सांस्कृतिक पुनर्निर्माण ढिलाइले के गर्छ ?

सांस्कृतिक पुनर्निर्माण ढिलाइले के गर्छ ?

मेट्रो संवाददाता

१४ माघ २०७६ १३:५०

आधुनिक सामग्री प्रयोग गरी सम्पदा पुनर्निर्माण गरे विश्व सम्पदा सूचीमा राख्न नसकिने चेतावनी युनेस्कोले दिइसकेको छ, पुनर्निर्माणै भएन वा ढिलो भयो भने पनि सूचीबाट झिकिने त स्पष्टै छ

सुरेश किरण

बाह्र वैशाखको भूकम्पले पनि एक वर्ष कटायो । तर, यही वैशाखको ‘टाइम’ म्यागेजिनले लेख्यो– ‘भूकम्पपछिको पुनर्निर्माण नथालिएका कारण नगर हेर्दा यस्तो लाग्छ कि भूकम्प गएको भर्खर एक हप्ता मात्रै भएको छ ।’

समयमै पुनर्निर्माण सुरु नगरेका कारण देखिएको अस्तव्यस्तताको चित्रण हो यो । सरकारले पुनर्निर्माण ढिला गर्दा कतिपय पीडितले आफैँ घर बनाउन सुरु गरिसकेका छन् । पीडितले त चाहे आफैँ घर बनाउनसक्लान् तर मठ–मन्दिर, चैत्य, गुम्बा जस्ता सम्पदाका हकमा भने आफ्नो सम्पदा आफैँ बनाउन भनेर चाहेर पनि कसैले बनाउन सक्दैन । सम्पदा निर्माणका आफ्नै विधि, तरिका र नियम हुन्छन् । यी नियम पछ्याउँदा आफैँ पनि काम ढिलो हुन पुग्छ नै, त्यसमाथि सरकारले कामै सुरु नगरेका कारणले अतिरिक्त अरू पनि समस्या थपिँदै आएको देखिन्छ ।

पुरातात्विक सामग्री हराउनु

भूकम्पले ढालेका सम्पदासँग सम्बन्धित पुरातात्विक सामग्री विभिन्न ठाउँमा सुरक्षितपूर्वक राखिएका थिए । त्यसको सुरक्षाको जिम्मेवारी पुरातत्व विभाग, सेना, प्रहरी आदिको मातहतमा थियो तर अहिले त्यसरी सुरक्षित नै राखिएका कतिपय सामग्री पनि हराउन थालेको कुरा चर्चामा आएको छ । हनुमानढोकाभित्र अवस्थित हनुमान मन्दिर अहिले जीर्णोद्धार थालिएको छ । उक्त मन्दिरका कतिपय त्वनासिँहरू गायब भएको पाइएको छ ।

साना–साना सामग्री त सुरक्षित राख्न लगिए तर सम्पदाको ठूलो अंश वा मन्दिरकै जीर्ण भागलाई भने खुलै छाडिएको छ । घाम, पानी, हावाले त्यसलाई पनि असर पारेको छ । त्यस्तो ठाउँको स्थिति कस्तो छ, कसैलाई थाहा छैन । मानिस आफैँ पनि पालमुनि बस्नु परिरहेका कारण भग्न सम्पदाको संरक्षणमा ध्यान दिन सकिरहेका छैनन् । त्यसको फाइदा कतिपय अवाञ्छित तत्वले लिइरहेका छन् ।

अनुसन्धान कि पुनर्निर्माण ?

यही क्रममा अहिले कतिपय ऐतिहासिक पुरातात्त्वक सम्पदाको गहन अनुसन्धान सुरु गरिएको छ । काष्ठमण्डप र त्यसवरिपरि विभिन्न विदेशी संस्थाले गरेको भौगर्भिक अनुसन्धानले अत्यन्त नयाँ–नयाँ कुरा पत्ता लगाएका छन् । इतिहासले ठम्याउन नसकेको काष्ठमण्डपको निर्माण सम्वत्समेत यही अनुसन्धानले ठम्याइदिएको छ । त्यसैले अहिले काष्ठमण्डपको पुनर्निर्माणभन्दा पनि यो अनुसन्धानलाई नै अझ बढी समय दिनुपर्ने आवाज उठ्न थालेको छ । काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि नक्सा सार्वजनिक गरे पनि पुनर्निर्माण सुरु भइसकेपछि यस्तो अनुसन्धान गर्न सकिँदैन भन्दै केही स्थानीय अनुसन्धानमा जोड दिन थालेका छन् ।

ठीक त्यस्तै स्वयम्भू महाचैत्यमा पनि युनेस्कोलगायत विभिन्न अन्तर्राष्ट्रिय निकायले यही मौकामा यो रहस्यमय महाचैत्यभित्र के रहेछ भनी थाहा पाउने कोसिस गरिरहेको आरोप स्थानीयवासीले लगाएका छन् । भूकम्पले महाचैत्यलाई के असर गर्यो भनी अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय निकायको ध्यान महाचैत्यको गर्भगृहतिर केन्द्रित भइरहेको आरोप उनीहरूको छ ।

अबको स्वरूप कस्तो ?

अब पुनर्निर्माण हुने सम्पदाको स्वरूप अहिले जे छ, त्यही हुन्छ कि त्यसलाई कुनै परिमार्जन पनि गर्न सकिन्छ ? अहिले उठेको एउटा नयाँ बहस यो पनि हो । नब्बे सालको भूकम्पमा ढलेका कतिपय सम्पदा अलि फरक स्वरूपमा निर्माण भएका थिए । जस्तो काठमाडौंको धरहरा । भक्तपुरको पचपन्न झ्याले दरबार आदि । अहिलेको भूकम्पमा क्षति भएका त्यस्ता कुनै सम्पदा छन् भने त्यसलाई नब्बे सालभन्दा अघिकै स्वरूपमा निर्माण गरिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । जस्तो भक्तपुरको फसिदेगः नब्बे सालअघि अर्कै स्वरूपको थियो । यसपालि पनि यो मन्दिर ढल्यो । अब यसको निर्माण गर्दा नब्बे सालअघिकै स्वरूपमा हुनुपर्छ भन्ने सुझाव आएका छन् ।

उता स्वयम्भूमा हाल क्षति भएको पुरानो गुम्बा (जसलाई भुटानी गुम्बा पनि भनिन्छ) को पुनर्निर्माण गर्दा मानिस हिँड्ने बाटो फराकिलो हुनेगरी ५ फिट जति पछाडि धकेल्न अनुरोध भएको छ । त्यसको बदला पछाडितिर ५ फिट (वा त्योभन्दा बढी) जग्गा उपलब्ध गराउने प्रस्ताव पनि स्वयम्भू महाचैत्य व्यवस्थापन महासमितिले गरेको रहेछ । गुम्बाको गुठीले यो प्रस्ताव मानेन ।

बनाउने विधि कस्तो ?

अहिले उठिरहेको अर्को एउटा समस्या हो, अब बन्ने सम्पदा कसरी बनाउने ? पुरानै वा आधुनिक ? पहिले जस्तो बनाएको थियो, अहिले पनि त्यही प्रकारले, त्यस्तै सामग्री प्रयोग गरेर बनाउने कि भूकम्प प्रतिरोधक हुने किसिमले सिमेन्ट प्रयोग गरेर बनाउने ? धरहरा त लिफ्टै राखेर बनाउने डिजाइन तयार भइसकेको छ । काष्ठमण्डप पूरै डन्डी राखेर बनाउन ठेकेदार खोज्ने काम भइसकेको छ । अरू सम्पदाको हालत पनि त्यही छ । पुनर्निर्माण कार्य ढिलो हुँदै जाँदा यो विवादले पनि अझ नयाँ–नयाँ रूप धारण गर्दै जाने खतरा छ ।

पर्यटनमा कमी

सम्पदा पुनर्निर्माण नहुँदा विदेशी पर्यटक पनि धमाधम घट्दै गइरहेको देखिन्छ । स्वयम्भू महाचैत्य हेर्न आउने पर्यटक अहिले ७० प्रतिशत घटेको तथ्यांक छ । आउने पर्यटक पनि खासगरी भूकम्पको असर हेर्न मात्रै आउने गरेका छन् । लामो समयसम्म पर्यटकशून्य रह्यो भने पछि पर्यटक भिœयाउन गाह्रो हुने देखिन्छ । पुनर्निर्माण ढिलो हुन गयो भने नेपालको पर्यटन उद्योग नै पनि प्रभावित हुनसक्छ ।

पुनर्निर्माणै नहुने डर

सांस्कृतिक सम्पदा पुनर्निर्माण ढिलो हुँदै गएपछि अन्तमा त्यो बन्दै नबन्ने खतरा पनि हुँदो रहेछ । जस्तो भक्तपुरको हरिशंकर मन्दिर (जसलाई ‘लाँपां देगः’ पनि भनिन्छ) नब्बे सालको भूकम्पमा ढल्यो । तर, पुनर्निर्माण ढिलो हुँदै गएपछि अन्तमा त्यो बन्दै बनेन । अहिले त्यो मन्दिरको मूलढोकामा रहने दुईवटा सिंहको मूर्ति बाटोमै छ, मन्दिर छैन । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार नब्बे सालको भूकम्पमा ध्वस्त भएका सम्पदामध्ये जम्मा ६० प्रतिशत मात्रै पछि बनेका छन्, ४० प्रतिशत कहिल्यै बनेन् । पुनर्निर्माण ढिलो हुँदै गयो भने अहिले पनि स्थिति यही हुन सक्छ । सांस्कृतिक सम्पदा सबैको सम्पत्ति हो र कसैको सम्पत्ति पनि होइन । त्यसैले त्यो बनेन भनेर आवाज उठाउने पनि कोहीहुँदैन ।

विश्व सम्पदामा नरहने डर

यति नै बेला देखिन आएको अर्को ठूलो समस्या भनेको ध्वस्त भएका यी सम्पदालाई विश्व सम्पदा सूचीबाट झिकिने डर पनि हो । एकातिर पुनर्निर्माणमा ढिलाइ, अर्कोतिर पुनर्निर्माण गरिहाले पनि आधुनिक शैली र विधिद्वारा गरिने भन्ने हल्लाले युनेस्कोलाई झकझकाएको छ । आधुनिक सामग्री प्रयोग गरी सम्पदा पुनर्निर्माण गर्ने हो भने त्यसलाई विश्व सम्पदा सूचीमा राख्न नसकिने चेतावनी युनेस्कोले दिइसकेको छ । यस्तै विभिन्न विवादका कारण पुनर्निर्माणै भएन वा धेरै नै ढिलो हुन गयो भने विश्व सम्पदाको सूचीबाट झिकिने त झन् स्पष्टै भयो ।

आर्थिक चलखेल

सम्पदा निर्माणमा आर्थिक चलखेलको सम्भावना पनि उत्तिकै हुने संकेत देखिएको छ । यो त सरकारले पुनर्निर्माण प्राधिकरण गठन गर्दादेखि नै देखिएको कुरा हो । अहिले यही संकेत साना–साना स्केलमा पनि देखिन थालेको छ । जस्तो पुरातत्त्व विभाग, उपत्यकाका स्थानीय निकाय आदिमा । काठमाडौं महानगरपालिकाले केही सम्पदा बनाउने तयारी गर्नेबित्तिकै त्यहाँको सम्पदा विभाग प्रमुख परिवर्तन गरेको छ । यस्ता कार्यले पुनर्निर्माणलाई असर पुर्याउने निश्चित छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता