मेट्रो संवाददाता
४ साउन २०७७ २:४६
४ साउन, काठमाडाैं ।
नेपाल विविध सांस्कृतिक महत्व बोकेको मुलुक हो । विभिन्न जातजातीका आ–आफ्नै संस्कृति रहेको छ । हरेक श्रावण कृष्णपक्ष चतुर्दशीका दिन काठमाडौं उपत्यका लगायत मुलुकभरका नेवार समुदायले गथामुगः (घन्टाकर्ण) पर्व मनाउने गर्छन् । सोही अनुरुप आइतबार गथामुगः (घन्टाकर्ण) पर्व मनाइँदै छ।
नेवार जातिले खेतीपातीको काम सकिने बित्तिकै मनाउने पहिले चाड गथांमुगः हो । यसपछि अरू चाडबाडहरू लहरै आउँछन् । त्यसैले यो पर्वलाई नेवारहरूको पहिलो चाड पनि भनिन्छ । कोही कोही यसलाई छोरा पर्व (कायमचा नखः) पनि भन्ने गर्छन् ।
नेपालमा प्रचलित विभिन्न चाडपर्वहरुमध्ये गथांमुगः (घन्टाकर्ण) पनि एक हो । विशेषगरी चारवटा विशेष चर्तुदशी गठांमुगः चःर्हे (घन्टाकर्ण चतुर्दशी), बाला चःर्हे (बाला चतुर्दशी), शिलाचःर्हे (शिवरात्री चतुर्दशी) र पाहां चःर्हे (पिशाच चतुर्दशी) गरी चार चाडपर्व मध्ये गथामुगः (घन्टाकर्ण) विशेषगरी नेवार समुदायले मनाउने मौलिक पर्व हो ।
गथामुगः (घन्टाकर्ण) कहिलेदेखि मनाउन थालियो भन्ने स्पष्ट नभए पनि गोपालराज वंशावलीमा गथामुगः (घन्टाकर्ण) सन्दर्भ ‘विवाहजु दं गुणिलान झरे बोये माल्व, विधान, गण्ठकर्ण चवदश कोह्नु म्वण्ड चिन्ने, गुणिला थोव तीह्रिशि कोह्नु बोय, दुंवी’ भनी उल्लेख गरिएको पाइन्छ ।
यी पंक्तिअनुसार गथांमुगः (घन्टाकर्ण) चाडको प्रारम्भ ईसाको १४ औं शताब्दीदेखि भएको देखिन्छ । यसबाट जयस्थिति मल्लको राज्यकालभन्दा अघि नै यो पर्व मनाउन थालिसकेको थाहा हुन्छ तर लिच्छवीकालमा यसको चलन नभएको पनि धनवज्र वज्राचार्य र कमलप्रकाश मल्लद्वारा सम्पादित गोपालराज वंशावलीबाट प्रस्ट हुन्छ ।
नेपालसंवत् ७९२ को संगीत भाषा/नेपाल भाखा गीत नामको हस्तलिखित ग्रन्थमा घंटासुरको निर्माण छ्वाली (गहुँको बोट)बाट गरिने कुरा उल्लेख भएको पाइन्छ ।
नेपालसंवत् ६९१मा हितोपदेश नामको ग्रन्थ, नेपालसंवत् ८७२ को ऐतिहासिक घटनावली तथा नेपालसंवत् ८१८ का भक्तपुरराजप्रासादस्थित अभिलेखमा पनि गठांमुगः (घन्टाकर्ण) को बारे वर्णन गरिएको पाइन्छ ।
यसपर्वलाई किसानको रोपाइँ कार्य सम्पन्न भएको र चाडपर्वको सुरू भएको सङ्केत पर्वको रुपमा पनि लिने गरिएको छ । आजकै दिनबाट नेवार समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवार समुदायमा सिथि नखःलाई वर्षको अन्तिम पर्वको रुपमा लिइन्छ भने सो दिनदेखि गथामुगः (घन्टाकर्ण)सम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा रहेको छ । गथामुगः (घन्टाकर्ण) चतुर्दशीलाई कृषिकर्म सकाउने दिन पनि भनिन्छ ।
गथामुगः (घन्टाकर्ण) अघि बैशाख शुक्ल तृतियाका दिन गुथियारहरुले ह्वगंकि भनेर टोलपरिवारबाट ल्याएको चामलबाट भात पकाएर दोबाटोहरुमा छर्ने गर्छ । यसो गर्नु भनेको खेतीपाती बलियोसँग सम्पन्न गर्न सकियोस् भनेर भुतहरुलाई बोलाउन हो ।
अक्षय तृतिया अर्थात बैशाख शुक्ल तृतियाको दिनदेखि गठांमुगः (घन्टाकर्ण) अर्थात श्रावण कृष्ण चतुर्दशीसम्म उपत्यकामा सबै रोपाइँका काम सकिसकेका हुन्छ । अनि अक्षय तृतियाको दिन भित्री सहरमा भित्र्याइएका भुतलाई गथामुगः (घन्टाकर्ण)को दिन नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गरेर सहर बाहिर पठाइन्छ ।
काँचो माटोको सानो दहीको कटारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्नेलाई बौ वाय् ज्या (भुत मन्छाउने कार्य) भनिन्छ ।
भुत पन्छाउने एउटै भए पनि भिन्न भिन्न तरिकाले पूजा गरेको देखिन्छ । तान्त्रिक पूजा गर्नेहरूले सिन्हः पूजा वा कलश पूजा गरी त्यसमा प्रसाद समेत चढाउने गर्दछन् । यसरी बलि दिँदा भुत पन्छाउन गएका मानिस घर फर्केपछि घरको ढोकापिच्छे पूजा गरी भूतप्रेत भित्र पस्न नसक्ने मन्त्र लेखिएको महाजन्त्र ढोका माथि टाँसेर चौकोसमा तीन काँडे स्वकिं वा फलाम ठोकेर पूजा गरिन्छ । यसरी पूजा गरिसके पछि बाहिरैदेखि पूजा गर्दै ढोका पनि बन्द गर्दै आउने गरिन्छ ।
केहि गरी गथांमुगः (घन्टाकर्ण) दिनसम्म पनि रोपाइँ नसकेको खण्डमा जुन दिन रोपाइँ सकिन्छ त्योदिन उक्त परिवारले भुत मन्छाउने चलन छ ।
गथामुगः (घन्टाकर्ण)को दिन रोपाइँको अन्तिम दिन हुने भएकोले पूरा घर चोख्याई आफ्नो शरीर शुद्ध पारी कृषिकर्म सुध्याउने चलन छ । कृषिकर्म सुध्याउनु भनेको घरमा बढारकुढार गर्नु, घर लिप्नु र घरमा रहेका लुगाकपडा धुनु हो । रोपाइँ पहिले नै सकिए गथांमुगल अघि नै पूरा घर चोख्याई आफ्नो शरीर शुद्ध पारी कृषि कार्य सुद्ध गरे पनि हुन्छ ।
गथांमुगः भनेको भूतहरु बस्ने ठाउँ हो, जुन छ्वास (क्षेत्रपाल, चौबाटो) हो । यस दिनमा आ–आफ्नो टोलको छ्वासमा नर्कट बाँसको तिन मुठालाई उठाएर बिहानैदेखि चौबाटोहरुमा ठड्याइन्छ । गथांमुगःमा नर्कटको तीनखुट्टा उभ्याउनु भनेको त्रिपद संवर भैरवको प्रतीक हो । यो भैरवलाइ त्रिशक्ति (सत्व, रज र तम) माथि तीन पाइला राखी उभ्याइन्छ । दिनभर ठड्याइएको नर्कटबाट निर्मित गथांमुगःलाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ ।
घन्टाकर्णको दिन घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भुतप्रेत पस्न सक्दैन भन्ने जन विश्वास रहेको छ ।
घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । सम्पुर्ण नेवार समुदायले आजको दिन कम्तिमा हातको एक औंलामा भएपनि विभिन्न प्रकारका लैंचा (मेहन्दि) गलाउने प्रचलन पनि रहेको छ । सानासाना नानीहरुले खेल्ने गरेको खेलौना (पुतली) को विवाह गरेर आज साँझ विसर्जन गर्ने पनि चलन छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


