मेट्रो संवाददाता
२२ साउन २०७८ १३:०६

काठमाडाैं, २२ साउन । नेवार समुदायले प्रत्येक वर्ष झैं आज दिल्लागाः चतुर्दशी (श्रावण कृष्ण चतुर्दशी)का दिन आफ्नाे घर शान्तिको कामना गर्दै गथांमुगः चर्हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । गथांमुगः चर्हे पर्व नेवारहरुको मौलिक पर्व मध्येको एक हो ।
वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।
नेवार समुदायले सिनाज्या (रोपाँइ) सकेपछि सबैभन्दा पहिले मनाइने पर्व नै गथामुगः हो । यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन् ।
नेवार समुदायले काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात भूत मन्छाउने कार्य गर्दछन । बौ वाय् ज्या गर्ने क्रममा कसैकसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।
बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।
त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबोटोमा लगेर राख्ने) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।

गठेंमंगाः चर्हेकै अवसरमा भक्तपुर नगरका टोलटोलमा नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठड्याएर राखिन्छ । सो आकृतिसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवाकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको खोलामा लगेर जलाइन्छ ।
गठेंमंगाः चर्हेलाई किसानहरुले “सिनाज्या ब्यंकेगु” (रोपाईं कार्य सम्पन्न भएको) र चाडपर्व सुरुआत भएको सङ्केत पर्वका रूपमा पनि लिने गर्छन् । नेवार समुदायमा रोपाईं सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा “सिनाज्या ब्यंकेगु” पर्व मनाइने गरिन्छ ।
तर गथामुगःको दिनसम्म कोही किसानको रोपाँइ सकिएको छैन भने ती किसानहरुले गथामुगः मनाइने गर्दैन । उनीहरुले गाईजात्राको अघिल्लो दिनमा गथामुगःमा जस्तै छ्वालि प्वाः फाल्न लैजाने गर्दछन् ।
सिथिनखःबाट सिनाज्या शुरु भएसँगै नेवार समुदायले मनाइने चाडपर्व सकिन्छ । र सिनाज्या सम्पन्न भएसँगै मनाइने यो गथामुगः पर्वदेखि नेवारहरुको अन्य चाडपर्वहरु मनाउने शुरुवात हुन्छ ।
नेवार समुदायमा गथांमुगः चर्हे पर्व प्राचीन कालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने तथा व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने उहाँले बताउनुभयो ।
कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा श्रेष्ठले बताउनुभयो ।
गथांमुगः चर्हे पर्वसँगै नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत गथांमुगःसँगै सुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


