सय वर्षअघि ५ करोड मानिस निलेको स्पेनिस फ्लु पनि चीनबाटै सुरु भएको थियो

सय वर्षअघि ५ करोड मानिस निलेको स्पेनिस फ्लु पनि चीनबाटै सुरु भएको थियो

मेट्रो संवाददाता

२२ चैत २०७६ १३:२४

स्पेनिस फ्लूका नामले चिनिने सन् १९१८ मा फैलिएको विश्वव्यापी फ्लू महामारीमा पाँच करोड मानिसको ज्यान गएको थियो। मानव इतिहासमा यसलाई नै सबैभन्दा ठूलो मानवस्वास्थ्य संकटका रुपमा लिइन्छ। अहिले विश्वभर नोवेल कोरोना भाइरसको महामारी फैलिएको छ।

वैज्ञानिकहरुले स्पेनिस फ्लूपछिको सबैभन्दा ठूलो महामारी भनेका छन् अहिलेको कोरोना भाइरस महामारीलाई। नोवेल कोरोना भाइरसको महामारी गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको राजधानी वुहानबाट सुरु भएको हो।

तर स्पेनिस फ्लूको सुरुवात कहाँबाट भएको थियो भन्नेमा वैज्ञानिकहरुबिच दशकौँसम्म विवाद कायम रह्यो। लामो अध्ययनपछि वैज्ञानिकहरु यो निश्कर्षमा पुगेका थिए कि पाँच करोड मानिसको ज्यान लिएको स्पेनिस फ्लूको सुरुवात चीनबाट भएको थियो। यससम्बन्धी अध्ययन प्रतिवेदन सन् २०१४ मा प्रकाशित भएको थियो।

स्पेनिस फ्लूको उद्गम थलोका रुपमा फ्रान्स तर्फ धेरैको औँला सोझिएको थियो। यस्तै चीन, अमेरिकन मिडवेष्ट र अरु क्षेत्रहरु पनि सो फ्लूको सुरुवात स्थलका रुपमा दशकौँसम्म चर्चामा रहे। तर वैज्ञानिकहरुले महामारीको सुरुवात यहिँबाट भएको हो भन्न सकेका थिएनन्।

स्पेनिस फ्लूबाट पहिलो विश्वयुद्धमा भन्दा धेरैको मृत्यु भएको थियो। सन् १९१८ मा सुरु भएको महामारी सन् १९२० मा अन्त्य भएको थियो।

क्यानडाका इतिहासविद मार्क हम्फ्रीजसहितको टोलीले गरेको अनुसन्धानबाट स्पेनिस फ्लूको उत्पति चीनमा भएको देखिएको हो।

पहिलो विश्वयुद्धमा चिनियाँ मजदुरले प्रयोग गरेको पानीजहाजमा फ्लूको जड फेला परेको हम्फ्रीजसहितको टोलीले गरेको अनुसन्धानमा उल्लेख छ। पहिलो विश्वयुद्धका बेला चिनियाँ मजदुरले क्यानडासहितका क्षेत्र पुग्नका लागि प्रयोग गरेको पानी जहाजमा फ्लूको पहिलो जड फेला परेको हो।

क्यानडाको मेमोरियल युनिभर्सिटी अफ न्यूफाउण्डल्याण्डका इतिहासविद हम्फ्रीजले फेला पारेको नयाँ प्रमाण अनुसार पहिलो विश्वयुद्धमा बेलायत र फ्रान्सको पक्षबाट लड्नका लागि प्रयोग भएका ९६ हजार भन्दा बढी चिनियाँ मजदुरहरु महामारीको स्रोत हुन सक्ने देखिएको हो।

इतिहासविद हम्फ्रीजले वार इन हिस्ट्री जर्नलको सन् २०१४ को जनवरी इस्यूमा फ्लू संक्रमितको भाइरल नमूनासँग नयाँ फेला परेको प्रमाणलाई दाँज्दा महमारीको सुरुवात चीनबाट भएको देखिएको उल्लेख गरेका थिए।

यस्तै यसअघि पनि इतिहासविदहरुले स्पेनिस फ्लूको सुरुवात चीनबाट भएको तर्फ शंकेत गरेका थिए । इतिहासविद क्रिष्टोफर ल्याङ्गफोर्डका अनुसार फ्लूका कारण अरु देशको तुलनामा चीनमा थोरै मानिसको ज्यान गएको थियो । यसको प्रमुख कारण चिनियाँहरु फ्लूको भाइरसबाट सबैभन्दा पहिले संक्रमित भएको र उनीहरुको प्रतिरोधात्मक क्षमता त्यसविरुद्ध चाँडै विकास भएको हुन सक्ने उनले बताएका छन् ।

स्पेनिस फ्लूबाट युवा तथा राम्रो प्रतिरोधात्मक क्षमता भएका व्यक्तिको पनि ज्यान गएको थियो ।

इतिहासविद हम्फ्रीजले गरेको नयाँ अनुसन्धानमा सन् २०१७ को नोभेम्बरमा चीनको उत्तरी क्षेत्रमा देखिएको स्वासप्रस्वास सम्बन्धी रोग र त्यसको एक वर्षपछि चिनियाँ अधिकारीले स्पेनिस फ्लू नाम दिएको फ्लूबिच पूरापुर समानता रहेको देखिएको छ ।

यस्तै सन् १९१७ मा युरोपको बाटो हुँदै क्यानडा लगिएको २५ हजार चिनियाँ मजदुरमध्ये तीन हजार भन्दा बढीमा फ्लूको लक्षण देखिएको र उनीहरुलाई स्वास्थ्य क्वारेन्टाइनमा राखिएको मेडिकल रेकर्ड पनि इतिहासविद हम्फ्रीजले फेला पारेका थिए ।

(यो सामग्री नेशनल जियोग्राफिकमा सन् २०१४ को जनवरी २४ मा प्रकाशित भइ हाल फेरि अपडेट गरिएको अनुसन्धानात्मक सामग्रीबाट साभार गरिएको हो।

साभार : देशसञ्चार

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता