मेट्रो संवाददाता
१४ माघ २०७६ १३:५०
आधुनिक सामग्री प्रयोग गरी सम्पदा पुनर्निर्माण गरे विश्व सम्पदा सूचीमा राख्न नसकिने चेतावनी युनेस्कोले दिइसकेको छ, पुनर्निर्माणै भएन वा ढिलो भयो भने पनि सूचीबाट झिकिने त स्पष्टै छ
सुरेश किरण
बाह्र वैशाखको
भूकम्पले पनि एक वर्ष कटायो । तर, यही वैशाखको ‘टाइम’ म्यागेजिनले लेख्यो–
‘भूकम्पपछिको पुनर्निर्माण नथालिएका कारण नगर हेर्दा यस्तो लाग्छ कि भूकम्प गएको
भर्खर एक हप्ता मात्रै भएको छ ।’
समयमै पुनर्निर्माण सुरु नगरेका कारण देखिएको अस्तव्यस्तताको चित्रण हो यो । सरकारले पुनर्निर्माण ढिला गर्दा कतिपय पीडितले आफैँ घर बनाउन सुरु गरिसकेका छन् । पीडितले त चाहे आफैँ घर बनाउनसक्लान् तर मठ–मन्दिर, चैत्य, गुम्बा जस्ता सम्पदाका हकमा भने आफ्नो सम्पदा आफैँ बनाउन भनेर चाहेर पनि कसैले बनाउन सक्दैन । सम्पदा निर्माणका आफ्नै विधि, तरिका र नियम हुन्छन् । यी नियम पछ्याउँदा आफैँ पनि काम ढिलो हुन पुग्छ नै, त्यसमाथि सरकारले कामै सुरु नगरेका कारणले अतिरिक्त अरू पनि समस्या थपिँदै आएको देखिन्छ ।
पुरातात्विक सामग्री हराउनु
भूकम्पले ढालेका सम्पदासँग सम्बन्धित पुरातात्विक सामग्री विभिन्न ठाउँमा सुरक्षितपूर्वक राखिएका थिए । त्यसको सुरक्षाको जिम्मेवारी पुरातत्व विभाग, सेना, प्रहरी आदिको मातहतमा थियो तर अहिले त्यसरी सुरक्षित नै राखिएका कतिपय सामग्री पनि हराउन थालेको कुरा चर्चामा आएको छ । हनुमानढोकाभित्र अवस्थित हनुमान मन्दिर अहिले जीर्णोद्धार थालिएको छ । उक्त मन्दिरका कतिपय त्वनासिँहरू गायब भएको पाइएको छ ।
साना–साना सामग्री त सुरक्षित राख्न लगिए तर सम्पदाको ठूलो अंश वा मन्दिरकै जीर्ण भागलाई भने खुलै छाडिएको छ । घाम, पानी, हावाले त्यसलाई पनि असर पारेको छ । त्यस्तो ठाउँको स्थिति कस्तो छ, कसैलाई थाहा छैन । मानिस आफैँ पनि पालमुनि बस्नु परिरहेका कारण भग्न सम्पदाको संरक्षणमा ध्यान दिन सकिरहेका छैनन् । त्यसको फाइदा कतिपय अवाञ्छित तत्वले लिइरहेका छन् ।
अनुसन्धान कि पुनर्निर्माण ?
यही क्रममा अहिले कतिपय ऐतिहासिक पुरातात्त्वक सम्पदाको गहन अनुसन्धान सुरु गरिएको छ । काष्ठमण्डप र त्यसवरिपरि विभिन्न विदेशी संस्थाले गरेको भौगर्भिक अनुसन्धानले अत्यन्त नयाँ–नयाँ कुरा पत्ता लगाएका छन् । इतिहासले ठम्याउन नसकेको काष्ठमण्डपको निर्माण सम्वत्समेत यही अनुसन्धानले ठम्याइदिएको छ । त्यसैले अहिले काष्ठमण्डपको पुनर्निर्माणभन्दा पनि यो अनुसन्धानलाई नै अझ बढी समय दिनुपर्ने आवाज उठ्न थालेको छ । काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि नक्सा सार्वजनिक गरे पनि पुनर्निर्माण सुरु भइसकेपछि यस्तो अनुसन्धान गर्न सकिँदैन भन्दै केही स्थानीय अनुसन्धानमा जोड दिन थालेका छन् ।
ठीक त्यस्तै स्वयम्भू महाचैत्यमा पनि युनेस्कोलगायत विभिन्न अन्तर्राष्ट्रिय निकायले यही मौकामा यो रहस्यमय महाचैत्यभित्र के रहेछ भनी थाहा पाउने कोसिस गरिरहेको आरोप स्थानीयवासीले लगाएका छन् । भूकम्पले महाचैत्यलाई के असर गर्यो भनी अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय निकायको ध्यान महाचैत्यको गर्भगृहतिर केन्द्रित भइरहेको आरोप उनीहरूको छ ।
अबको स्वरूप कस्तो ?
अब पुनर्निर्माण हुने सम्पदाको स्वरूप अहिले जे छ, त्यही हुन्छ कि त्यसलाई कुनै परिमार्जन पनि गर्न सकिन्छ ? अहिले उठेको एउटा नयाँ बहस यो पनि हो । नब्बे सालको भूकम्पमा ढलेका कतिपय सम्पदा अलि फरक स्वरूपमा निर्माण भएका थिए । जस्तो काठमाडौंको धरहरा । भक्तपुरको पचपन्न झ्याले दरबार आदि । अहिलेको भूकम्पमा क्षति भएका त्यस्ता कुनै सम्पदा छन् भने त्यसलाई नब्बे सालभन्दा अघिकै स्वरूपमा निर्माण गरिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । जस्तो भक्तपुरको फसिदेगः नब्बे सालअघि अर्कै स्वरूपको थियो । यसपालि पनि यो मन्दिर ढल्यो । अब यसको निर्माण गर्दा नब्बे सालअघिकै स्वरूपमा हुनुपर्छ भन्ने सुझाव आएका छन् ।
उता स्वयम्भूमा हाल क्षति भएको पुरानो गुम्बा (जसलाई भुटानी गुम्बा पनि भनिन्छ) को पुनर्निर्माण गर्दा मानिस हिँड्ने बाटो फराकिलो हुनेगरी ५ फिट जति पछाडि धकेल्न अनुरोध भएको छ । त्यसको बदला पछाडितिर ५ फिट (वा त्योभन्दा बढी) जग्गा उपलब्ध गराउने प्रस्ताव पनि स्वयम्भू महाचैत्य व्यवस्थापन महासमितिले गरेको रहेछ । गुम्बाको गुठीले यो प्रस्ताव मानेन ।
बनाउने विधि कस्तो ?
अहिले उठिरहेको अर्को एउटा समस्या हो, अब बन्ने सम्पदा कसरी बनाउने ? पुरानै वा आधुनिक ? पहिले जस्तो बनाएको थियो, अहिले पनि त्यही प्रकारले, त्यस्तै सामग्री प्रयोग गरेर बनाउने कि भूकम्प प्रतिरोधक हुने किसिमले सिमेन्ट प्रयोग गरेर बनाउने ? धरहरा त लिफ्टै राखेर बनाउने डिजाइन तयार भइसकेको छ । काष्ठमण्डप पूरै डन्डी राखेर बनाउन ठेकेदार खोज्ने काम भइसकेको छ । अरू सम्पदाको हालत पनि त्यही छ । पुनर्निर्माण कार्य ढिलो हुँदै जाँदा यो विवादले पनि अझ नयाँ–नयाँ रूप धारण गर्दै जाने खतरा छ ।
पर्यटनमा कमी
सम्पदा पुनर्निर्माण नहुँदा विदेशी पर्यटक पनि धमाधम घट्दै गइरहेको देखिन्छ । स्वयम्भू महाचैत्य हेर्न आउने पर्यटक अहिले ७० प्रतिशत घटेको तथ्यांक छ । आउने पर्यटक पनि खासगरी भूकम्पको असर हेर्न मात्रै आउने गरेका छन् । लामो समयसम्म पर्यटकशून्य रह्यो भने पछि पर्यटक भिœयाउन गाह्रो हुने देखिन्छ । पुनर्निर्माण ढिलो हुन गयो भने नेपालको पर्यटन उद्योग नै पनि प्रभावित हुनसक्छ ।
पुनर्निर्माणै नहुने डर
सांस्कृतिक सम्पदा पुनर्निर्माण ढिलो हुँदै गएपछि अन्तमा त्यो बन्दै नबन्ने खतरा पनि हुँदो रहेछ । जस्तो भक्तपुरको हरिशंकर मन्दिर (जसलाई ‘लाँपां देगः’ पनि भनिन्छ) नब्बे सालको भूकम्पमा ढल्यो । तर, पुनर्निर्माण ढिलो हुँदै गएपछि अन्तमा त्यो बन्दै बनेन । अहिले त्यो मन्दिरको मूलढोकामा रहने दुईवटा सिंहको मूर्ति बाटोमै छ, मन्दिर छैन । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार नब्बे सालको भूकम्पमा ध्वस्त भएका सम्पदामध्ये जम्मा ६० प्रतिशत मात्रै पछि बनेका छन्, ४० प्रतिशत कहिल्यै बनेन् । पुनर्निर्माण ढिलो हुँदै गयो भने अहिले पनि स्थिति यही हुन सक्छ । सांस्कृतिक सम्पदा सबैको सम्पत्ति हो र कसैको सम्पत्ति पनि होइन । त्यसैले त्यो बनेन भनेर आवाज उठाउने पनि कोहीहुँदैन ।
विश्व सम्पदामा नरहने डर
यति नै बेला देखिन आएको अर्को ठूलो समस्या भनेको ध्वस्त भएका यी सम्पदालाई विश्व सम्पदा सूचीबाट झिकिने डर पनि हो । एकातिर पुनर्निर्माणमा ढिलाइ, अर्कोतिर पुनर्निर्माण गरिहाले पनि आधुनिक शैली र विधिद्वारा गरिने भन्ने हल्लाले युनेस्कोलाई झकझकाएको छ । आधुनिक सामग्री प्रयोग गरी सम्पदा पुनर्निर्माण गर्ने हो भने त्यसलाई विश्व सम्पदा सूचीमा राख्न नसकिने चेतावनी युनेस्कोले दिइसकेको छ । यस्तै विभिन्न विवादका कारण पुनर्निर्माणै भएन वा धेरै नै ढिलो हुन गयो भने विश्व सम्पदाको सूचीबाट झिकिने त झन् स्पष्टै भयो ।
आर्थिक चलखेल
सम्पदा निर्माणमा आर्थिक चलखेलको सम्भावना पनि उत्तिकै हुने संकेत देखिएको छ । यो त सरकारले पुनर्निर्माण प्राधिकरण गठन गर्दादेखि नै देखिएको कुरा हो । अहिले यही संकेत साना–साना स्केलमा पनि देखिन थालेको छ । जस्तो पुरातत्त्व विभाग, उपत्यकाका स्थानीय निकाय आदिमा । काठमाडौं महानगरपालिकाले केही सम्पदा बनाउने तयारी गर्नेबित्तिकै त्यहाँको सम्पदा विभाग प्रमुख परिवर्तन गरेको छ । यस्ता कार्यले पुनर्निर्माणलाई असर पुर्याउने निश्चित छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...




