कारोना संकटको सदुपयोग : फैलिंदो कौशी खेती (खेती गर्ने तरिकासहित)

अम्बिका शर्मा ।

विगत पाँच महिनादेखि धेरैजनाको दैनिकी फेरिएको छ । कोरोना भाइरस कोभिड-१९ का कारण लकडाउन भएपछि घरमा मोबाइल हेरेर टिभी हेरेर बस्न भन्दा सृजनात्मक कार्य गरेर दिन विताउन थालेका छन् ।

त्यसमध्ये एउटा माध्यम बनेको छ, कौशी खेती । कौशी खेती गरेपछि शारीरिक तथा मानसिकरुपमा पनि स्फूर्त रहन सकिन्छ । तरकारी गोडमेल गर्दा, पानी भर्ने विरुवामा हाल्ने सफा गर्ने गर्दा व्यायाम पनि हुने गर्दछ ।

विहान बेलुका व्यस्त पनि हुने आफ्नै घरको छतमा फलेको अर्गानिक ताजा तरकारी पनि खान पाइने हुनाले राजधानीमा प्रायजसो मानिसहरु कौशीखेती तर्फ आर्कषित भएको देखिन्छ । त्यसो त शहरबजारमा खेतीयोग्य जमिनको कमि हुँदै गएपछि कौशी खेतीलाई पनि विकल्पको रुपमा लिन थलिाएको छ ।

कोरोना भाइरस अहिले देशभरी फैलिरहेको छ । मानिसहरुको दैनिकी सहज हुने दनको अनुमान लगाउन गाह्रो छ जसले धेरैजसो कामकाजी मानिसहरु डिप्रेशनको शिकार हुने खतरा पनि छ । जसबाट जोगिन पनि रचनात्मक कार्यहरु तथा व्याम योगा गनुपर्ने हुन्छ । यसको साथसाथै कौशी खेती गर्दा धेरै फाइदा नै हुने गर्दछ ।

काठमाण्डौ बनस्थली निवासी रामप्रसाद भट्ट विगत ३ वर्षदेखि कौशी खेती गर्दै आएका छन् । उमेरले ६० काटेका भट्ट धैरै समय छतमा बोटबिरुवाहरुमा रमाइरहेका हुन्छन् । कौशीखेती गरेपछि प्राय जसो सिजनको ताजा अर्गानिक तरकारी खान पाइने बताए । उनले भने “मेरो ढाडको समस्या छ बसिरहन हँदैन त्यसैले कौशीखेती गरेपछि माटो ओसार्ने पानी हाल्ने गोडमेल गर्ने गर्दा नै दिन बित्छ ।”

त्यस्तै बनस्थलीकै नारायण शर्मा पनि कौशी खेति भनेपछि हुरुक्कै छन् । शिक्षक पेशाबाट अवकाश लिएका शर्मा पनि धैरै जसो तरकारी किन्न नपरेको बताउछन् । कौशीमा डोरीको छानो बनाएर घिरौरा टलरम्मै फलाएका छन् ।

आफ्नो घरको छतमा बोडी,भन्टा,खुर्रसानी घिरौला, करेला फलाएका उनले भने “घरको छतमा फलाएको तरकारीको स्वादै फरक हुन्छ । जतिबेला खान मन लाग्यो टिप्यो ताजा पकायो ।

उनले कौशी खेतीको धेरै फाइदा रहेको बताउदै भने,“शुद्ध विषादी रहित तरकारी पनि खान पाइनुका साथ साथै एक्सरसाइज पनि हुने हुँदा मन चंगा हुन्छ ।” फुटेका बाल्टिन, माछाको कार्टुन सिमेन्टका बोरामा खेती गर्दा दिउँसोको घामले जरा सुकिहाल्ने र मर्ने गर्छ त्यही हुनाले बेला बेला बेलुका पानी हाल्ने गोडमेल गर्नु पर्ने हुँदा समय वितेको पत्तै नहुने उनको भनाई छ ।

कोरोना भाइरसको माहामारीबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउन पश्चात काठमाण्डौका प्रायजसो घरका छतमा कौशीखेतीको हरियाली छाएको छ ।

पछिल्लो समयमा निकै प्रख्यात बन्दै आइरहेको कौसी खेतीको थुप्रै सकारात्मक पक्षहरु छन् घरमा उपलब्ध सानोभन्दा सानो खाली ठाउँको पनि सिर्जनात्मक प्रयोग हुने भएकाले एकै ठाउँमा धेरै प्रजातीका विरुवाहरु रोप्न सकिन्छ ।

कौशी खेती गर्दा दैनिक रुपमा तरकारी तथा फलफूल किन्नको लागि पैसा तथा समयको बचत ह’न’का साथै दैनिक भन्साबाट निस्कने कुहिने फोहोरमैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन गर्न सकिन्छ ।

कौशी तरकारी खेत गर्ने तरिका

कौशी खेतीका लागी तैयारी कौशीमा गरिने सानो खालको खेती भएपनि यसलाई पुर्व तयारी गर्नुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिले कौशीमा खेती गर्नका लागि प्रयोग गरिने भाँडो, अनि त्यसमा राखिने माटो, रोपिने विरुवा, विरुवाको हेरचाह, पानी राख्ने तरिका, माटोको स्याहार जस्ता हरेक कुरामा विशेष तरिका अपनाउनुपर्छ ।

कौशीमा गरिने खेती जमिनमा, प्राकृतिक माटोमा गर्ने खेती भन्दा थोरै फरक छ । जमिनमा हुने माटोमा धेरै जैविक गतिविधिहरु भइरहेका हुन्छन्, जसले माटोलाई उर्बर बनाउन आवश्यक तत्वहरु प्राकृतिक रुपमै उपलब्ध हुन्छ ।

तर, गमला वा अरु कुनै भाँडोमा राखिएको मलमा भने आवश्यक मल र अन्य तत्वहरु बाहिरबाट राख्नुपर्ने हुन्छ । यसैले पनि कौशीमा गरिने खेतीका लागि अलि बढी सजगता, स्याहार र लगनको आवश्यकता रहन्छ ।

कौसी खेतीमा प्रयोग हुने भाँडा

कौशी खेतीका लागि यही नै भाँडा प्रयोग गरिनुपर्छ भन्ने छैन । पछिल्लो समयमा थर्मोकोल (माछा राख्ने भाँडा) को बढी प्रयोग भएको देखिन्छ। त्यसका साथै सिमेन्टको बोरा, टुटेफुटेका प्लास्टिकका बाल्टिन, बाटा, माटोको गमला,प्लास्टिक, पुराना हेल्मेटलगायतका भाँडोमा समेत तरकारी रोपेको देख्न पाइन्छ ।

यसमध्ये सिमेन्टको बोरा सबैभन्दा सुलभ र उपयुक्त मानिएको छ । कौशी खेती कम खर्चमै, सकेसम्म बढी लाभ उठाउन सकिने गरी गरिने काम हो । यसैले कौशी खेती गर्नलाई कुनै निश्चित भाँडो वा निश्चित रकम खर्च गर्नु पर्छ भन्ने छैन ।

कौशी खेतीमा माटो हलुका बनाउने तरिका

कौशी खेतीका लागि प्रयोग गरिने माटो सकेसम्म बढी हलुका बनाउनुपर्छ । यसले विरुवाको जरा फैलन सजिलो बनाउँछ र माटोमा प्रचुर मात्रामा मल भएमा विरुवा बढी सप्रिन्छ ।

कौशीको खेतीका लागि प्रयोग हुने माटोको मिश्रणमा चार भागको एक भाग मात्रै माटो राखिन्छ । बाँकी तीन भागको, एक भाग बालुवा र बाँकी दुई भाग मल राखी तैयार पारिन्छ ।

आज भोलि त नरिवलको जटाका टुक्रालाई सानो सानो टुक्रा बनाएर, एक दिनजति भिजाएपछि त्यो जटाका टुक्रा र माटो मिसाएर पनि माटो हलुका बनाउन सकिन्छ ।

कुनै पनि विरुवाका लागि हुर्कन, माटो बलियो आधार हो तर पनि सो माटोमा हुने पोषक तत्वले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यसैले माटोमा जैविक गतिविधिहरु प्राकृतिकरुपमै बढाउन सके एकदमै उत्तम हुन्छ ।

मलको प्रयोग

कौशी खेतीका लागि माटोमा प्रचुर मात्रामा मल मिसाउन अति आवाश्यक हुन्छ । तर, यसका लागि बजारबाट महँगो मल नै किन्नुपर्छ भन्ने    छैन ।

हाम्रै घरको भान्छाबाट दैनिक जसो निस्कने तरकारी फलफुलको बोक्रा तथा फोहोर कुहाएर कम्पोस्ट मल बनाउन सकिन्छ । कुखुराको सुली, गाईभैसीको गोबर र अरु जीवजन्तुका विस्टा पनि मलका रुपमा प्रयोग हुँदै आएका छन् । हामीले प्रयोग गरेको मल पुरै पाकेको हुन पर्छ जसले गर्दा विरुवाले पोषक तत्व पाउन सजिलो हुन्छ ।


तरकारी रोप्ने तरिका

बिरुवा रोप्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । फूलको बिरुवा र तरकारीको बिरुवा अलि फरक हुने हुदा रोप्ने तरिका पनि अलि फरक नै हुने गर्छ । फूलको बिरुवा तुलनात्मक रुपमा अलि कडा हुन्छ । त्यसैले फूलको विरुवा रोप्दा डाँठसम्मै पुर्दा पनि बिरुवालाई असर हुँदैन । तर, तरकारीको बोटको डाँठसम्मै माटोमा गाड्यो भने बिरुवा कुहिने डर हुन्छ ।

पानी हाल्ने तरिका

बिरुवा रोपेपछी तरकारीको बोटमा पानी राख्दा, माटो नै बग्ने गरी राख्न हुँदैन । पानी बग्दा सँगै माटो र मलपनि बग्ने ठूलो डर हुन्छ । बिरुवाको वरिपरि विस्तारै पानी हाल्यौं भने विरुवालाई हानी पुग्दैन ।मौसम अनुसार विरुवामा कति पानी हाल्ने भन्ने कुरा पनि भर पर्छ । गर्मी महिनामा जाडो महिनाको तुलनामा उधिक पानीको प्रयोग गर्न सकिन्छ। माटो अलि बढी नै सुख्खा देखियो भने पनि अलि बढी वा दिनको दुई पटकसम्म पानी हाल्नु पर्ने हुन्छ ।

सिजन अनुसारको बिरुवा छनोट गर्ने

कौशी खेती गर्नका लागि सिजन अनुसारका विरुवा चयन गर्न सकिन्छ । विशेष गरी, हिउँदे र बर्षा गरी दुई सिजनमा खेतीलाई छुट्याउन सकिन्छ ।

हिउँदे सिजनमा बिरुवा उमार्न तुलनात्मक रुपमा सजिलो हुन्छ । यो समयमा धेरै प्रकारका बाली उमार्न सकिन्छ । हिउँदका बेलामा विशेष गरेर लहरे बाली लगाउन सकिन्छ ।

वर्षायाममा लौका, घिरौंला, काँक्रो, करेला, फर्सी ठाउँ अनुसार रोप्न सकिन्छ । यसैगरी, गोलभेंडा, मटरकोसा, खुर्सानी, रायोको साग, चम्सुर, पालुँगो, लसुनजस्ता सागसब्जी लगाउन सकिन्छ ।

फलफूलमा आलुबखडा, आरु, नास्पाती, जापनिज हलुवाबेद र अरु नयाँ हाइब्रिड प्रजातिका विरुवाहरु रोप्न सकिन्छ । वर्षे बालीः बर्षा याममासुन्तला, कागती, मुन्तला, अम्बा जस्ता विरुवाहरु वर्षायाममा राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *