्यन्तै सम्पन्न मानिन्छ । नेवाः संगीतमा रोपाइँकै मात्र अलग्गै विधाजस्तै थुप्रै गीत छन् । तीमध्ये कतिपय मायाप्रीतिका, कतिपय दुःखपीडाका र कतिपय यौनजनित अश्लील खालका पनि छन् । यस्ता गीत गाउँदै रोपाइँ गर्दा थकान नहुने र हाँसखेलमै काम सकिने हुन्छ ।
सिथि नखःपछि खेतमा बाहेक अरूतिर भने कुनै पनि प्रकारका मनोरञ्जनात्मक कार्य गरिँदैन । जात्रा पर्व मात्र होइन, कुनै पनि प्रकारको रमाइलो र मनोरञ्जन गर्ने कार्य पनि गरिँदैन । विभिन्न पर्वमा बजाउने विभिन्न प्रकारका वाद्यवादन पनि सिथि नखःपछि थन्क्याइन्छ । बाजा बजाउने गुठीका वाद्यवादन राख्ने अलग्गै ठाउँ बनाएका हुन्छन् । सिथि नखःपछि धिमे, धाः, भुस्याः, खिं आदि सम्पूर्ण वाद्यवादन थन्क्याइन्छन् । यो अवधिभरि कुनै पनि बाजा बजाउन सिकाउने प्रशिक्षणको काम पनि गरिँदैन । यतिबेला कुनै पनि वाद्यवादन बजाउनुलाई पनि अपशकुन मानिन्छ । बाजा नै नबज्ने भएपछि जात्रा पर्व मनाउने कुरा पनि भएन ।
सिथि नखः वर्षको अन्तिम पर्व भएकाले यसलाई ‘म्ह्याय्मचा नखः (छोरी पर्व)’ भन्ने गरिन्छ । गठेमंगलचाहिँ वर्षको पहिलो पर्व भएकाले त्यसलाई ‘कायमचा नखः (छोरा पर्व)’ भनिन्छ । पर्वहरूलाई गरिएको यो लैंगिक विभाजनलाई अहिले आधुनिक दृष्टिकोणले लैंगिक विभेदको रूपमा पनि व्याख्या गर्ने गरिएको छ ।
यसरी सम्पूर्ण जात्रा पर्वको थान्कोमान्कोपछि सबैको पूरा ध्यान रोपाइँमा केन्द्रित हुन पुग्छ । रोपाइँलाई उपत्यकावासी केवल एउटा कृषिकर्मका रूपमा मात्रै लिँदैनन् । यसलाई पनि एउटा सांस्कृतिक एवं धार्मिक अनुष्ठानमा बाँधेर सम्पन्न गर्ने गरिन्छ । रोपाइँका बेला भूतले जस्तै कहिल्यै थकान नहुने गरी काम गर्नुपर्छ र घरलाई सुरक्षित गर्नुपर्छ भनी घरघरमा भूत भिœयाउने चलन पनि छ । वैशाख संक्रान्तिका दिन घरमा भूत भिœयाउने अनुष्ठान गरिन्छ । यसरी भित्रिएको भूतले रोपाइँ अवधिभर कहिल्यै थकान नलगाउने र घरलाई पनि सुरक्षित गर्ने विश्वास गरिन्छ । किनभने रोपाइँ अवधिभर घरको हेरचाह गर्ने, सरसफाइ गर्ने फुर्सद कसैलाई मिलेको हुँदैन । यसरी भिœयाएको भूतलाई रोपाइँ कार्य सकिएपछि पन्छाउने गरिन्छ । त्यो भूत पन्छाउने पर्व भनेको गठेमंगल हो, जो उपत्यकाका नेवार जातिले मनाउने पर्वमध्येको पहिला हो ।
सिथि नखःका दिन उपत्यकामा एउटा जात्रा पनि गर्ने चलन थियो, जो अहिले करिब–करिब लोपोन्मुख भइसकेको छ । अहिले काठमाडौंको जैशीदेवलमा मात्रै सीमित रहन पुगेको त्यो जात्रा हो कुमार देवताको जात्रा । कुमार भनेको त्यो देवता हो, जसलाई नेवार समुदायले गणेशलाई भन्दा पहिले पूजा गर्दछ । कुमारको जात्रा गर्दा उनलाई घैंटोबाट पानी खन्याई स्नान गराउने चलन छ । त्यसरी स्नान गराउँदा माथिबाट बगेको पानीको धार पहिले जतातिर लाग्छ, वर्षा पनि पहिले त्यही दिशातिर सुरु हुन्छ भन्ने विश्वास छ ।
यसरी रोपाइँ कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्न उपत्यकाका नेवार समुदायले आफ्ना सम्पूर्ण जात्रापर्वलाई स्थगनमा राख्छन् । र, रोपाइँ सकिएपछि त्यसलाई फेरि खुल्ला गर्छन् । यो कृषिमा आधारित संस्कृतिको मौलिक पक्ष हो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


