मरु सतः अर्थात मूर्तिबिनाको सत्तल

मरु सतः अर्थात मूर्तिबिनाको सत्तल

मेट्रो संवाददाता

१४ माघ २०७६ १४:२४

अत्यन्त गुह्य कुराहरू काष्ठमण्डपसँग जोडिएका कारण यसको निर्माणमा ती कुरा छुटाउन नहुने विद्वानहरूको जिकिर छ ।

काठमाडौंको मध्यभागमा ठडिएको काष्ठमण्डप ढलेपछि यसको झन् बढी चर्चा हुन थालेको छ । यो कहिले बनाइयो ? कसले बनाए ? किन बनाए ? यो वास्तवमा अझै पनि विवाद र बहसको विषय बनिरहेको छ ।

नेपालमा शायदै त्यस्तो कुनै इतिहासकार होला, जसले काष्ठमण्डप अर्थात् ‘मरु सतः’ बारे लेखेको छैन । बाबुराम आचार्य, धनबज्र बज्राचार्य, नरहरिनाथ, नयराज पन्त, डा. महेशराज पन्त, दिनेशराज पन्त, डा. जगदीशचन्द रेग्मी, डा. साफल्य अमात्य, यज्ञपतिमान बज्राचार्य, रमेशजंग थापा, सुरेन्द्रमान श्रेष्ठ आदि सबै नाम चलेका इतिहास र संस्कृतिका लेखकले काष्ठमण्डपबारे आ–आफ्नो हिसाबले अन्वेषण गरेका छन्, लेख लेखेका छन् र दाबी पेस गरेका छन् ।

काष्ठमण्डपबारे यति धेरै इतिहासकारको मथिंगल घुम्नुको कारण यसको इतिहास, वास्तु वा संस्कृति मात्र होइन । यो त्यही काष्ठमण्डप हो जसको नामबाट राजधानी ‘काठमाडौं’ को न्वारान गरिएको छ । काष्ठमण्डपको इतिहास नै काठमाडौंको पनि इतिहास हो । काष्ठमण्डप नछिरीकन काठमाडौं भेट्न सकिँदैन । त्यसैले इतिहासकारहरू अहिले भग्न काष्ठमण्डपको भूसमा पनि ‘काठमाडौं’ खोज्ने प्रयास गरिरहेका छन् ।

केही वंशावलीमा काष्ठमण्डप सत्रौं शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल (सन् १६२१–१६४१) ले बनाएको भनी लेखिएको रहेछ । लक्ष्मीनरसिंह मल्ल राजा प्रताप मल्लका पिता हुन् । तर, लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको जीर्णोद्धार मात्रै गरेका हुन्, यसको निर्माण त त्योभन्दा पनि सयौं वर्षअघि नै भइसकेको थियो भन्ने तथ्य वि.सं. २००४ सालमै प्रकाशित भइसकेको रहेछ । तैपनि विभिन्न पाठ्यपुस्तक र पर्यटनसम्बन्धी पुस्तिकामा अहिले पनि लक्ष्मीनरसिंह मल्लको नाम हटेको पाइँदैन ।

विभिन्न समयमा पाइएका ऐतिहासिक दस्तावेजले भने काष्ठमण्डपको निर्माण लक्ष्मीनरसिंह मल्लभन्दा करिब ६०० वर्षअघि नै भइसकेको प्रमाण दिएका छन् । यसरी सरसर्ती हेर्दा काष्ठमण्डपले केही नभए पनि हजारदेखि १२ सय वर्षको लामो इतिहास बोकेको प्रस्ट देख्न सकिन्छ ।

काष्ठमण्डप आफंैमा एउटा अनौठो संरचना हो । नेपालभाषामा यसलाई ‘मरु सतः’ भनिन्छ । ‘सतः’ भन्नाले पाटी वा सत्तल भन्ने बुझिन्छ तर यो अरू पाटीजस्तो सामान्य खालको भने छैन । यो एकदमै खुला भएकाले अरू सत्तलमा जस्तो मान्छे सुत्न खासै मिल्दैन । यहाँभित्र गोरखनाथदेखि विभिन्न भैरव र गणेशका मूर्ति छन् तर देवताको मूर्ति भए पनि यो मन्दिर होइन । मरु सतः निर्माण भएको बेला यसभित्र कुनै पनि मूर्ति थिएन । कुनै मूर्ति वा वस्तु नभएका कारणले नै यसलाई ‘मरु’ अर्थात केही नभएको ‘सतः’ भनिएको हो भन्नेहरू पनि छन् । उनीहरूका अनुसार यो मरु सतःको नामबाटै सतः रहेको ठाउँको नाउँ मरु टोल, सँगै रहेको गणेशको नाम मरु गणेश, मरुहिटी, मरुबही आदि रहन गएको हो ।

केही चाहिँ ‘मण्डप’ शब्द नै अपभ्रंश भई ‘मरु’ बन्न गएको तर्क पनि राख्छन् । तर काष्ठमण्डपको निर्माणमा पूर्णतया तान्त्रिक विधि अपनाइएको थियो भन्ने मत राख्ने विद्वानहरू भने ‘मरु’ शब्द ‘मेरु’ बाट आएको दाबी गर्छन् । उनीहरूका अनुसार काष्ठमण्डपको निर्माणमा अत्यन्तै गुह्य खालका सूक्ष्म विधि अपनाइएका छन्, जसलाई प्राविधिक भाषामा ‘मेरु’ भनिन्छ । अत्यन्त गुह्य कुरा काष्ठमण्डपसँग जोडिएको कारणले यसको निर्माणमा ती कुरा छुटाउन नहुने पनि उनीहरूको जिकिर छ ।

काष्ठमण्डपबारे धेरैले विश्वास गर्दै आएको एउटा जनविश्वास के हो भने यो मण्डप एउटै रूखको काठ प्रयोग गरी बनाइएको हो । रूख यति ठूलो थियो कि त्यसबाट पूरा काष्ठमण्डप बनाइसक्दा पनि काठ सकिएन । बाँकी रहेको काठबाट काष्ठमण्डपको छेउमै अर्को एउटा सत्तल पनि बनाइयो, जसलाई ‘सिँल्यं सतः’ अर्थात ‘बाँकी रहेको काठको सत्तल’ भनिन्छ । यसपछि पनि बाँकी रहन गएका काठका टुक्राटाक्रीहरू जम्मै यी दुई सत्तलको बीचमा एउटा खाल्डो खनी गाडिएको थियो । त्यसपछि खाल्डोमाथि एउटा डबली बनाइयो । त्यसलाई मरु गःकुटी भनिन्छ । केही गरी काष्ठमण्डप मर्मत वा जीर्णोद्धार गर्नुप¥यो भने त्यही खाल्डोबाट पुरानै काठ झिकेर प्रयोग गर्नुपर्छ भन्ने जनकथन पाइन्छ ।

काष्ठमण्डप बनाउँदा प्रयोग गर्नुपर्ने काठ जम्मै नजिकैको एउटा बौद्ध बहालमा राखिएको रहेछ । त्यो बहाललाई अहिले पनि ‘सिँखंमू बहाः’ भन्ने गरिन्छ । नेपालभाषामा ‘सिँ’ को अर्थ काठ हुन्छ, ‘खं’ को अर्थ डंगुर । यो बहाल अहिले कुमारी चोकसँगै जोडिएर रहेको छ ।

हरेक वर्ष भाद्र कृष्णपक्ष त्रयोदशीका दिन मनाइने पञ्चदानका बेला यही काष्ठमण्डपमा बसी अन्न दान गर्ने एउटा गुठी छ जसलाई ‘तःचतं गुठी’ भनिन्छ । त्यो गुठीले उक्त दिन धान वा चामल अन्न दान गर्दा प्रयोग गरिने काठको डाडु–पन्युसमेत त्यही कल्पवृक्षको काठबाट बनाइएको हो भन्ने विश्वास गरिन्छ ।

यस्तो अनौठो काठ जुन रूखबाट प्राप्त भएको हो, त्यो रूखलाई कल्पवृक्ष भनिएको छ । यो रूखको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो रे ! त्यतिबेला काठमाडौंमा हरिसिद्धिको जात्रा हेर्न कल्पवृक्ष पनि मान्छेको भेषमा आएका रहेछन् । एकजना तान्त्रिकले त्यो कुरा थाहा पाई कल्पवृक्षमाथि तारण लगाएर उनलाई यहीं कैद गरिदिएछन् । त्यसपछि उक्त तान्त्रिकले यो ठाउँमा तेत्तीसकोटी देवतालाई बास गराउने एउटा ठूलो संरचना बनाउने बिचार छ, त्यसको लागि कल्पवृक्षको काठ चाहियो भनी माग गरेछन् । उनको मागअनुसार कल्पवृक्षले एउटा बिउ छोडेर गएछन् । तान्त्रिकले त्यही बिउबाट उम्रेको वृक्ष काटेर काष्ठमण्डप बनाए । काष्ठमण्डप बनाइसकेपछि उनले तेत्तिसकोटी देवतालाई आह्वान गरी त्यहीं बास गराए । उनले देवतालाई काष्ठमण्डपको प्रतिष्ठा नसकुन्जेल फर्कन नपाइने बाचा गराए । र, प्रतिष्ठा चाहिँ नून र तेलको भाउ एउटै भएपछि मात्रै गर्ने कुरा पनि सुनाए । तर, नून र तेलको भाउ कहिल्यै समान नहुने । त्यसैले तेत्तिसकोटी देवताहरू पनि फर्कन नपाई अहिलेसम्म पनि काष्ठमण्डपमै बास बसिरहेका छन् भन्ने पनि जनविश्वास छ । त्यसैले काष्ठमण्डपलाई एकचोटी घुमेपछि तेत्तीसकोटी देवतालाई नै घुमेसरह पुण्य प्राप्त हुन्छ भनिन्छ ।

अब त्यो काष्ठमण्डप बनाउने तान्त्रिकचाहिँ को हुन् ? कोही विद्वान उक्त तान्त्रिकको नाम ‘बोसेत’ भन्छन्, कोहीचाहिँ लीलावज्र बज्राचार्य भन्छन् ।

काष्ठमण्डप कसले बनाए भन्ने बारेमा अर्को एउटा पनि मत छ । यो मतका पक्षधरहरू भन्छन्– काष्ठमण्डप नाथ सम्प्रदायका एक सिद्ध ‘लुइपा’ ले बनाएको हो । नाथ सम्प्रदायका ८४ सिद्धमध्ये लुइपा एक हुन् । लुइपाले काष्ठमण्डप बनाएको कारणले नै त्यहाँभित्र गोरखनाथको मूर्ति रहेको दाबी उनीहरूको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता