नेपालभाषा पत्रकारिता : एक शताब्दीको संघर्ष र अबको यात्रा

नेपालभाषा पत्रकारिता : एक शताब्दीको संघर्ष र अबको यात्रा

सहयोग रंजित

९ फागुन २०८१ १८:२३

भाषा केबल संस्कृति र इतिहासमात्रै होइन, सभ्यताको स्रोत पनि हो। एउटा भाषा लोप हुँदा वा खतरामा पर्दा त्यससँगको सभ्यता नै खतरामा पर्छ।

विश्वभर सात हजार भन्दा बढी भाषा बोलिन्छ। यी मध्ये आधा त लोप हुने संघारमा छ। खतरामा रहेका भाषाहरु मध्ये अधिकांश भाषा बोल्नेको संख्या १० हजार भन्दा पनि कम छ। केही भाषा बोल्ने व्यक्ति १० भन्दा कम छन् भने केही भाषा बोल्ने त एकजनामात्रै जीवित छन्।

भाषा केबल संस्कृति र इतिहासमात्रै होइन, सभ्यताको स्रोत पनि हो। एउटा भाषा लोप हुँदा वा खतरामा पर्दा त्यससँगको सभ्यता नै खतरामा पर्छ। विभिन्न कालखण्डमा विभिन्न भाषा बोलिने र हराउने क्रम चलिरह्यो। जसको राजनीतिक शक्ति हाबी भयो तिनका भाषा बलियो हुँदै गयो र अन्य जातिको भाषामाथि दमन। भाषा जोगाउन धेरै संघर्ष भए, केही सफल भए, केही विफल। असफलता बीच पनि थोरै संख्यामा भए पनि भाषा बचाउन बोल्नेहरुको यो संसारमा कमी छैन, उनीहरु पुस्तौंसम्म बाचिँरहे एउटै उद्देश्य बोकेर : भाषा बचाएर जाति बचाउने।

यसरी भाषा बचाउन विभिन्न माध्यम प्रयोग भए। साहित्यबाट विद्रोह सुरु भयो अनि भाषा बचाउन एउटा बलियो माध्यम बन्यो पत्रकारिता पनि। कुनैबेला नेपालकै राष्ट्र भाषा रहेको नेपालभाषाले पनि धेरै आरोहअवरोहरु देख्यो। बोलीचालीको भाषालाई प्रतिबन्ध लगाएर खस भाषा थुपारिँदा नेवार समुदाय। राजनीति, सामाजिक र आर्थिक विकास विमुख बन्नुपर्ने अवस्था आयो। अत: भाषा संरक्षणकै लागि विश्वभर ‘मिसन पत्रकारिता’ सुरु भइरहँदा नेपालमा पनि नेपालभाषा संरक्षण र प्रवर्धनका लागि पत्रकारिताले ठूलो भूमिका खेल्यो।

पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेपछि नेपालमण्डलमा विस्तारै नेपालभाषा बोलिने क्रम घट्दै गयो। यद्यपि, नेपालमा राणा शासकहरुले भने नेपाल भाषाको प्रयोगमै प्रतिबन्ध लगायो। त्यो काम नेपालभाषाको लागि कालो युग थियो।

राणाकालमा नेपाल भाषाको प्रयोगमा प्रतिबन्ध लगाइएपछि यो भाषा लोप हुने खतरामा पुगेको थियो। तर, स्थानीय जनताले आफ्नो मातृभाषा प्रयोग गर्ने अधिकारका लागि राणा शासनकालभर विद्रोह गरे। र, भाषा बचाउन पत्रकारिताको माध्यमबाट जनचेतना फैलाउने काम गरे। चन्द्रशमशेरले नेपाल भाषामा लेखिएको कुनै पनि पत्रिकालाई मान्यता नदिने घोषणा गरेपछि नेवार बुद्धिजीवीहरूले भाषालाई लोप हुनबाट बचाउन तत्कालको आवश्यकता महसुस गरेका थिए। तर त्यसबेला राणा शासकको दमनका कारण देशभित्र नेपालभाषामा पत्रिका छाप्न लगभग असम्भव थियो।

चन्द्रशमशेरको घोषणापछि निष्ठानन्द बज्राचार्यले ‘एकविंशित प्रज्ञा पारमिता’ प्रकाशित गरेका थिए। यसलाई नेपाल भाषामा प्रकाशित पहिलो पुस्तक मानिन्छ। उनले पछि ‘ललित विस्तार’ पनि प्रकाशित गरे। नेपालमा प्रतिबन्ध लगाइएको हुनाले दुवै पुस्तक भारतमा प्रकाशित भएका थिए। निष्ठानन्द देवनागरी लिपि प्रयोग गरेर नेपाल भाषामा पुस्तक प्रकाशित गर्ने पहिलो व्यक्ति पनि थिए। यी पत्रिकाहरूलाई त्यस समयमा नेपाल भाषाको इतिहास पुनर्स्थापना गर्न नेवार आन्दोलनको सुरुवात मानिएको थियो। उनै बज्राचार्यले कलकत्ताबाट छापाखानाका उपकरण ल्याएर प्रेस पनि स्थापना गरेका थिए र सबै छपाइ काम आफैँ गरेका थिए। तर पछि सरकारले सबै प्रकाशनमा लगाएको सेन्सरका कारण उनलाई पुस्तक छाप्न गाह्रो भयो।

२००७ सालमा राणा शासनको अन्त्य सँगै नेपाल भाषा आन्दोलनले फरक रुप लिन थाल्यो। यद्यपि, प्रजातन्त्र पुनर्स्थापनापछि गठित सरकारले नेपालभाषालाई राष्ट्रिय मान्यता दिन चाहेन। नेपाली मात्र सरकार र प्रशासनको माध्यम भाषा बनाइयो। यद्यपि, नेपाल भाषाको प्रयोगलाई सशक्त बनाउन विभिन्न व्यक्तिले स्वस्फूर्त रुपमा पत्रपत्रिकाहरू प्रकाशित गरे। ती पत्रिकाहरू नेवारहरूलाई राजनीतिक, आर्थिक र सामाजिक रूपमा शिक्षित बनाउन समान रूपमा प्रयोग गरिएको थियो।

नेपाल संवत् १०४५ मा ‘बुद्ध धर्म’ नामक पहिलो नेपाल भाषाको जर्नल कोलकाताबाट धर्मदित्य धर्मचार्यले प्रकाशित गरेका थिए। पछि यसको नाम ‘बुद्ध धर्म व नेपाल भाषा’ राखियो। यो पत्रिकाको नाम धार्मिक लागे पनि पत्रिकाको उद्देश्य नेपाल भाषा आन्दोलनलाई सशक्त बनाउनु थियो। ‘बुद्ध धर्म’ को प्रकाशनपछि मात्र नेपाल भाषामा पत्रकारिताको सुरुवात भएको मान्न सकिन्छ।

प्रजातन्त्र प्राप्तिको दुई वर्षपछि  नेपाल संवत् १०७३ को म्हपूजाबाट ‘पासा’ नामक पाक्षिक पत्रिका प्रकाशित भएको थियो। आशाराम शाक्य सम्पादक रहेका सो पत्रिकाले न केवल नेवारसँग सम्बन्धित सामग्री प्रकाशित गर्‍यो राजनीतिक विषयमा पनि नेवार समुदायलाई सशक्त बनाउन प्रयास गरेको थियो।

ने.सं. १०७५ यंलागा १ मा पहिलो नेपाल भाषा दैनिक पत्रिका ‘नेपाल भाषा पत्रिका’ प्रकाशित भएको थियो। नेपाल भाषामा दैनिक पत्रिका फत्तेबहादुर सिंहको सम्पादकीयमा प्रकाशित भएको थियो। नेपालमा पहिलो पटक मातृभाषामा दैनिक पत्रिकाको सुरुवातले दमनकारी पञ्चायतकालमा भाषिक र जातीय स्वतन्त्रताका लागि उग्र विचार प्रसारण गर्ने माध्यम थियो।

सोही समयमा अर्को नेपाल भाषा दैनिक पत्रिका ‘पासा’ प्रकाशित भएको थियो। हिरण्यचन्द्र सिंह प्रधानको सम्पादकीयमा रहेको पत्रिका दुई महिनामात्र टिक्न सक्यो।

राणाकालमा लड्दै भाषा पत्रकारिताको माध्यमबाट भाषा आन्दोलनलाई बलियो बनाएकाहरुलाई पञ्चायत व्यवस्थाले यातना दिन छोडेन। समाचार र लेख लेखेकै आधारमा धेरै जेल पुगे। अभिव्यक्ति स्वतन्त्रता सीमित भएकाले नेपाल भाषामा प्रकाशित पत्रपत्रिकाहरू कडा रूपमा सेन्सर गरिए। धेरै वर्षसम्म पञ्चायतले नयाँ नेपाल भाषाका पत्रपत्रिका प्रकाशित गर्न अनुमति नै दिएन। फेरि, नेपाल भाषाका बुद्धिजीवी र विद्वानहरुले वर्षौंसम्म भाषा संरक्षणका लागि लडे।

वि सं २०४७ मा जनप्रदर्शनपछि राजा वीरेन्द्रले दलविहीन पञ्चायत व्यवस्थाको अन्त्य घोषणा गरे र बहुदलीय व्यवस्था पुनः लागू गरे। साथै, उनले नेपालभाषामाथि लगाइएका सबै प्रतिबन्ध हटाए। यससँगै नेपालभाषामा प्रकाशन हुने पत्रपत्रिको संख्या बढ्यो। विश्व भूमि, सन्ध्या टाइम्स, नेवा पोस्ट, झिगु स्वनिगा, ये नेवा पोस्ट जस्ता नेपाल भाषा दैनिक पत्रिकाहरू सुरु भए। तर जनशक्ति र आर्थिक स्रोतको अभावका कारण केही समयपछि सबै बन्द भए। यसैगरी, इनाप, राजमति, देशेमरु झ्या आदि साप्ताहिक पत्रिकाहरू पनि विभिन्न कालखण्डमा प्रकाशित भएका थिए। तर, अधिकांश पत्रपत्रिकाहरु बन्द भए।

अहिलेको अवस्था

वर्तमान सन्दर्भमा नेपाल भाषामा एकमात्र दैनिक पत्रिका प्रकाशित हुन्छ। त्यो हो नेपालभाषा टाइम्स। यससँगै नेपाल भाषामा साप्ताहिक, पाक्षिक र मासिक पत्रिकाहरू छन्। लहाना, पेज ३, लायाकु, स्वनिग: केही उदाहरण हुन्।

यस्तै, अहिले धेरै संख्यामा नेपालभाषाका अनलाइन पोर्टलहरु पनि संचालनमा आएका छन्। यससँगै केही पड्कास्टहरु पनि सुरु भएका छन्। भिडियोको मार्फतबाट नेवारी संस्कृति र रितिरिवाजबारे जानकारी दिने पद्धती पनि बढेको छ।

तर, नेपालभाषा पत्रकारिता व्यवसायिक रुपमा विकास हुन सकेको छैन। लाखौं नेवार बस्ने उपत्यकामै दैनिक पत्रिकाको सर्कुलेसन कमजोर छ। नेपालभाषामा प्रकाशित हुने अन्य पत्रिकाको अवस्था पनि त्यस्तै छ।

मैले नेपालभाषा टाइम्सलाई आधार बनाएर गरेको सोधमा हाल नेपाल भाषा पत्रकारितामा आलोचनात्मक र विश्लेषणात्मक लेखनको अभाव रहेको पाएँ। यससँगै प्रतिस्पर्धाको अभाव, शून्य अनुसन्धानात्मक रिपोर्टिङ, सीप विकासमा उदासिन, विषयवस्तुको कमजोर विश्लेषण, उपत्यका केन्द्रित पत्रकारिता, पर्याप्त लगानीको अभाव, सीमित बजार, कमजोर व्यवसायिकता र संगठनात्मक उपस्थितिमा उदासिनता जस्ता समस्या देखिए। यो सम्पूर्ण नेपालभाषा पत्रकारितामा देखिएको समस्या नै हुो।

