मेट्रो संवाददाता
१४ माघ २०७६ १४:२४
अत्यन्त गुह्य कुराहरू काष्ठमण्डपसँग जोडिएका कारण यसको निर्माणमा ती कुरा छुटाउन नहुने विद्वानहरूको जिकिर छ ।
काठमाडौंको मध्यभागमा ठडिएको काष्ठमण्डप ढलेपछि यसको झन् बढी चर्चा हुन थालेको छ । यो कहिले बनाइयो ? कसले बनाए ? किन बनाए ? यो वास्तवमा अझै पनि विवाद र बहसको विषय बनिरहेको छ ।
नेपालमा शायदै त्यस्तो कुनै इतिहासकार होला, जसले काष्ठमण्डप अर्थात् ‘मरु सतः’ बारे लेखेको छैन । बाबुराम आचार्य, धनबज्र बज्राचार्य, नरहरिनाथ, नयराज पन्त, डा. महेशराज पन्त, दिनेशराज पन्त, डा. जगदीशचन्द रेग्मी, डा. साफल्य अमात्य, यज्ञपतिमान बज्राचार्य, रमेशजंग थापा, सुरेन्द्रमान श्रेष्ठ आदि सबै नाम चलेका इतिहास र संस्कृतिका लेखकले काष्ठमण्डपबारे आ–आफ्नो हिसाबले अन्वेषण गरेका छन्, लेख लेखेका छन् र दाबी पेस गरेका छन् ।
काष्ठमण्डपबारे यति धेरै इतिहासकारको मथिंगल घुम्नुको कारण यसको इतिहास, वास्तु वा संस्कृति मात्र होइन । यो त्यही काष्ठमण्डप हो जसको नामबाट राजधानी ‘काठमाडौं’ को न्वारान गरिएको छ । काष्ठमण्डपको इतिहास नै काठमाडौंको पनि इतिहास हो । काष्ठमण्डप नछिरीकन काठमाडौं भेट्न सकिँदैन । त्यसैले इतिहासकारहरू अहिले भग्न काष्ठमण्डपको भूसमा पनि ‘काठमाडौं’ खोज्ने प्रयास गरिरहेका छन् ।
केही वंशावलीमा काष्ठमण्डप सत्रौं शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल (सन् १६२१–१६४१) ले बनाएको भनी लेखिएको रहेछ । लक्ष्मीनरसिंह मल्ल राजा प्रताप मल्लका पिता हुन् । तर, लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको जीर्णोद्धार मात्रै गरेका हुन्, यसको निर्माण त त्योभन्दा पनि सयौं वर्षअघि नै भइसकेको थियो भन्ने तथ्य वि.सं. २००४ सालमै प्रकाशित भइसकेको रहेछ । तैपनि विभिन्न पाठ्यपुस्तक र पर्यटनसम्बन्धी पुस्तिकामा अहिले पनि लक्ष्मीनरसिंह मल्लको नाम हटेको पाइँदैन ।
विभिन्न समयमा पाइएका ऐतिहासिक दस्तावेजले भने काष्ठमण्डपको निर्माण लक्ष्मीनरसिंह मल्लभन्दा करिब ६०० वर्षअघि नै भइसकेको प्रमाण दिएका छन् । यसरी सरसर्ती हेर्दा काष्ठमण्डपले केही नभए पनि हजारदेखि १२ सय वर्षको लामो इतिहास बोकेको प्रस्ट देख्न सकिन्छ ।
काष्ठमण्डप आफंैमा एउटा अनौठो संरचना हो । नेपालभाषामा यसलाई ‘मरु सतः’ भनिन्छ । ‘सतः’ भन्नाले पाटी वा सत्तल भन्ने बुझिन्छ तर यो अरू पाटीजस्तो सामान्य खालको भने छैन । यो एकदमै खुला भएकाले अरू सत्तलमा जस्तो मान्छे सुत्न खासै मिल्दैन । यहाँभित्र गोरखनाथदेखि विभिन्न भैरव र गणेशका मूर्ति छन् तर देवताको मूर्ति भए पनि यो मन्दिर होइन । मरु सतः निर्माण भएको बेला यसभित्र कुनै पनि मूर्ति थिएन । कुनै मूर्ति वा वस्तु नभएका कारणले नै यसलाई ‘मरु’ अर्थात केही नभएको ‘सतः’ भनिएको हो भन्नेहरू पनि छन् । उनीहरूका अनुसार यो मरु सतःको नामबाटै सतः रहेको ठाउँको नाउँ मरु टोल, सँगै रहेको गणेशको नाम मरु गणेश, मरुहिटी, मरुबही आदि रहन गएको हो ।
केही चाहिँ ‘मण्डप’ शब्द नै अपभ्रंश भई ‘मरु’ बन्न गएको तर्क पनि राख्छन् । तर काष्ठमण्डपको निर्माणमा पूर्णतया तान्त्रिक विधि अपनाइएको थियो भन्ने मत राख्ने विद्वानहरू भने ‘मरु’ शब्द ‘मेरु’ बाट आएको दाबी गर्छन् । उनीहरूका अनुसार काष्ठमण्डपको निर्माणमा अत्यन्तै गुह्य खालका सूक्ष्म विधि अपनाइएका छन्, जसलाई प्राविधिक भाषामा ‘मेरु’ भनिन्छ । अत्यन्त गुह्य कुरा काष्ठमण्डपसँग जोडिएको कारणले यसको निर्माणमा ती कुरा छुटाउन नहुने पनि उनीहरूको जिकिर छ ।
काष्ठमण्डपबारे धेरैले विश्वास गर्दै आएको एउटा जनविश्वास के हो भने यो मण्डप एउटै रूखको काठ प्रयोग गरी बनाइएको हो । रूख यति ठूलो थियो कि त्यसबाट पूरा काष्ठमण्डप बनाइसक्दा पनि काठ सकिएन । बाँकी रहेको काठबाट काष्ठमण्डपको छेउमै अर्को एउटा सत्तल पनि बनाइयो, जसलाई ‘सिँल्यं सतः’ अर्थात ‘बाँकी रहेको काठको सत्तल’ भनिन्छ । यसपछि पनि बाँकी रहन गएका काठका टुक्राटाक्रीहरू जम्मै यी दुई सत्तलको बीचमा एउटा खाल्डो खनी गाडिएको थियो । त्यसपछि खाल्डोमाथि एउटा डबली बनाइयो । त्यसलाई मरु गःकुटी भनिन्छ । केही गरी काष्ठमण्डप मर्मत वा जीर्णोद्धार गर्नुप¥यो भने त्यही खाल्डोबाट पुरानै काठ झिकेर प्रयोग गर्नुपर्छ भन्ने जनकथन पाइन्छ ।
काष्ठमण्डप बनाउँदा प्रयोग गर्नुपर्ने काठ जम्मै नजिकैको एउटा बौद्ध बहालमा राखिएको रहेछ । त्यो बहाललाई अहिले पनि ‘सिँखंमू बहाः’ भन्ने गरिन्छ । नेपालभाषामा ‘सिँ’ को अर्थ काठ हुन्छ, ‘खं’ को अर्थ डंगुर । यो बहाल अहिले कुमारी चोकसँगै जोडिएर रहेको छ ।
हरेक वर्ष भाद्र कृष्णपक्ष त्रयोदशीका दिन मनाइने पञ्चदानका बेला यही काष्ठमण्डपमा बसी अन्न दान गर्ने एउटा गुठी छ जसलाई ‘तःचतं गुठी’ भनिन्छ । त्यो गुठीले उक्त दिन धान वा चामल अन्न दान गर्दा प्रयोग गरिने काठको डाडु–पन्युसमेत त्यही कल्पवृक्षको काठबाट बनाइएको हो भन्ने विश्वास गरिन्छ ।
यस्तो अनौठो काठ जुन रूखबाट प्राप्त भएको हो, त्यो रूखलाई कल्पवृक्ष भनिएको छ । यो रूखको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो रे ! त्यतिबेला काठमाडौंमा हरिसिद्धिको जात्रा हेर्न कल्पवृक्ष पनि मान्छेको भेषमा आएका रहेछन् । एकजना तान्त्रिकले त्यो कुरा थाहा पाई कल्पवृक्षमाथि तारण लगाएर उनलाई यहीं कैद गरिदिएछन् । त्यसपछि उक्त तान्त्रिकले यो ठाउँमा तेत्तीसकोटी देवतालाई बास गराउने एउटा ठूलो संरचना बनाउने बिचार छ, त्यसको लागि कल्पवृक्षको काठ चाहियो भनी माग गरेछन् । उनको मागअनुसार कल्पवृक्षले एउटा बिउ छोडेर गएछन् । तान्त्रिकले त्यही बिउबाट उम्रेको वृक्ष काटेर काष्ठमण्डप बनाए । काष्ठमण्डप बनाइसकेपछि उनले तेत्तिसकोटी देवतालाई आह्वान गरी त्यहीं बास गराए । उनले देवतालाई काष्ठमण्डपको प्रतिष्ठा नसकुन्जेल फर्कन नपाइने बाचा गराए । र, प्रतिष्ठा चाहिँ नून र तेलको भाउ एउटै भएपछि मात्रै गर्ने कुरा पनि सुनाए । तर, नून र तेलको भाउ कहिल्यै समान नहुने । त्यसैले तेत्तिसकोटी देवताहरू पनि फर्कन नपाई अहिलेसम्म पनि काष्ठमण्डपमै बास बसिरहेका छन् भन्ने पनि जनविश्वास छ । त्यसैले काष्ठमण्डपलाई एकचोटी घुमेपछि तेत्तीसकोटी देवतालाई नै घुमेसरह पुण्य प्राप्त हुन्छ भनिन्छ ।
अब त्यो काष्ठमण्डप बनाउने तान्त्रिकचाहिँ को हुन् ? कोही विद्वान उक्त तान्त्रिकको नाम ‘बोसेत’ भन्छन्, कोहीचाहिँ लीलावज्र बज्राचार्य भन्छन् ।
काष्ठमण्डप कसले बनाए भन्ने बारेमा अर्को एउटा पनि मत छ । यो मतका पक्षधरहरू भन्छन्– काष्ठमण्डप नाथ सम्प्रदायका एक सिद्ध ‘लुइपा’ ले बनाएको हो । नाथ सम्प्रदायका ८४ सिद्धमध्ये लुइपा एक हुन् । लुइपाले काष्ठमण्डप बनाएको कारणले नै त्यहाँभित्र गोरखनाथको मूर्ति रहेको दाबी उनीहरूको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