काठमाडौं उपत्यकामा नेवारहरुकै बाहुल्य रहेको भए पनि नेपालभाषा पढ्ने जनसंख्या निकै न्यून छ। त्यसमाथि पढ्नेहरु पनि यत्रत्यत्र छरिएको हुँदा पत्रिका सबै ठाउँमा पुग्ने सकेको छैन। जनशक्ति र लगानीको अभावबीच पनि नेपालभाषाका पत्रपत्रिकाहरुले जसोतसो आफूलाई बचाइरहेका छन्।

नेपालभाषा पत्रकारिताको १०० वर्ष पुगेको अवसरमा शताब्दी वर्ष मनाइँदै गर्दा भने समस्यालाई सुल्झाउन आशाका किरणहरु भने देखिएका छन्। पहिला टेलिभिजनमा इमेज च्यानलले मात्रै नेपालभाषामा समाचार प्रशारण गर्ने गर्थ्यो। अहिले नेपाल टेलिभिजनसहित केही राष्ट्रिय टेलिभिजन र नेवा: केन्द्रित नेपालमण्डल टेलिभिजन, नेवा: एचडी लगायतका केही च्यानलहरुले समेत नेपालभाषाको समाचार प्रकाशन गर्न थालेका छन्। हालै मात्रै राष्ट्रिय समाचार समितिले पनि नेपालभाषामा समाचार प्रकाशन गर्न थालेको छ। यसले शिथिल बनेको नेपालभाषा पत्रकारितालाई केही हदसम्म ब्युझाउँने काम गरेको छ।

त्यसमाथि यसै वर्षदेखि गुगल ट्रान्सलेटबाट पनि नेपालभागा उल्था गर्न सकिने भएको छ। यससँगै, नेवारहरुसँग सम्बन्धित नेपाल भाषाको इनसाइक्लोपेडिया पनि प्रकाशन भएको छ। त्यससँगै नेपालभाषा शब्दकोष एपको शुभारम्भ पनि यही वर्षदेखि भएको छ। यी प्रयासहरुले नेपालभाषा पत्रकारितालाई सबल बनाउन थप भूमिका खेल्ने निश्चित छ।

अब के गर्ने ?

अहिलेको युग प्रविधिको युग हो। पत्रकारिता क्षेत्र पनि यसबाट अछुतो छैन। पाठक, स्रोता र दर्शकलाई एकैस्थानमा ल्याउने माध्यम बनिसकेको छ अनलाइन मिडिया। नेपालभाषा पत्रकारिता क्षेत्रलाई अब थप सशक्त बनाउने हो भने अनलाइन माध्यममा जानै पर्छ।

नेपालभाषा टाइम्स पनि अहिले अनलाइनमा गइसकेको छ। यस्तै, लहना, नेवा: अनलाइन न्यूज लगायतका अनलाइनहरु पनि खुलेका छन्। तर, फेरि पनि यी सबै मिडियाहरुको अवस्था पनि पत्रिकाको जस्तै छ। अनलाइन मिडियाहरुमा पनि कन्टेन्टमा लगानी भएको देखिँदैन। राजनीतिक र स्थानीय मुद्दालाई ‘फिचर’ समाचार बनाएको देखिँदैन। पाठकहरू नयाँपन खोजिरहेको सोधका क्रममा फेला परेको थियो। उनीहरु समाचार  सामग्रीमा नयाँपन चाहन्छन् तर नेपाल भाषाका पत्रिका र अनलाइनले पाठकहरुको रुची अनुसारको सामग्री प्रस्तुत सकिरहेका छैनन्।

कन्टेन्ट बलियो भयो भने पाठक वा स्रोताको संख्या बढ्छ भन्ने पुष्टि पछिल्लो समय चर्चामा आएका नेवा: गीतहरुले गरिसकेका छन्। त्यसैले लगानी अब कन्टेन्टमै गर्नुपर्ने देखिन्छ।

पक्कै पनि नेपालभाषा बोल्नेहरू घट्दै गएपछि नेपालभाषाका पाठकको संख्या पनि घटेको छ। यद्यपि,सीमित स्रोतसाधनका बाबजुद नेपाल भाषा टाइम्स लगायत नेपाल भाषाका अन्य पत्रपत्रिकाहरु संचालित छन्। यसमा भने गर्व गर्नै पर्छ। यसको निरन्तरताको लागि भने यसलाई आर्थिक रुपमा सबल बनाएर युवा लक्षित कार्यक्रम ल्याउनै पर्छ।

पत्रकारितामा धैर्यता र व्यवसायिकता चाहिन्छ । तर, नेपाल भाषा पत्रकारिता हतारमा रहेको देखिन्छ। व्यक्तिगत कारण र लगानीमा कुरा नमिल्दा मिडिया खुल्ने र बन्द हुने गरेका छन्। मातृभाषाको अखबार चलाउनको लागि व्यक्तिवादी धारणा छोडेर साझा संगठनात्मक लक्ष्य लिएर अघि बढ्नुपर्छ।

नेपाल भाषा टाइम्सको कुरा गर्ने हो भने यसको सर्कुलेशन सीमा निकै सीमित छ। पत्रिका भक्तपुर, ललितपुर र कीर्तिपुरमा गएको दाबी प्रकाशकको छ। तर मुख्य प्रश्न हो, ‘कतिन्जेल टिक्ने ?

त्यसैले नेपाल भाषाले बजारमुखी पत्रकारिता सुरु गर्नु समयको आवश्यकता हो। अरु नेपालभाषाका मिडियाले पनि यही शुत्रलाई गह्रण गर्नुपर्छ।

बजार ढोका ढकढकाएर आउँदैन। मिडियाले आफैले दीर्घकालीन योजना बनाउनुपर्छ र लगानीकर्ताहरू खोज्नुपर्छ। पर्याप्त र उचित लगानीबिना संस्था चल्न सक्दैन, पत्रकारले काम गर्न सक्दैनन्।

त्यसैगरी, नेपाल भाषा टाइम्स र अन्य सबै नेपाल भाषा पत्रिकाहरूले गर्नुपर्ने अर्को कुरा पत्रकारको सीप विकास गरि कन्टेन्टको गुणस्तरमै सुधार गर्नु हो। नेवारहरुको समस्याको समीक्षात्मक विश्लेषण गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, जुन अहिलेको परिस्थितिमा अभाव छ।

अन्त्यमा आदिवासी पत्रपत्रिकाका पाठकको संख्या तुलनात्मक रूपमा सानो हुन्छन्। तर यसको मतलब यो होइन कि मुद्दाहरूको उत्थान कमजोर रुपमा होस्। नेपालभाषामा आधारित मिडिया सीमित सीमाभित्र केन्द्रित छन्। अहिलेको संरचनाबाट नै संचालन हुने हो भने नेपालभाषा पत्रकारिताको विकास हुन सक्दैन। १०० वर्षको खुसी मनाउने तर पुरानै विचारधारामा अघि बढेर अब मिसन पत्रकारिता सफल हुँदैन। त्यसैले स्थानीय समाचारलाई प्राथमिक्तामा राखेर नेवार संस्कृति, भाषा, राजनीति, नीति र परिवर्तनका कथाहरू स्थानीयसम्म पुर्‍याउनुपर्छ।

नेपालभाषामा आधारित मिडियाहरुको पारस्परिक विकासका लाग केही सुझावहरु :

  • पाठकहरूको आवश्यकता पहिचान गर्ने र अखबारमा प्रकाशित हुने सामग्रीहरूको विविधीकरण गर्ने।
  • हालको लेखन शैली परिवर्तन गर्ने र नेवार समुदायको बारेमा थप विश्लेषणात्मक र अनुसन्धात्मक कथाहरू लेख्ने
  • बजार खोज्ने, दीर्घकालीन संचालनका लागि लगानीकर्ता खोज्नु अपरिहार्य हो।
  • योग्य र प्रतिभाशाली पत्रकारिता विद्यार्थीहरू र लेख्नको लागि जोश भएका युवा पत्रकारहरूको चयन गर्ने
  • स्थानीय बजारमा नेपालभाषामा आधारित मिडियाको प्रचारप्रसारका लागि रणनीति प्रयोग गर्ने। सोसल मिडियामा उपस्थिति बलियो बनाउने
  • सम्पादकीय मार्फत स्थानीय मुद्दाहरू उठाउने। स्थानीय समाचारलाई प्राथमिकता दिने
  • व्यावसायिक वातावरण सिर्जना गर्ने

 

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता